गौरा डोटेली समाजको महत्वपुर्ण चाडपर्व हो । गौराले हिमालयकी पुत्री गौरी अर्थात् पार्वतीलाई जनाउँछ । यस पर्वमा गौरामहेश्वरको व्रत र उपवासना गरिन्छ । गौरालाई गोरा, गोःरा, गमरा, गवँरा, लोलीगौरा, लोली गवँरा आदि नामले पनि चिनिन्छ । यो पर्व मुख्यतः सुदूरपश्चिम प्रदेशको डोटी, डडेल्धुरा, बैतडी, दार्चुला तथा भारतको उत्तराञ्चल राज्यको कुमाउ र गढवालमा मनाइने गरिन्छ । यस भेगका बासिन्दाहरू देशविदेशका विभिन्न स्थानमा छरीएर रहेकाले हाल आएर गौरा पर्व विभिन्न ठाउ“मा मानाइए पनि यसमा पूणर् विधिविधान र वास्तविक स्वरूप पाइदैन । गौरा पर्वको पूणर् विधिविधान र वास्तविक स्वरूप खोज्न सुदूरपश्चिम प्रदेशमै पुग्नु पर्ने हुन्छ ।
विशेषतः बाहुन र क्षेत्री जातिका विवाहित र सधवा नारीहरूले शिवपार्वतीको व्रत, उपवासना, धार्मिक अनुष्ठान तथा पूजा गरेर नाचगान एवम् रमाइलोका साथ गौरा पर्व मनाउने गर्छन् । महिलाहरूले आफ्ना पति वा परिवारको सुख, समृद्धि, उन्नति, दीर्घायू एवम् सौभाग्यको कामना गर्दै गौरा पर्वलाई मनाउने गर्दछन् । पौराणिक कालमा राजा सहश्रार्जुनका सन्तानले भृगुवंशी ब्राह्मण नारीहरूलाई दुव्र्यवहार गर्न खोज्दा तथा गर्भ तुहाउने चेष्टा गर्दा ती नारीहरू गौराको पूजा र उपासना गर्छन् । गौरामाताको उपासना र अनुकम्पाले ती महिलाहरू आफ्नो इज्जत र सन्तान जोगाउन सफल हुन्छन् । भृगुवंशी ब्राह्मण नारीले पुरुषको सहारा बिना नै आफ्नो इज्जत र सन्तान जोगाउन सफल भएकाले त्यसै दिनदेखि गौरा पर्व मनाउन थालिएको भन्ने किंवदन्ति पाइन्छ ।
आजकालका युवाहरूमा गौरा भनेको डेउडा खेल्नु हो भन्ने गलत बुझाइ र भ्रम रहेको छ । गौरा पर्वका बारेमा जानकार नभएका व्यक्तिलाई गौरा र डेउडा एकअर्काका पर्याय हुन् भन्ने पनि लागेको हुन सक्छ । मिडियाकर्मीहरूले गौराका बारेमा वास्तविक जानकार व्यक्तिसँग अन्तर्वार्ता नलिइ डेउडा गायकसँग अन्तर्वार्ता लिँदा कतिपय डेउडा गायकले गौरा र डेउडा एकअर्काका पर्याय हुन् भनेर अभिव्यक्ति दिँदा पनि आम जनमासमा गौरासम्बन्धी गलत बुझाइ रहन गएको हो । गौरा भनेको टुँडिखेल तथा चौरमा डेउडा खेल्नु होइन । गौरा र डेउडा एकअर्काका परिपुरक पनि होइनन् । डेउडा त केवल गौराको एक सानो हिस्सा मात्र हो । गौराको महिमा महिलाहरूले गाउँने मागल, फाग, सगुन तथा अठवाली गीतमा रहेको छ । गौराको विशिष्टता पुरुषहरूले खेल्ने ढुस्को, चैत, धुमारी तथा चाँचरीमा झल्कले गर्छ । गौरा पर्वमा महिलाहरूले बिरुँडा भिजाउँदा, बिरुँडा पखाल्दा, गौराको पूजा गर्दा तथा गौरा नचाउँदा गौरामहेश्वरसँग सम्बन्धित विभिन्न प्रकारका मागल, फाग, सगुन, अठवाली आदि धार्मिक गीत गाउने गर्छन् । गौरा पर्वलाई शिवपार्वतीको विवाहको उत्सबका रूपमा पनि लिने गरिकाले पुरुषहरूले यस पर्वमा विभिन्न देवीदेवता सम्बन्धित गीत गाउँदै ढुस्को, चैत, धुमारी, चाँचरी आदि खेल्ने गर्छन् । यस पर्वमा युवायुतिको जमघट हुने हुनाले उनीहरूले रमाइलोका लागि डेउडा पनि गर्छन् । युवापुस्ताले डेउडाप्रति बढी झुकाव राख्दा गौराका परम्परागत गीत र खेलहरू ओझेमा परेका छन् अर्थात् गौरा र डेउडा एकअर्काका पर्याय बन्न पुगेका छन् ।
गौरा पर्वको मुख्य तिथि भाद्र शुक्ल सप्तमी र अष्टमी वा कृष्ण सप्तमी र अष्टमी हो । अगस्थि उदयपूर्व भाद्र शुक्ल सप्तमी र अष्टमी पर्दछ भने भाद्र शुक्ल पक्षमा गौरा पर्वलाई मनाइन्छ । अगस्थि उदयपछि गौरामहेश्वरको पूजा नहुने भएकाले यदि अगस्थि उदयपूर्व भाद्र शुक्ल सप्तमी र अष्टमी नपरेमा भाद्र कृष्ण पक्षमा गौरा पर्वलाई मनाइन्छ । शुक्ल पक्षमा मनाइने गौरालाई उज्याली (उज्यालो) गोरा र कृष्ण पक्षमा मनाइन गौरालाई अनारी (अँध्यारो) गोरा भनिन्छ । कृष्ण पक्षमा चन्द्रमाको अधिकांश भाग छाँया परेर अँध्यारो हुने भएकोले कृष्ण पक्षमा परेको गौरालाई अन्यारी गोरा भनिएको हो भने शुक्ल पक्षमा आकाशमा जुन टहटह चम्केर उज्यालो हुने भएकोले शुक्ल पक्षमा परेको गौरालाई उज्याली गोरा भनिएको हो ।
गौराको चहलपहल चतुर्थी तिथिका दिनदेखि नै सुरु हुन्छ । चतुर्थी तिथिका दिन बिरुँडा केलाउने कार्य गरिन्छ । बिरुँडा भनेको पाँचथरी गेडागुडी समावेश भएको अन्न हो । पञ्चमी तिथिमा विधिवतरूपमा मागल, सगुन र फाग गाउँदै तामाको भाँडामा गौराका लागि बिरुँडा भिजाउने कार्य गरिन्छ । बिरुँडाका रूपमा डोटी र डडेल्धुरातिर गहत, गुराँस, चना, कलउँ (केराउ) र मटरा (सेतो केराउ) भिजाउने गरिन्छ भने बैतडी र दार्चुलातिर गहत, गुराँस, मास, कलउँ (केराउ) र गहुँ भिजाउने गरिन्छ । षष्टी तिथिका दिन महिलाहरू एकत्रित भई सगुन र फाग गाउँदै पञ्चमीमा भिजाएको बिरुँडा पखाल्ने काम गर्छन् । यसरी पखालेको बिरुँडालाई घरको पूजा कोठामा फिजाएर राख्ने गर्छन् । यसै दिन गौराकी सौता मानिने सञ्जा गौराका लागि पनि बिरुँडा भिजाउने कार्य गरिन्छ ।
सप्तमी तिथिका दिन व्रतालु महिलाहरूले साउँ धानको गौरा र महेश्वरको प्रतिमा बनाई नजिकको मन्दिर वा गौरा घरमा भित्र्याउने गर्दछन् । गौरा र महेश्वरको स्थापना गर्दा तत्सम्बन्धी सगुन र फाग गाउँने गर्छन् । यस दिन गौरामहेश्वरको व्रत, उपासना तथा पूजाअर्चना गरी महिलाहरू दुब्धागो चढाउने गर्छन् । अष्टमी तिथिका दिन गौराकी सौता मानिने सञ्जा गोराको उपासना तथा पूजाअर्चना गरिन्छ । यस दिन गौराको व्रत बसेका महिलाहरू सगुन र फाग गाउँदै गौरामहेश्वरको प्रतिमालाई बाजागाजाका साथ गौरा खेल्ने खलोमा ल्याउँन्छन् । यस दिन महिलाहरूले अठवाली गीत गाउँदै गौरामहेश्वरको प्रतिमालाई शिरमा राखेर नचाउँछन् । गौरामहेश्वरको प्रतिमा बाहिर ल्याइसकेपछि पुरुषहरू मङ्गल गीत गाउँन्छन् र ढुस्को, चैत, धुमारी, चाँचरी आदि खेल्छन् । यस पर्वमा युवायुतिको जमघट हुने हुनाले उनीहरूले रमाइलोका लागि साँझपख डेउडा खेल्ने गर्छन् । यसैदिन महिलाहरूले अभिषेक गरेको दुब्धागो घाँटीमा लगाउँने परम्परा रहेको छ । दुब्धागो भनेको पोते जस्तै देखिने रातो, पहेँलो र कालो धागोबाट बनाइएको पवित्र डोरी हो । गौराको प्रसादका रूपमा मानिने यो डोरी विवाहिता व्रतालु नारीहरूले सौभाग्य र सन्तान सुख प्राप्तिका लागि अष्टमीका दिनदेखि घाँटीमा बाँध्ने गर्दछन् । यसै दिन व्रतालु महिलाहरूले घरपरिवार, आफन्त, इष्टमित्र तथा छरछिमेकलाई प्रसादका रूपमा बिरुँडा बाँड्ने गर्छन् । प्रसादका रूपमा बाँडिएको बिरुँडालाई भुटेर खाने गरिन्छ । दार्चुला र बैतडीतिर भने बिरुँडाले आफ्ना घरपरिवारका सदस्यको टाउको पुज्ने प्रचलन समेत रहेको छ ।
शुक्ल पक्षमा परेको गौरा पञ्चमी देखि पूणर्िमासम्म अधिकतम दश दिनसम्म मनाइन्छ भने कृष्ण पक्षमा परेको गौरा पञ्चमी देखि अगस्थि उदयपूर्वसम्म पनि मनाइन्छ । गौराको अन्तिम दिन तिथि र बार हेरी बाजागाजाका साथ गौरामहेश्वरको प्रतिमालाई शिरमा राखेर नचाउँदै बिदाइ गरिन्छ । चतुर्दशी र औँसी तिथिमा तथा सोमबार र शनिबारका दिन गौरामहेश्वरको बिदाइ गरिदैन । गौरामहेश्वरको बिदाइका बखत महिला र पुरुषहरूले छुट्टाछुट्टै रूपमा कारुणिक गीत गाउँने प्रचलन रहेको छ । बिदाइपछि सप्तमी तिथिमा निर्मित गौरामहेश्वरको प्रतिमालाई पवित्र पर्वत, मन्दिर वा बर-पीपलको वृक्ष समीप सेलाउने गरिन्छ ।
यसरी डोटेली समाजमा गौरालाई दशैँतिहारपछिको महŒवपूणर् चाडपर्वका रूपमा धुमधामका साथ मनाइन्छ । गौरा खेल्न दुरदराजबाट गौराका पारखीहरू आउने भएकाले आफन्त, इष्टमित्र तथा साथीभाइसँग भेटघाट गराउने पर्वका रूपमा पनि गौरालाई लिइन्छ । यस पर्वमा आफ्ना पति र सन्तानको सुख, समृद्धि, उन्नति, दीर्घायू तथा सौभाग्यको कामना, मनोरञ्जन, सामाजिक सद्भाव, आर्थिक भार न्युन, ऐतिहासिकता, परम्पराप्रति आस्था र संरक्षण आदिजस्ता विशेषता पाइन्छन् ।