शुक्रबार, पुस २६, २०८१
  • होमपेज
  • शिक्षा
  • शिक्षक र विद्यार्थीमा कोरोना देखिएपछि विद्यालय बन्द

शिक्षक र विद्यार्थीमा कोरोना देखिएपछि विद्यालय बन्द

  • शनिबार, भदौ ४, २०७९
शिक्षक र विद्यार्थीमा कोरोना देखिएपछि विद्यालय बन्द

सल्यान — शिक्षक र विद्यार्थीमा कोरोना संक्रमण देखिएपछि त्रिवेणी गाउँपालिका–५ सिम्खस्थित सरस्वती माध्यामिक विद्यालय ४ दिनका लागि बन्द गरिएको छ । सबै संक्रमणको जोखिम बढेपछि विद्यालय बन्द गरिएको हो ।

विद्यालयका एक शिक्षक, एक विद्यार्थीलाई कोरोना पोजेटिभ देखिएको र अन्य धेरै विद्यार्थी बिरामी भएका कारण थप समस्या उत्पन्न हुन नदिन र अप्रिय घटना घटनबाट बचाउन विद्यालय बन्द गरिएको प्रधानाध्यापक बलबहादुर कुँवरले बताए । उनले पालिका, स्वास्थ्य र शिक्षाको सल्लाह लिई विद्यालय बन्द गरिएको जानकारी गराए । उनका अनुसार संक्रमित शिक्षक र विद्यार्थीलाई होम आइसोलेसनमा बस्न र अन्य बिरामीलाई पनि घरबाट बाहिर ननिस्कन सल्लाह दिइएको छ ।

संक्रमित र बिरामी परेका अन्य विद्यार्थी र अभिभावकलाई स्वास्थ्यकर्मीबाट विभिन्न सल्लाह दिइरहेको उनले जानकारी गराए । ‘दुई साता अघिदेखि नै विद्यार्थी ज्वरो आउने, पेट दुख्ने, पखाला लाग्ने, टाउको दुख्ने जस्ता समस्याबाट प्रभावित भएका थिए । दैनिकजसो तीन/चार जना विद्यालयमा बिरामी हुने गर्थे । गत बुधबार एकै दिनमा २५ जना बिरामी परे । हामीले तत्काल पालिकाको शिक्षा शाखा र स्वास्थ्यमा सम्पर्क गर्‍यौं । स्वास्थ्यकर्मी टोली आएर ११ जनाको कोरोना परीक्षण गर्दा दुई जनामा पोजेटिभ देखियो । विद्यालय बिहीबारबाटै विद्यालय बन्द गरिएको थियो । संक्रमित भएपनि शिक्षक विद्यार्थीको अबस्था अहिले सामान्य रहेको उनको भनाइ छ । एकदेखि कक्षा १० सम्म सञ्चालित विद्यालयमा ३ सय १५ जना विद्यार्थी रहेका छन् ।

दुई जनाका कारण विद्यालयका विद्यार्थी मात्र नभई बस्ती बासी सबै संक्रमणको सिकार नहुन भनेर बन्द गराइएको त्रिवेणी गाउँपालिका शिक्षा शाखा प्रमुख गणेशप्रसाद आर्चाले बताए । पालिकाका अन्य विद्यालयमा अध्ययनरत केही बालबालिकालाई पनि ज्वरो आउने, टाउको, पेट दुख्ने जस्ता समस्या देखिएकाले सचेतना अपनाउँदै स्वास्थ्य मापदण्ड पालना र अनिवार्य मास्क लगाई विद्यालय सञ्चालन गर्न उनले विद्यालयलाई आग्रह गरेका छन् ।

चर्चामा

सम्बन्धित समाचार