रेडक्रस तथा रेडक्रिसेन्ट सोसाइटीको अन्तर्राष्ट्रिय महासङ्घ (आइएफआरसी) को नेपालस्थित राष्ट्रिय प्रतिनिधिमण्डललले कोभिड– १९ प्रतिकार्यमा आफ्नो सहयोग जारी राखेको छ । पछिल्लो समय उसले विशेष गरी कोभिड–१९को विरुद्धको खोप सर्वसाधारणसम्म पहुँच पुर्याउन नेपाल रेडक्रस सोसाइटीलाई निरन्तररुपमा सहयोग उपलब्ध गराइरहेको हो ।
आइएफआरसीले नेपालमा कोरोना सङ्क्रमणको जोखिमका अवस्थादेखि नै ‘कोभिड–१९ प्रतिकार्य’ योजना बनाई जोखिमका बारेमा सञ्चार तथा सामुदायिक संलग्नता र जवाफदेहितासम्बन्धी अवधारणाका माध्यमबाट सहयोग गरेको थियो । सुरक्षित र उत्थानशील समुदाय निर्माण गर्नका लागि रोकथामका उपाय, अत्यावश्यक मेडिकल सेवामा सहयोग,सामाजिक आर्थिक प्रभावलाई सम्बोधन र खोप अभियानमा सहयोगजस्ता नेपालमा कोभिड–१९ कार्यसञ्चालनका उसका मुख्य क्षेत्र छन् ।
अहिले २२ जिल्लामा खोपसम्बन्धी गतिविधिमा नेपाल रेडक्रसलाई सहयोग जारी राखेको नेपाल स्थित आइएफआरसी कार्यालयले जनाएको छ । आइएफआरसीका राष्ट्रिय प्रतिनिधिमण्डल प्रमुख अजमत उल्लाले भने, “सुरक्षित र उत्थानशील समुदाय निर्माण गर्नका लागि कोभिड–१९ प्रतिकार्यमा सहयोग जारी छ । यसका अतिरिक्त विपद् तथा स्वास्थ्यसँग सम्बन्धित आपतकालीन परिस्थितिभन्दा पहिले, त्यस्ता परिस्थितिको अवधिमा र त्यस्ता परिस्थिति सङ्कटासन्न मानिसका आवश्यकताको पूर्ति गर्नका लागि एवं तिनको जीवन सुधार ल्याउने जस्ता मानवीय सेवाका कार्यक्रम जारी छ ।”