• होमपेज
  • राजनीति
  • आत्महत्या गर्न ५५ वटा ब्याट्री निलेपछि…

आत्महत्या गर्न ५५ वटा ब्याट्री निलेपछि…

  • सोमवार, अशोज १०, २०७९
आत्महत्या गर्न ५५ वटा ब्याट्री निलेपछि…

आयरल्याण्डको डब्लिनमा एक दर्दनाक घटना सार्वजनिक भएको छ । त्यहाँ उपचारका लागि अस्पताल पुगेकी एक महिलाको पेटभित्र दर्जनौँ ब्याट्रीहरु भेटिएका छन् ।

डब्लिनको सेन्ट भिन्सेन्ट विश्वविद्यालय अस्पतालका अनुसार ६६ वर्षकी ती महिलाको पेटमा ५५ वटा ब्याट्री फेला परेका हुन् । अस्पतालमा एक्सरे पश्चात् उनको पेटभित्र ब्याट्री भएको पुष्टि भएको थियो । आयरिस मेडिकल जर्नलमा गत सेप्टेम्बर ५ मा प्रकाशित समाचार अनुसार ती महिलाले आत्महत्या गर्ने सोँचका साथ जानीजानी त्यतिधेरै ब्याट्री निलेकी थिइन् ।

पेटभित्र त्यतिधेरै ब्याट्री हुँदापनि उनको पाचनतन्त्रको नलीमा कुनै रोकावट नभएको र डाक्टरहरुले पारम्परिक शल्यक्रिया विधिबाटै उनको पेटबाट ती ब्याट्रीहरु बाहिर निकाल्न सफल भएको जर्नलमा उल्लेख छ ।

एक्सरेबाट पेटभित्र ब्याट्री भएको पत्ता लागेसँगै डाक्टरहरुले ती ब्याट्री दिसासँगै बाहिर निस्कने अपेक्षा गरेका थिए । तर एक हप्ताभित्रमा केवल ५ वटा ब्याट्रीमात्रै बाहिर आए । पुनः एक्सरे गर्ने क्रममा बाँकी ब्याट्रीहरु पेटभित्र फसेको र अगाडि बढ्न नसकेको पुष्टि भयो । महिलाको पेटमा दुखाई पनि बढ्दै गएको थियो ।

त्यसपछि डाक्टरहरुले ल्याप्रोटोमी विधिको प्रयोग गरे । जसमा पेटमा एउटा सानो भागमा चिरेर हात भित्र लगिन्छ । ब्याट्रीको वजनका कारण महिलाको आन्द्रा तलतर्फ झर्दै गएको तथ्य डाक्टरहरुले पत्ता लगाए । त्यसैले शल्यक्रिया गर्नुको विकल्प रहेन । पेटमा बनाइएको सानो प्वालबाटै उनीहरुले ती महिलाको पेटमा अड्किएका ४६ वटा ब्याट्रीहरु एक एक गरी हातले बाहिर निकाले ।

उनको पेटमा AA तथा AAA ब्याट्रीहरु थिए । अर्थात् घडीमा लगाउने ब्ब् तथा रिमोटमा लगाउने ब्ब्ब् ब्याट्रीहरु उनले निलेकी रहेछिन् । ती मध्ये चारवटा ब्याट्रीहरु मलासयमै गएर अड्किएका रहेछन्, जसलाई पछि निकालिएको थियो ।

ती महिलालाई शल्यक्रिया पश्चात् घर पठाइसकिएको छ । मेडिकल जर्नलमा प्रकाशित रिपोर्ट अनुसार कुनैपनि बिरामीको पेटमा यतिधेरै ब्याट्री भेटिएको यो पहिलो घटना हो ।

यसअघि बालबालिकाहरुले ब्याट्री निलेका घटनाहरु सार्वजनिक हुने गर्दथे । तर आयरल्याण्डको यो घटनामा वृद्ध महिलाले नै करीब ५ दर्जन ब्याट्री निलेको पाइएको छ । एजेन्सीको सहयोगमा

चर्चामा

सम्बन्धित समाचार