• होमपेज
  • समाज
  • सुदूरपश्चिमका युवालाई भोटभन्दा भोकको चिन्ता !

सुदूरपश्चिमका युवालाई भोटभन्दा भोकको चिन्ता !

  • सोमवार, कार्तिक २८, २०७९
सुदूरपश्चिमका युवालाई भोटभन्दा भोकको चिन्ता !

धनगढी– प्रदेश र प्रतिनिधि सभा सदस्यको निर्वाचनको मिति नजिकिए पनि सुदूरपश्चिमका युवाहरु भने चुनावको बेवास्ता गर्दै भारत पस्न थालेका छन्।उनीहरुलाई भोटभन्दा भोकको चिन्ताले गर्दा भारत पलायन हुन बाध्य बनाएको हो। दसैँ र तिहार मान्न भारतबाट घर फर्किएका युवाहरू अहिले धामाधम भारत फर्किन लागेका छन्।
कैलालीको त्रिनगर गौरीफन्टा नाकाबाट मात्र हरेक दिन ५ सय बढी युवा भारत पलायन भइरहेका छन्। चुनावका लागि सीमा नाका बन्द हुने भन्दै ठुलो संख्यामा मतदाता चुनावको मुखैमा राजोगारीको खोजीमा भारत जान लागेका हुन्।

प्रदेश र प्रतिनिधि सभा सदस्यको चुनावको एक हप्ता मात्र समय बाँकी छ। तर यो चुनावसँग सुदूरपश्चिमका केही युवाको भने कुनै चासो र सरोकार नै नभएको देखिएको छ। सुदूरपश्चिमका युवाहरूका लागि रोजगारीको प्रमुख गन्तव्यको रुपमा रहेको भारतका विभिन्न सहरमा जानेहरूको सीमा नाकामा लर्को देख्न सकिन्छ।

उम्मेदवारहरूलाई मत माग्न भ्याइनभ्याइ भइरहेका बेला दैनिक सयौं युवाहरू भने चुनावप्रति बेवास्ता गर्दै भारत पालायन भइरहेका छन्। उनीहरुलाई निर्वाचनको विषय कुनै चासो छैन्। डोटीको दीपायल सिलगडी नगरपालिका वडा नम्बर ७ का जनक विष्टले तिहारका लागि घर आएको तर मंसिर ४ गते चुनाव छ भन्ने कुरा थाहा नपाएको बताए।

‘म तिहारमा घर आएको थिए, आज फेरि काम गर्न भारतको आन्ध्र प्रदेश जाँदै छु,’ उनले भने, ‘चुनाव कहिले हो त्यो थाहा भएन, घर खर्च चलाउन हामीले विदेश जानै पर्छ।’ कैलालीको लम्कीचुहा नगरपालिका वडा नम्बर ९ प्रतापपुरका रुपेश विक पनि सीमा नाकामा भेटिए। सपरिवार भारत जान लागेका उनलाई नेपालमा रोजगारी नभएकाले भारत जानुको विकल्प छैन्। उनका लागि चुनावभन्दा पनि रोजगारी बढी आवश्यक छ।

‘म भारतबाट दसैंमा घर फर्केको थिए, आज सपरिवार भारत जाँदै छौँ। नेपालमा रोजगारी छैन, चुनावमा भोट हाल्न बसेर के हुन्छ ? रोजगारी त मिल्दैन। त्यसैले पूरै परिवार काम गर्न जान लागेको हो’, रुपेशले भने। त्रिनगर नाकामा परिवारसँगै भारत जान लागेका टीकापुर नगरपालिका वडा नम्बर ६ का अमृत चौधरी पनि त्रिनगर नाकामा भेटिए। उनले भोट हाल्ने मन भए पनि घर खर्च धान्न भारत जानुपरेको बाध्यता सुनाए।

‘यो पटक भोट हाल्ने मन त थियो। तर, उता नगए नोकरी गुम्ने भएकाले आज जान लागेको छु,’ उनले भने, ‘यता काम पाइन्न उतै काम पनि पाइने कमाइ पनि हुने भएकाले भारत जानुपर्ने बाध्यता छ भन्नु पर्यो।’ कञ्चनपुरको कृष्णपुर नगरपालिका ४ का एकेन्द्र भाट पनि घर खर्च चलाउनका लागि भारत पसेका छन्। भोट माग्न मात्रै चुनावको बेला नेता गाउँमा आउने अरु बेला समस्या बुझ्न नेता गाउँमा नआउने भएकाले भोट नहालेर भारत जान लागेको भाटले बताए।

‘भोट हालेर खान नमिल्ने, भारतको नोकरीको भरमा परिवार पाल्नुपर्ने, नेताहरू चुनावमा मात्रै आउने, अरु बेला समस्या नबुझ्ने भएकाले कसैलाई पनि भोट हाल्ने मन लागेन,’ उनले भने, ‘भोटले खान दिने, काम दिने भए घरमै बस्न हुन्थ्यो।’

शनिबारमात्रै साढे तीन सय बढी युवा भारत गएको सीमा नाकामा प्रहरीले टिपेको विवरणले देखाएको छ। हरेक दिन पाँच सयको हाराहारीमा गौरीफन्टा नाकाबाट युवाहरु भारत जाँदै छन्। कञ्चनपुरको गड्डाचौकी लगायत पहाडी जिल्लाका नाकाबाट पनि कामको खोजीमा युवाहरु भारत जाने गर्छन। त्रिनगर नाकामा भेटिएका अछामका दीपक बोहराले यसपाली कसैलाई भोट नदिने भनेर भारत जान लागेको बताए।

‘मैले काँग्रेसलाई भोट हाले, एमाले र माओवादीलाई पनि भोट हाले तर कसैले काम गर्न सकेनन्,’ उनले भने, ‘सबैसँग रिस उठेर यो पटक भने कसैलाई भोट नदिने निर्णय गरेर भारत जान लागेको हुँ।’ सुदूरपश्चिमका सबै जिल्लाबाट रोजगारीका लागि भारत जाने युवाहरूको सीमानाकामा हरेक दिन लर्को देख्न सकिन्छ। प्रदेश र प्रतिनिधि सभाका उम्मेदवारहरूले रोजगारी सिर्जना गर्ने भाषण गरे पनि युवाहरूले त्यो पत्याएका छैनन्। युवाहरूले रोजगारी पाइने सम्भावना नदेखेको भन्दै भारत जना लागेको गुनासो सुनाएका छन्। दिनेश खवरबाट

चर्चामा

सम्बन्धित समाचार