शनिबार, बैशाख ८, २०८१
  • होमपेज
  • प्रदेश ३
  • लुम्बिनीमा सत्ता गठबन्धनबाट नागरिक उन्मुक्ति पार्टी बाहिरियो

लुम्बिनीमा सत्ता गठबन्धनबाट नागरिक उन्मुक्ति पार्टी बाहिरियो

  • मङ्लबार, माघ १७, २०७९
लुम्बिनीमा सत्ता गठबन्धनबाट नागरिक उन्मुक्ति पार्टी बाहिरियो

रुपन्देही   –  लुम्बिनी प्रदेशमा नागरिक उन्मुक्ति पार्टी सत्ता गठबन्धनबाट बाहिरिएको छ । राष्ट्रिय सभा सदस्यको उपनिर्वाचनमा दिएको उम्मेदवारी फिर्ता नलिएपछि नागरिक उन्मुक्ति सत्ता गठबन्धनबाट बाहिरिएको हो ।

माघ २५ गते हुने राष्ट्रियसभाको उपनिर्वाचनमा तीन दलका तीनै जना उम्मेदवार कायम रहेका छन् । लुम्बिनी प्रदेशको मुख्य निर्वाचन अधिकृतको कार्यालयले सोमबार तीन जना उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरेको छ । निर्वाचनको लागि माघ ११ गते उम्मेदवारी दर्ता भएको थियो ।

सत्ता गठबन्धनबाट नेकपा एमाले र नागरिक उन्मुक्तिको छुट्टाछुट्टै उम्मेदवारी परेको छ । त्यस्तै विपक्षी दल नेपाली कांग्रेसले पनि उम्मेदवारी दर्ता गरेको छ ।

उपनिर्वाचनमा सत्ता गठबन्धनबाटै दुई जना उम्मेदवार भएपछि सत्ता गठबन्धन फुटेको पुष्टि भएको हो । नागरिक उन्मुक्तिकी अध्यक्ष रन्जिता श्रेष्ठले आफ्नो दल सत्ता गठबन्धनबाट बाहिर रहेको स्पष्ट पारिन् ।

एमालेबाट रोल्पाका कुमार दसौदी, नागरिक उन्मुक्तिबाट बाँकेका राजेन्द्रवीर राय र कांग्रेसबाट रोल्पाका माधवप्रसाद आचार्यको उम्मेदवारी अन्तिम नामावलीमा प्रकाशित भएको छ ।

नेकपा एमालेबाट निर्वाचित खिमलाल भट्टराईले राजीनामा दिएपछि रिक्त रहेको पदको उपनिर्वाचनअन्तर्गत माघ २५ गते मतदान हुनेछ । निर्वाचन कार्यालयका प्रवक्ता गेहेन्द्र कुँवरले सोमबार उम्मेदवारको अन्तिम नामावली प्रकाशनसँगै चुनाव चिन्ह प्रदान गरिएको जनाएका छन् ।

रेशम चौधरीको पार्टी नागरिक उन्मुक्तिलाई मनाउन एमालेले अन्तिम समयसम्म प्रयास गरेको थियो । तर, उन्मुक्ति सहमत नहुँदा उम्मेदवारी फिर्ता भएन ।

राष्ट्रियसभा निर्वाचनको लागि लुम्बिनीमा स्थानीय तहका प्रमुख र उपप्रमुख र प्रदेशसभा सदस्य गरी ३०५ जना मतदाता रहेका छन् । जसमा २१८ वटा स्थानीय तहका प्रमुख र उपप्रमुख र ८७ प्रदेशसभा सदस्यहरू रहनेछन् ।

चर्चामा

सम्बन्धित समाचार