बिहिबार, चैत्र १५, २०८०
  • होमपेज
  • मनोरञ्जन
  • पुसमा नेपाली फिल्म फासफुस : लगानी करोड, आम्दानी लाख !

पुसमा नेपाली फिल्म फासफुस : लगानी करोड, आम्दानी लाख !

  • बिहिबार, माघ ५, २०७९
पुसमा नेपाली फिल्म फासफुस : लगानी करोड, आम्दानी लाख !

भनिन्छ, पुस फासफुस । नेपाली फिल्मका लागि गत पुस महिना वास्तवमै फासफुस भएको छ । यो महिना जति फिल्म प्रदर्शनमा आए, कुनैले पनि राम्रो दर्शक पाउन सकेनन् । ‘विदेशीले गर्दा हाम्रो फिल्म चलेन,’ अधिकांश नेपाली फिल्मका निर्माता निर्देशकको मुखमा झुण्डिने शब्द हो यो । तर पुस महिना त्यस्तै कुनै पनि राम्रो बलिउड फिल्म नेपाल भित्रिएको छैन । तर पनि नेपाली फिल्मले राम्रो दर्शक पाउन सकेन । ‘डिसेम्बर फल्स’, ‘चि मुसी चि’, ‘गुञ्जन’ र ‘तिम्रो मेरो साथ’ गरेर पुसमा ४ फिल्म प्रदर्शनमा आए तर यसमध्ये कुनैले चमत्कार देखाउन सकेनन् ।कस्ता फिल्म आए ?

जाडो महिना र छोटो दिन हुने भएकाले फिल्म रिलिजका लागि पुस महिना निर्माता, निर्देशकको रोजाइमा कमै पर्छ । फिल्मले दर्शक नपाउने भन्दै निर्माताहरु यो महिना फिल्म रिलिजका लागि पछि हट्ने गर्छन् । तर पनि गत पुस महिनामा ४ फिल्म रिलिज भए ।

रिलिज भएको मध्ये ‘डिसेम्बर फल्स’ र ‘गुञ्जन’ प्रेमकथामा बनेको फिल्म हो भने ‘चि मुसी चि’ हरर विषयमा निर्माण भएको थियो । ‘तिम्रो मेरो साथ’ त्रिकोणात्कम प्रेमकथा बनाइएको थियो । प्रवीण झाको निर्देशन रहेको ‘डिसेम्बर फल्स’ पुस १५ बाट प्रदर्शनमा आएको थियो । एकल रिलिज अवसर पाएको आर्यन सिग्देल र उपासना सिंह ठकुरी अभिनित फिल्मले हलसम्म दर्शक तान्न सकेन ।

त्यस्तै ‘चि मुसी चि’ भने पुस २२ बाट प्रदर्शनमा आएको थियो । प्रियंका कार्की, ऋचा शर्मा, बेनिशा हमाल, आयुष्मान देशराज जोशी लगायतको अभिनय रहेको फिल्म हरर मुभीमा नयाँ प्रयोग भएको थियो । नयाँ प्रयोग गरेको प्रचार गरेपनि फिल्मले दर्शक नपाएपछि निर्देशकद्वय मार्ना जेम्स र यश सैनीको प्रयोग व्यर्थ गयो ।

यस्तै पुसको अन्तिम साता अथातर्् गत शुक्रबारबाट फिल्म ‘गुञ्जन’ र ‘तिम्रो मेरो साथ’ प्रदर्शनमा आए । यी दुबै फिल्मले बुधबारसम्म राम्रो दर्शक पाउन सकेका छैनन् । अष्ट महर्जनको निर्देशन रहेको ‘गुञ्जन’ मा सारा सिर्पाली, प्रितमराज, कविर खड्का लगायतको अभिनय छ ।

‘तिम्रो मेरो साथ’ भने रमेश एमके पौडेलले निर्माण निर्देशन गरेका हुन् । फिल्ममा पुष्प खड्का, साम्राज्ञी राज्यलक्ष्मी, सन्दीप क्षेत्री लगायतको अभिनय छ ।

लगानी करोड, आम्दानी लाख !

पुसमा रिलिज भएका चारै फिल्म करोड माथिको माथिको लगानीमा बनेका छन् । फिल्म ‘डिसेम्बर फल्स’ तीन करोड बढी लगानी भएको प्रचार प्रसारको क्रममा निर्माण पक्षले बताएको थियो । फिल्ममा हेलेकोप्टर प्रयोगदेखि महँगो लोकेसनमा खिचिएको छ । तर फिल्मको ब्यवसाय भने सन्तोषजनक नभएको बताइन्छ ।

फिल्मको ब्यवसाय बुझ्न बितरक सुनिल मानन्धरसँग पटक पटक सम्पर्क गर्न खोज्दा सम्पर्क हुन सकेन । त्यस्तै ‘चि मुसी चि’ पनि करोड बढी लगानीमा निर्माण भएको छ । प्रियंका कार्की, ऋचा शर्मा, बेनिशा हमाल, आयुष्मान देशराज जोशी लगायत राम्रो कलाकार राखेर फिल्म बनेको छ । हरर भएकोले फिल्मको साउन्ड र भिएफएक्समा समेत राम्रो मिहिनेत गरिएको छ ।

तर ‘चि मुसी चि’ फिल्मबाट भने निर्माताको हातमा ५/६ लाख पर्न मुस्किल भएको वितरक सिसिएनका प्रमुख अशोक शर्माले बताए । ‘फिल्म त राम्रो बनेको छ तर के गर्नु, दर्शक आएनन्,’ शर्माले थपे । ‘गुञ्जन’ फिल्मको पनि लगानी सवा २ करोड भएको निर्माता हिराकृष्ण शाहीले बताउँदै आएका छन् ।

नेपाल र दुवईका आकर्षकण लोकेसनमा खिचिएको फिल्म अहिले पनि प्रदर्शनरत छ । फिल्मले अहिलेसम्म २५ लाख ग्रस कलेक्सन गरेको वितरक करण क्रेजी बताउँछन् । फिल्मको ब्यवसाय राम्रो हुने आस गरेका थिए तर किन हो दर्शक देखिएनन् ।

यस्तै फिल्म ‘तिम्रो मेरो साथ’ निर्माणमा पनि निर्माता, निर्देशक रमेश एमके पौडेलले दिल खोलेरै खर्चेका छन् । प्रचार प्रसार समेत राम्रो गरेको फिल्ममा पछिलो समय राम्रो चलेका कलाकार राखिएकोमा लगानी राम्रो छ । तर फिल्मको ग्रस कलेक्सन ५÷७ लाख पुग्न पनि गाह्रो भएको वितरक मनोज राठी बताउछन् ।

‘फिल्म त राम्रो बनेको जस्तो लाग्छ । प्रचार पनि भएको छ,’ राठीले भने, ‘फिल्मको ओपनिङ ब्यवसाय नै भएन ।’ फिल्म भने अझै प्रदर्शनरत छ ।

खै स्टारको क्रेज ?

नेपाली फिल्मका धेरै निर्माता/निर्देशक कथाबस्तु भन्दा पनि स्टार कलाकारको पछि लाग्छन् । स्टार कलाकार भए फिल्म प्रचारदेखि चलाउन सजिलो हुने उनीहरुको धारणा हुन्छ । त्यसैले स्टार कलाकारका लागि उनीहरु भनेको पारिश्रमिक दिन पनि पछि पर्दैनन् ।

पुसमा रिलिज भएको फिल्म हेर्ने हो भने ४ मध्ये ३ फिल्ममा स्टार कलाकार छन् । तर ब्यवसाय भने कुनैले पनि गरेको देखिएन । पुसमै रिलिज भएको ‘डिसेम्बर फल्स’मा अभिनेता आर्यन सिग्देल र अभिनेत्री उपासना सिंह ठकुरी मुख्य भूमिकामा थिए । चकलेटी हिरोको रुपमा रुचाइएको आर्यन र लगातार हिट फिल्म दिएकी उपासनको बलमा निर्माताले फिल्मका लागि करोडौ खन्याएका थिए । तर यो फिल्ममा दुबै कलाकारको जादु चल्न सकेन ।

त्यस्तै ‘चि मुसी चि’ प्रियंका कार्की, ऋचा शर्मा, बेनिशा हमाल, आयुष्मान देशराज जोशी जस्ता कलाकारले भरिएको थियो । निर्माताले स्थापित कलाकारलाई राम्रो पारिश्रमिक दिए तर फिल्ममा यी कलाकारको मुहारले दर्शकलाई हलमा डोर्याउन सकेन ।

यस्तै ‘तिम्रो मेरो साथ’ पनि अहिलेकी हिट अभिनेत्री साम्राज्ञी राज्य लक्ष्मी शाहको अलावा पुष्प खड्का र सन्दीप क्षेत्री अभिनित फिल्म हो । यी सबै कलाकारको दर्शकमा राम्रो क्रेज छ । त्यो क्रेज हलमा भने देखिएन ।
फिल्म वितरक संस्था डिसियनका अशोक शर्मा पनि पुसमा रिलिज भएको फिल्ममा रहेका स्टारले फिल्मको ब्यवसायमा प्लस गर्न नसकेको बताउँछन् । राताे‍पाटीबाट

चर्चामा

सम्बन्धित समाचार