मङ्लबार, जेष्ठ १, २०८१
  • होमपेज
  • समाज
  • बझाङमा दलित शिक्षकलाई विभेद भनिएकाे भाइरल तस्बिर

बझाङमा दलित शिक्षकलाई विभेद भनिएकाे भाइरल तस्बिर

  • शनिबार, कार्तिक ५, २०७९
बझाङमा दलित शिक्षकलाई विभेद भनिएकाे भाइरल तस्बिर

बझाङ–एउटा तस्बिर सामाजिक सञ्जालमा भाइरल बनिरहेको छ। तस्बिर बझाङ जिल्लाको जयपृथ्वी नगरपालिका वडा नं १ स्थित नारायण माविको प्राङ्गणमा शिक्षकहरू खाना खाइरहेको अवस्थाको हो।

त्यहाँ उक्त तस्बिरमा ९ जना शिक्षकहरू बसेका देखिन्छन्। आठ जना शिक्षक गोलो घेरामा छन् भने एक जना बाहिर छन्। उनी हुन्, शिक्षक अफिलाल ओखेडा। कुरो करीब ४/५ दिन अघिको हो। विद्यालयको आवधिक परीक्षा सकिएपछि शिक्षकहरूले विद्यालयमै खानपिन गरेका थिए। सोही बेला एकजना शिक्षकले फोटो खिचेर सामाजिक सञ्जालमा राखेका थिए।

तर, अहिले उक्त तस्बिरलाई नकरात्मक तवरले सामाजिक सञ्जालमा भाइरल बनाइएको छ। दलित शिक्षकलाई गैरदलित शिक्षकले छुट्टै राखेर खाना खुवाएको भन्दै उक्त तस्बिर भाइरल बनाइएको हो। तर, सामाजिक सञ्जालमा चर्चा गरेजस्तो जातीय विभेद भने नगरिएको ती शिक्षकहरुले बताएका छन्।

शिक्षक अफिलाल ओखेडा आफैँले पनि सामाजिक सञ्जालमा चर्चा भएजस्तो वास्तविकता नभएको बताएका छन्। उनले घटनाको वास्तविकता त्यस्तो नभएको जनाएका हुन्। तस्बिरको गलत अर्थ लगाएर भाइरल बनाइएको उनको दाबी छ। चौरमा बसाइ नै त्यस्तो भएको र संयोगवश उक्त तस्बिरमा सो दृश्य कैद भएको उनले बताए। विद्यालयमा शिक्षकबाट विभेद नभएको उनको भनाइ छ।

यस्तै विद्यालयका प्रधानाध्यापक ऐनबहादुर सिंहले पनि दलित शिक्षकलाई विभेद नगरिएको बताए। आफू बिदामा रहेको बताउँदै विद्यालयको वातावरण विभेदकारी नभएको उनले बताए। सामाजिक सञ्जालमा अनावश्यक प्रचार गरिएको उनको भनाइ छ।

चर्चामा

सम्बन्धित समाचार