• होमपेज
  • देश
  • मूल्य बढाउँदा पनि मासिक ६१ करोड घाटामा रहेको आयल निगमको दाबी

मूल्य बढाउँदा पनि मासिक ६१ करोड घाटामा रहेको आयल निगमको दाबी

  • शुक्रबार, भदौ १७, २०७९
मूल्य बढाउँदा पनि मासिक ६१ करोड घाटामा रहेको आयल निगमको दाबी

काठमाडौं — नेपाल आयल निगमले डिजेल र मट्टितेलमा प्रतिलिटर ६ रुपैयाँको दरले वृद्धि गरेपछि कायम भएको नयाँ मूल्य गएरातिदेखि लागू भएको छ ।

मूल्य बढेसँगै डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर रु १७८ रुपैयाँ पुगेको छ । यसअघि डिजेल र मट्टितेलको खुद्रा बिक्री मूल्य प्रतिलिटर रु १७२ थियो । पेट्रोल, खाना पकाउने एलपी ग्यास र हवाई इन्धनको मूल्य भने हाललाई यथावत राखिएको छ । पेट्रोलमा प्रतिलिटर २ रुपैयाँ ८२ पैसा नाफा रहेकाले नबढाइएको निगमको तर्क छ ।

भारतको इन्डियन आयल कर्पोरेशन (आईओसी) बाट पेट्रोलियम पदार्थको खरिद मूल्य बढेर आएको भन्दै नेपाल आयल निगमको सञ्चालक समितिको बैठकले गएराति १२ बजेदेखि लागु हुने गरी मूल्य वृद्धि गरेको हो ।

मूल्यवृद्धि गर्दा पनि अझै मासिक ६१ करोड घाटामा रहेको नेपाल आयल निगमका प्रवक्ता विनितमणि उपाध्यायको भनाइ छ । उपाध्यायका अनुसार नेपाल आयल निगमलाई खाना पकाउने एलपी ग्यासमा अझै प्रतिसिलिण्डर ३७८ रुपैयाँ ७ पैसा तथा डिजेलमा प्रतिलिटर ११ रुपैयाँ १८ पैसा घाटा छ । यस्तै पेट्रोलियम पदार्थ खरिद बापतको करिब २१ अर्ब आईओसीलाई तिर्न बाँकी रहेको पनि निगमले जनाएको छ ।

भारतबाट हरेक १५ दिनमा आउने मूल्य सूची अनुसार नेपालले पनि इन्धनको मूल्य समायोजन गर्दै आएको छ । भारतबाट मूल्य बढेर आएको बेला बढाउने र घटेर आएको बेला घटाउने गरी स्वचालित मूल्य प्रणाली लागू गरिए पनि आयल निगमले त्यसको पालना गरेको छैन । यसअघि मूल्य घटेर आउँदा नघटाएको र अहिले बढेर आएको भन्दै बढाएपछि नेपाल आयल निगमको आलोचना भएको छ ।

चाडबाडको मुखमा डिजेल र मट्टितेलको मूल्य बढाएर सरकारले सर्वसाधारण उपभोक्ता मर्कामा पारेको भन्दै आलोचना भएको छ । प्राय सबैजसो सार्वजनिक सवारी साधनमा डिजेल प्रयोग हुने गर्दछ । डिजेलको मूल्य बढेपछि यातायात व्यवसायी र ढुवानीकर्ताले पनि भाडा बढाउने गरेका छन् । त्यसको असर समग्र वस्तुको मूल्यमा पनि पर्ने हुँदा सार्वजनिक सवारी साधन प्रयोगकर्ता र उपभोक्ता मर्कामा पर्दै आएका छन् ।

चर्चामा

सम्बन्धित समाचार