काठमाडौं : आगामी तीन दिन तराईमा हुस्सु, कुहिरो र हिमाली भू-भागमा बर्षा र हिमपातको सम्भावना रहेको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार नेपालमा पश्चिमी न्यून चापीय प्रणालीको सामान्य प्रभाव देखिएको बर्षा र हिमपातको सम्भावना रहेको छ।
तराईका केही भू-भागमा हुस्सु/कुहिरो लाग्ने र सडक तथा हवाई यातायातमा प्रभाव पर्ने सम्भावना रहेकोले आवश्यक सावधानी तथा सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।
शनिबार प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू-भागमा सामान्य बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने शनिबार बिहान मौसम पूर्वानुमान महाशाखाबाट जारी बुलेटिनमा उल्लेख छ। महाशाखाका अनुसार प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना रहनुका साथै हिमाली भू-भागका थोरै स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको छ।
राती प्रदेश १, बागमती, गण्डकी र कर्णाली प्रदेशका हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाको भनाई छ।
आइतबार पनि प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ। देशको हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।
महाशाखाका अनुसार सोमबार प्रदेश १ को पहाडी भू-भागका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ। प्रदेश १, गण्डकी र कर्णाली प्रदेशका हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।