काठमाडौँ – भारतबाट इन्धनको मूल्य बढेर आएको छ। अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य बढेसँगै भारतीय आयल कर्पोरेसन (आईओसी)ले निगमलाई इन्धनको भाउ बढाएर पठाएको हो।
जसअनुसार पेट्रोल प्रतिलिटर ८ रुपैयाँ १ पैसा, डिजेल ७ रुपैयाँ ९८ पैसा, मट्टितेल ४ रुपैयाँ ६१ पैसा तथा हवाई इन्धन ७ रुपैयाँ ८० पैसा बढेर आएको निगम स्रोतले जनाएको छ। भारतबाट इन्धनको मूल्य बढेर आएपछि निगम फेरि घाटामा गएको छ। स्रोतका अनुसार नेपालमा मूल्य समायोजन नगर्ने हो भने अबको १५ दिनमा ९ करोड ४१ लाख रुपैयाँ घाटा पर्नेछ।
विगत ४ महिनासम्म निगम नाफामा रहँदै आएको थियो। विगतमा परेको घाटाका कारण निगमले सरकारबाट ७ अर्ब ऋण लिएको छ। त्यस्तै आईओसीलाई बुझाउनुपर्ने करिब ११ अर्ब रुपैयाँ बक्यौता छ। अन्तर्राष्ट्रिय बजारमा विगत एक महिनामा कच्चा तेलको भाउ प्रतिब्यारेल करिब ८ अमेरिकी डलरले बढेको छ। अन्तर्राष्ट्रिय बजारमा बुधबार ब्रेन्ट कच्चा तेलको भाउ प्रतिब्यारेल ८५, डब्लूटीआईको ७९, मुर्बानको ८४ डलरमाथि कारोबार भइरहेको छ।