यो आलेख लेखिरहँदा म कीर्तिपुर नगरपालिका-३ स्थित एउटा घरमा बसेको छु। नेपालको राजधानी काठमाडौँ उपत्यकाको दक्षिण पश्चिममा पर्ने यस वस्तीको इतिहास किरातकालीन राजा यलम्बरसम्म पुग्छ।
वर्तमानमा म पृथ्वीमा रहेका दुइ सयभन्दा बढी देशमध्ये नेपालको नागरिक हुँ।
नेपाल देश पृथ्वीलाई विभाजन गरी नाम दिइएका विभिन्न महादेशमध्ये एशिया महादेशमा पर्छ।
सम्पूर्ण पृथ्वीको कुल क्षेत्रफल ५१ करोड ७२ हजार वर्ग किलोमिटर हो, जसमध्ये झण्डै ७१ प्रतिशत सागर – महासागर छन् l भूमिभाग भने जम्मा १४ करोड ७९ लाख २० हजार ८८० वर्ग किलोमिटर मात्रै छ।
सबैभन्दा ठूलो महादेश एशियामा अवस्थित नेपालले पृथ्वीको भूमि क्षेत्रफलको ० दशमलब १ एक प्रतिशत भूभाग ओगटेको छ।
म यसै ० दशमलब १ प्रतिशत भूभागको बासिन्दा हुँ।
म जस्तै आठ अर्ब मानिसको निवास स्थान पृथ्वी नामक यो ग्रह सूर्य नामक ताराको सौर्यमंडल परिवारको एउटा सदस्य हो, जुन सूर्यदेखि १४ करोड ९६ लाख किलोमिटर टाढा रहेर सूर्यबाट प्राप्त हुने प्रकाश र तापले शस्यस्यामला बन्यो। पृथ्वी शस्यस्यामला हुनुको कारण यी वा अरु हजार वा लाख मात्र पनि छैनन् l एकका पछाडि २८ शून्य थप्दा बन्ने संख्याका संयोग जुटेकाले पृथ्वीमा जीवन सम्भव भएको हो तर सूर्यदेखि ‘परफेक्ट’ दूरीमा ( हयाभीटेबल जोन ) हुनु परम सौभाग्य हो।
पृथ्वीमा जीवन हुनुको पछाडि रहेका अनन्त संयोग मध्येको महासंयोग सूर्य र पृथ्वी बीचको ठिक्कको दूरी नै हो। यसभन्दा नजिक भए अत्यधिक तापका कारण बुध र शुक्र जस्तै र यसभन्दा टाढा भएको भए मंगल, बृहस्पति, शनि जस्तै जीवनका लागि आवश्यक हुने ताप नै नपुगेर जीवन सम्भव हुने थिएन।
यिनै महासंयोगका बीच २४ जून सन् १९६६ का दिन म पृथ्वीमा आएको रहेछु।
सूर्यदेखि समुचित दूरीको आकाशमा झुन्डिएको पृथ्वी विज्ञानका अनुसार सूर्यको प्रबल गुरुत्वाकर्षणका कारण सूर्यसँग बाँधिएको छ। यसै गुरुत्वाकर्षणका कारण पृथ्वी लगायत सौर्यमंडलका यावत पिण्ड / ग्रह आदि सारा संरचना बुध ग्रहदेखि वरुण ग्रहसम्म र वरुण पारी (ट्रांस नेप्च्यून ) का यम, एरिस लगायतका ज्ञात अन्य क्षुद्रग्रह आ-आफ्नो स्थानमा झुन्डिएर रहेका छन्।
त्यसो त खगोलविदहरुले वरुण पारीको क्षेत्रलाई ‘कुइपर बेल्ट’ ( kuipar belt ) भन्ने गरेका छन्। सूर्यदेखि वरुणको दूरी ४ अर्ब ५० करोड किलोमिटरभन्दा बढी ( ३० ऐ यु ) छ l वैज्ञानिक अवधारणामा कुइपर क्षेत्रको विस्तार २२ अर्ब ४४ करोड किलोमिटर (१५० ऐ यु ) सम्म रहेको छ। यस पछिको १५० ऐ यु देखि २ हजार ऐ युको क्षेत्रलाई इन्टरस्टेलर क्षेत्र भनिन्छ। यस क्षेत्रमा भेटिएको एउटा क्षुद्र ग्रह सेडना सूर्यदेखि ९४० ऐ यु अर्थात १ खर्ब ४० अर्ब ६२ करोड किमी टाढा रहेको छ।
दुइ हजार ऐ युसम्मको इन्टरस्टेलर स्पेसपछि २० हजार ऐ युसम्मको क्षेत्रलाई ‘इनर ऊर्ट क्लाउड’ क्षेत्र र २० हजारपछि १ लाख ऐ युसम्मको क्षेत्रलाई ‘आउटर ऊर्ट क्लाउड’ क्षेत्र भनिन्छ। धूमकेतु ( कमेट ) को स्थान ऊर्ट क्लाउड क्षेत्रलाई मानिन्छ। धूमकेतुले गर्ने गतिमा ‘गैलेक्टिकल टाइड’का साथै सूर्यदेखि २० प्रकाश वर्षभित्र रहेका अन्य १३१ ताराहरुको गुरुत्वाकर्षणीय अव्यवस्था (gravitational perturbations ) प्रभावकारी रहे पनि यिनले गर्ने सूर्यको परिक्रमाले स्पष्ट हुन्छ यीमाथि अन्ततः सूर्यको गुरुत्वाकर्षण बल नै प्रभावी रहेको छ।
यसरी भन्न सकिन्छ सूर्यदेखि २० हजार ऐ युसम्म ( अथवा योभन्दा बढी ) रहेका पिण्ड सूर्यको आकर्षणले आकाशमा स्थित छन् । जहाँ स्थित छन् त्यहीबाट सूर्यको परिक्रमा गर्छन्। पृथ्वीले सूर्यको परिक्रमामा ३६५ दिन ( १ मानव वर्ष ) लगाएजस्तै क्षुद्रग्रह यमलाई आफ्नो आर्बिटमा एक चक्कर पूरा गर्न २४८ वर्ष लाग्छ। क्षुद्र ग्रह सेडनाले भने सूर्यको एक परिक्रमा गर्न ११ हजार ३९० वर्ष लाउछ । सूर्यको प्रकाश सेडनासम्म पुग्न साढे ५ दिन अर्थात १३२ घण्टा लाग्छ। वैज्ञानिक भाषामा सूर्यदेखि सेडना ५ दशमलब ५ प्रकाश दिन टाढा रहेको छ।
हामी बसेको पृथ्वी भने सूर्यदेखि ८ मिनेट २० प्रकाश सेकेण्ड टाढाको आकाशमा अवस्थित छ। प्रकाश एक सेकेण्डमा २ लाख ९९ हजार ७९२ किलोमिटर हिड्छ। प्रकाश सेकेण्ड, प्रकाश मिनेट, प्रकाश दिन र प्रकाश वर्ष भनेको दूरी नाप्ने यूनिट हुन् । सूर्यदेखि ८ मिनेट २० सेकेण्ड टाढा रहेको पृथ्वीजस्तै, ५ दशमलब ५ प्रकाश दिन टाढा रहेको सेडना जस्तै ११५ प्रकाश दिन टाढा रहेको ऊर्ट क्लाउड सम्ममा रहेका पिण्ड सूर्यको परिक्रमा गर्छन्।
सौर्यमण्डल अथवा सूर्य परिवारका ज्ञात सदस्यमध्ये ८ वटा ग्रह, ५ वटा क्षुद्र ग्रह, २१९ वटा चन्द्रमा ( प्राकृतिक उपग्रह ) , ११ लाख १३ हजार ५२७ ऐस्टेरॉयड, ४ हजार ५८४ धूमकेतु रहेका छन् भने अज्ञात पिण्डको संख्या १ खर्बभन्दा बढी हुनसक्ने अनुमान छ। यी ज्ञात अज्ञात सबै पिण्ड सूर्यको गुरुत्वाकर्षण शक्तिले आकाशमा झुन्डिएका छन्।
एउटा बालसुलभ जिज्ञासा हामी सबैमा प्रायः हुन्छ। पृथ्वी अथवा सौर्यमण्डलको अन्य कुनै पिण्ड सूर्यको गुरुत्वाकर्षणबाट मुक्त भयो भने के हुन्छ ?
सौर्यमण्डलका कुनै पनि खगोलीय पिण्ड आकाशमा सूर्यको गुरुत्वाकर्षणले बांधिएर सूर्यको परिक्रमा गरी रहेको छ। पिण्ड गुरुत्वाकर्षणले मुक्त भएर खस्ने होइन। उन्मुक्त आकाशमा खस्ने ठाउँ नै छैन। पृथ्वीमा रहेर यो कुरा बुझ्न गाह्रो भए पनि पृथ्वी बाहिरबाट पृथ्वी नियाल्दा यो स्पष्ट हुन्छ l पृथ्वी अनन्त आकाशमा घुमिरहेको एउटा गोलाकार आकृति हो, जसको चारैतिर अनन्त आकाश व्याप्त छ। कुनै पनि पिण्ड होस् वा पृथ्वी कदाचित् सूर्यको गुरुत्वाकर्षणबाट मुक्त भयो भने अनन्त आकाशमा आवारा गति गर्दै अघि बढ्छ। ब्रह्माण्डमा यस्ता थुप्रै आवारा ग्रह छन्। खगोलशास्त्रीहरुले यस्ता पिण्डलाई ‘रफ प्लेनेट’, ‘फ्री फ्लोटिंग प्लेनेट’, नोमैड, ओरफन, स्टारलेस, अनबाउंड, वन्डरिंग प्लेनेट आदि नाम दिएका छन्। मिल्कीवे आकाशगंगामा यस्ता ‘वन्डरिंग प्लेनेट’को संख्या अर्बौ हुनसक्ने अनुमान गरिएको छ।
पृथ्वीले १४ करोड ९६ लाख किलोमिटर टाढा रहेर सूर्यको परिक्रमा गर्छ। परिक्रमा गर्ने क्रममा कहिले केही टाढा हुने र कहिले अलि नजिक हुने गर्छ। पृथ्वीको परिक्रमा गर्ने गति २९ दशमलब ७८ किमि प्रति सेकेण्ड अर्थात १ लाख ७ हजार २०८ किमि प्रति घण्टा रहेको छ। पृथ्वीलाई सूर्यको एक परिक्रमा पूरा गर्न ३ करोड १४ लाख ७१ हजार ४३७ सेकेण्डको समय लाग्छ। यसैलाई हामी एक वर्षको अवधि मान्छौ। पृथ्वीको आफ्नो एक्सिसमा घुम्ने कारणले दिन र रात हुन्छ। दिन र रातको मोटामोटी अवधि २४ घण्टा मानिए पनि यसको वास्तविक अवधि २३ घण्टा ५६ मिनेट ४ सेकेण्ड हुन्छ। अर्थात एक दिन र रातको अवधि २३ घण्टा ५६ मिनेट ४ सेकेण्ड अर्थात् ८६ हजार १६४ सेकेण्ड हुन्छ।
पृथ्वीले सूर्यको एक परिक्रमा गर्दा तय गर्ने दूरी आर्बिटल स्पीड २९ दशमलब ७८ गुणा लाग्ने समय ३ करोड १४ लाख ७१ हजार ४३७ सेकेण्ड बराबर ९३ करोड ७२ लाख १९ हजार ३९३ किमि हुन आउँछ।
पृथ्वीको आर्बिटल स्पीडलाई कम्ती नठान्नु होला। यस गतिले यात्रा गर्ने हो भने पृथ्वीको डायमिटरको दूरी ७ मिनेटमा, चन्द्रमासम्मको दूरी ४ घण्टामा र सूर्यसम्मको दूरी ५८ दिनमा पूरा गर्न सकिन्छ।
पृथ्वीका मानिसले मनाउने नयाँ वर्ष पृथ्वीले सूर्यको एक परिक्रमा पूरा गर्नु नै हो। अब यो एक परिक्रमा कुन दिन पूरा हुन्छ ? पृथ्वीले सूर्यको वरिपरी गर्ने ९३ करोड ७२ लाख १९ हजार ३९३ किमिमध्ये तपाईं जसलाई केंद्रबिंदु मान्नु हुन्छ, पृथ्वी फेरि त्यस बिंदुमा आएको दिन एक परिक्रमा पूरा हुन्छ। यसर्थ प्रत्येक दिन नयाँ वर्ष हो। संसारभरी रहेका विभिन्न धर्म संस्कृतिका मानिसको नयाँ वर्ष फरक फरक हुन्छ। यो एकदमै स्वाभाविक कुरा हो। ती सबै ठीक हुन्। पृथ्वीले प्रत्येक दिन कुनै न कुनै बिन्दुको परिक्रमा पूरा गरी रहेको हुन्छ l यत्ति हो, तपाईं कुन बिंदुलाई प्रारम्भ मान्नु हुन्छ। म तर्कमा अलि बढी विश्वास गर्ने भएकाले पृथ्वी सूर्यको सबैभन्दा नजिक भएको बिंदु ( perihelion) अथवा पृथ्वी सूर्यदेखि सबैभन्दा बढी टाढा भएको बिंदु ( aphelion ) लाई प्रारम्भ बिंदु मान्नु तर्कसंगत ठान्छु।
सन् २०२३ मा पेरीहेलियनको स्थिति ४ जनवरीका दिन हुन्छ। यस दिन सूर्य र पृथ्वीको दूरी घटेर १४ करोड ७० लाख ९८ हजार ९२५ किमिमा आई पुग्छ। यसैगरी अफेलियनको स्थिति ७ जुलाई २०२३ का दिन सूर्य र पृथ्वीको दूरी बढेर १५ करोड २० लाख ९३ हजार २५१ किमि पुग्छ।
२४ जुलाई १९६६ का दिन जन्मेको म आज ३१ डिसेम्बरका दिन ५६ वर्ष १९० दिनको भएछु। मैले आलेखको सुरुमा ‘म कीर्तिपुर नगरपालिका-३ स्थित एउटा घरमा बसेको छु’ भनेको थिएँ । तर, पृथ्वी त निरन्तर घुमिरहने तथ्यले म कसरी ‘बसिरहेको भएँ र ? म पनि पृथ्वीसँगै बत्तिरहेको हुँदो रहेछु l
यो उमेरसम्म मैले पृथ्वीसँगै कति यात्रा गरे हुँला त ? २०२२ को अन्तिम दिन यसबारे हिसाबकिताब गर्न मन लाग्यो।
पृथ्वीले १ वर्षमा सूर्यको परिक्रमामा गरेको यात्रा- ९३ करोड ७२ लाख १९ हजार ३९३ किमि हुँदोरहेछ l
पृथ्वीसँगै मैले ५६ वर्षमा गरेको यात्रा- ९३ करोड ७२ लाख १९ हजार ३९३ किमि गुणा ५६ बर्ष बराबर ५२ अर्ब ४८ करोड ४२ लाख ८६ हजार ८ किमि भएछ l
अनि १९० दिनमा हुने सेकेण्डको मान- १९० दिन गुणा ८६,१६४ सेकेण्ड अर्थात् १ करोड ६३ लाख ७१ हजार १६० सेकेण्ड हुने भयो l
१९० दिनमा गरेको यात्रा- १ करोड ६३ लाख ७१ हजार १६० सेकेण्ड गुणा २९ दशमलब ७८ मा ४८ करोड ७५ लाख ३३ हजार १४४ किमि भयो l
यसरी मैले अहिलेसम्म पृथ्वीसँगै कुल गरेको यात्रा- ५२ अर्ब ४८ करोड ४२ लाख ८६ हजार ८ मा ४८ करोड ७५ लाख ३३ हजार १४४ किमि जोड्दा ५२ अर्ब ९७ करोड १८ लाख १९ हजार १५२ किमि भएछ।
अब तपाईंहरु पनि आ-आफ्नो उमेरअनुसार हिसाब गरेर हेर्नुस्त, कति यात्रा गरी सक्नु भयो ?
सूर्यको स्थितिको कुरा गर्दा सूर्य आकाशगंगा मिल्कीवेको ग्यालेक्टिकल सेंटरबाट निस्कने ४ वटा भुजा मध्ये ‘ओरियन आर्म’ ( Orion–Cygnus Arm ) मा ग्यालेक्टिकल सेंटरबाट झण्डै २७ हजार प्रकाशवर्ष टाढा रहेको छ। ग्यालेक्टिकल सेंटरमा सूर्यभन्दा ४१ लाख गुना बढी द्रव्यमान भएको अति भीमकाय ब्लैकहोल सैजिटेरिअस ( Sagittarius A*, a supermassive black hole ) रहेको छ। सूर्यले यस ब्लैकहोल अथवा ग्यालेक्टिकल सेंटरको परिक्रमा गर्छ।
सूर्यको ग्यालेक्टिकल सेंटर वरिपरि परिक्रमा गर्ने गति २४० किमि प्रति सेकेण्ड रहेको छ। सूर्यलाई ग्यालेक्टिकल सेंटरको एक परिक्रमा गर्न झण्डै २३ करोड वर्ष लाग्छ। सूर्यले २३ करोड वर्षमा ग्यालेक्टिकल सेंटरको एक परिक्रमा गर्न १७ शंख, ४० पद्म, ७८ नील ७२ खर्ब ( १ लाख ७४ हजार ७८ ट्रिलियन ) किमि हिड्नु पर्छ।
खगोल विज्ञानी भन्छन्, सूर्य बनेदेखि अहिलेसम्म यसले ग्यालेक्टिकल सेंटरको २० वटा परिक्रमा पूरा गरेर २१औं परिक्रमा गर्दैछ। सूर्यले गर्ने एक परिक्रमालाई हामीले भन्ने मानव वर्ष जस्तै ग्यालेक्टिकल ईयर, कास्मिक ईयर भनिन्छ। यस हिसाबले सूर्यको आयु २० पुगेर २१ लागेको छ। सूर्यले ग्यालेक्टिकल सेंटरको परिक्रमा एक्लै गर्ने होइन, ऊ सँगसँगै पृथ्वी लगायत सम्पूर्ण सौर्यमंडलले नै परिक्रमा गरिरहेको हुन्छ। यसको अर्थ मैले पनि सूर्यसँग ५६ वर्ष १९० दिन अर्थात १ अर्ब ७७ करोड ८७ लाख ७१ हजार ६३२ सेकेण्डमा २४० किमी प्रति सेकेण्डका दरले ४ खर्ब २६ अर्ब ९० करोड ५१ लाख ९१ हजार ६८० किमी यात्रा गरी सकेको छु।
कल्पना गर्नुस्- तपाईंको टाउकोमा एउटा जुम्रा छ। जुम्रा आफ्नै हिसाबले आफ्नो दुनियाँ अर्थात तपाईंको टाउकोमा यताउति घुमी बस्छ। उसलाई गति गर्ने वा गति नगरी विश्राम गर्ने स्वतंत्रता छ। तर त्यो जुम्रा तपाईंसँग तपाईं जहाँ गए पनि गति गर्न, यात्रा गर्न बाध्य छ। तपाईं यस कोठाबाट त्यस कोठामा जानु हुँदा जुम्रा पनि तपाईंसँगै यस कोठाबाट त्यस कोठाको यात्रा गरी रहेको हुन्छ।
तपाईं बाइक अथवा कार चढेर शहर जानु हुन्छ। जुम्रा तपाईंकै गतिसँग शहर पुगेको हुन्छ।
तपाईं कुनै गाडी चढेर ५/७ सय किमि टाढाकको कुनै ठाउँ पुग्नु हुन्छ। जुम्रा पनि तपाईंसँगै त्यहाँ पुगेको हुन्छ।
जुम्रालाई के ? तपाईं हवाई यात्रा गरेर हजारौँ किलोमिटर टाढा रहेको, पृथ्वीको अर्को गोलार्ध्दमा रहेको अमेरिका जानु भयो भने जुम्रा पनि बिना पासपोर्ट, बिना भिषा नै तपाईंको टाउकोमा बसी बसी त्यहाँ पुगेको हुन्छ।
जुम्रा र हाम्रो कथामा केही भिन्नता छैन, एउटा मानव टाउकोलाई पृथ्वीसँग दाँजेर हेर्नु भयो भने ।
पृथ्वीले सूर्यको प्रदक्षिणा गर्छ। उसको प्रदक्षिणा पथ ९३ करोड ७२ लाख १९ हजार ३९३ किमि रहेको छ। यात्राका दौरान पृथ्वी कहिले एउटा कुनामा, कहिले मध्यम भाग र कहिले अर्को कुनामा पुग्छ। तर हाम्रो टाउकोमा रहेको जुम्राका लागि हामी जहाँ गए पनि उसको दुनियाँ अर्थात हाम्रो टाउको जहाँको त्यहीँ रहे जस्तै हाम्रा लागि पृथ्वी पनि जहाँको त्यहीँ रहेको प्रतीत हुन्छ l तर, वास्तवमा पृथ्वीले निरन्तर स्थान परिवर्तन गरिरहेको हुन्छ।
हामीले प्लेन चढ़े जस्तै पृथ्वीले सूर्यको प्लेन चढ़ी (सूर्यसँग टाइड्ली लक भएका कारण ) ग्यालेक्टिकल सेंटरको यात्रा गर्छ। १ लाख ७४ हजार ७८ ट्रिलियन किमिको यस यात्रामा पृथ्वी सूर्यसँगै कहाँकहाँ, कुन, कस्तो स्थानमा पुगेको हुन्छ ! हाम्रो टाउकोको जुम्रालाई हामी अर्को महादेसमा पुग्दा पनि उसको दुनियाँ जहाँको त्यहीँ भए जस्तै पृथ्वीका लागि जुम्रा सरहका हामीलाई पृथ्वी जहाँको त्यहीँ रहेको प्रतीत हुन्छ। तर, वास्तवमा पृथ्वी प्रत्येक क्षण नयाँ नौलो स्थानमा पदार्पण गरिरहेको हुन्छ। २३ करोड वर्ष लाग्ने यस यात्रा पथमा सूर्यसँगै पृथ्वीले के के दृश्य परिदृश्य हेर्नुपर्छ हामी जुम्रालाई के थाहा ?
सूर्य ग्यालेक्टिकल सेन्टरबाट सर्वाधिक २७ हजार प्रकाश वर्ष टाढा हुँदा, २० हजार प्रकाश वर्ष टाढा हुँदा, १५ हजार प्रकाश वर्ष टाढा हुँदा १० हजार प्रकाश वर्ष टाढा हुँदा अथवा ५-४-३-२-१ हजार प्रकाश वर्षको दूरीमा हुँदा आकाशीय परिदृश्यमा के कस्तो भिन्नता आउँछ भन्ने कुरा पृथ्वीका हामी जुम्राले थाहा पाउँदैनौं।
खगोल विज्ञान भन्छ- पृथ्वी, सूर्य लगायत २०० अर्बभन्दा बढी पिण्डहरुको मूलघर मिल्कीवे आकाशगंगा आफ्ना सबै लालाबालालाई लिएर १५ करोड प्रकाश वर्ष टाढा रहेको कुनै ग्रेट अट्रेक्टर भन्ने केंद्रको परिक्रमा गर्छ। मिल्कीवेको परिक्रमा गर्ने गति ६ सय किमि प्रति सेकेण्ड छ। खगोलविद्हरु अनुमान गर्छन्- मिल्कीवेको एक परिक्रमा पूरा हुन ४ अर्ब वर्ष लाग्छ।
खगोलविद्ले मिल्कीवे जस्ता २०० अर्ब ग्यालेक्सी हुने दाबी गर्छन्। यी २०० अर्ब ग्यालेक्सीमा पुग नपुग २ का पछाडि २२ शून्य थपेर बन्ने संख्या जतिका विभिन्न किसिमका तारा, ग्रह, उपग्रह छन्। यिनीहरुको संयुक्त रूप ब्रह्माण्ड हो।
उत्साहित वैज्ञानिकहरुले त यो ब्रह्माण्ड बाहेक अन्य ब्रह्माण्ड पनि हुनसक्ने दाबी गर्न थालेका छन्। के थाहा, भोलिका दिनमा हामी बसेको ब्रह्माण्ड अर्को कुनै केंद्रको परिक्रमा गरिरहेको तथ्य उद्घाटित पो हुने हो कि !
शायद यो निठल्ला चिन्तन लामो हुँदै गइरहेको छ। मूल प्रश्न- मैले यति जानेको छु, उति जानेको छु, सबै ज्ञान मसँग छ भन्ने ‘जुम्रा’हरुले खगोल विज्ञानको ‘एबीसी’ पढ्दा नै आफ्नो हैसियत छर्लंग हुन्छ। उपनिषदकालीन ऋषि याज्ञवल्क्यले त्यसै भनेका हैनन्- ‘अति प्रश्न नगर गार्गी, नत्र तिम्रो टाउको चुढेर खस्छ।’ टाउकोको अर्थ अभिमान लाएर हेरौ न एकपटक।