शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • समाज
  • बाजुराका अधिकारी दम्पतीको भारतमा ‘लुटधन्दा’, ३ किलो सुन चोरेपछि खुल्यो पोल

बाजुराका अधिकारी दम्पतीको भारतमा ‘लुटधन्दा’, ३ किलो सुन चोरेपछि खुल्यो पोल

  • शुक्रबार, भदौ ३, २०७९
बाजुराका अधिकारी दम्पतीको भारतमा ‘लुटधन्दा’, ३ किलो सुन चोरेपछि खुल्यो पोल

बाजुरा–बाजुराको त्रिवेणि नगरपालिका ९ पैमामा घर भएका निरज खत्री र उनकी श्रीमती कमला अधिकारी भारतको नयाँ दिल्लीस्थित ज्ञान बिहारमा रामभुल सिंहको घरमा काम गर्थे। खत्री चौकीदारी र अधिकारी घर सफाईको काम गर्थिन्। करिब ४ महिना काम गरेको दम्पती ३० किलोका २ वटा लकरसहित साढे तीन किलो सुन र ३८ लाख नगद भारुसहित फरार भए। उक्त अपराध गत असार २८ गते घरधनी परिवार किनमेलका लागि बजार गएको मौका छोपेर गरिएको थियो।

चोरीका मुख्य योजनाकार निरज खत्रीले घरधनी सिंहको धनमाल चोर्न तीन जनालाई संलग्न गराएको खुलेको छ। सबै धनमाल चोरेर उनीसहित संलग्नहरु बरेलीबाट खटीमा हुँदै नेपाल प्रवेश गरेको अनुसन्धानबाट खुलेको छ।

दम्पतीकै योजनामा करोडौँको चोरी
ज्ञान बिहार नयाँ दिल्लीका रामभुल सिंहको घरमा चौकीदारको काम गर्ने निरज खत्री र घर सफाईको काम गर्ने निरजकी श्रीमती कमलाले लकर र लकरभित्र राखिएको नगदसहित सुन चोरी गरेको खुलेको छ।

दिल्लीका विभिन्न स्थानमा विगत लामो समयदेखि निरज चोरीमा संलग्न हुँदै आएको समेत दिल्ली प्रहरीको अभिलेखबाट देखिएको छ। कामको खोजीमा भारतका विभिन्न नयाँ स्थानमा पुग्ने र अन्तिममा चोरी गरेर फरार हुने गरेको पीडित सिंहले बताएका छन्। श्रीमती अधिकारीले धनमाल पत्ता लगाउने र श्रीमान खत्रीले चोरीको योजना बनाउने गरेको पाइएको हो।

धनगढीबाट सहयोगी बोलाएर चोरी
रामभुल सिंहसहित उनको परिवार किनमेलका लागि बजार गएको बेला असार २८ गते निरज अधिकारीले धनगढीबाट समेत मान्छे बोलाएर ३० किलोका २ वटा लकरसहित ३८ लाख भारु र साढे तीन किलो सुन चोरेर नेपाल प्रवेश गरेको देखिएको छ।

रामभुल साढे २ घण्टपछि घर फर्किदा घरभित्र भएको सबै धनमाल चोरेर निरजसहितका व्यक्ति फरार भएपछि उनले प्रहरीलाई खबर गरेका थिए। तर, १८ हजार भारु दिएर ट्याक्सी नै बुकिङ गरेर चोर बाटोबाट नेपाल प्रवेश गरेका उनलाई भारतीय प्रहरीले पक्राउ गर्न सकेनन्। आफ्नी कान्छी छोरीको विवाहको तयारीमा रहेका रामभुलको ४ पुस्ताले प्रयोग गर्दै आएको सम्पत्ति निरजको समूहले लुटेको थियो।

श्रीमतीलाई एक हप्ताअघि नै घर पठाएको नाटक
घरमा आमा बिरामी भएको भन्दै निरजले एक हप्ता अघि नै आफ्नी श्रीमती कमला अधिकारीलाई घर पठाएका थिए। तर, उनले श्रीमतीलाई घर होइन गुडगाउँमा राखेका रहेछन्। जहाँ लामो समयदेखि उनका आमाबुवाले काम गर्दै आएका थिए।

पुर्ख्याैली सबै सम्पत्ति चोरी भएपछि पीडित रामभुल सिंहले नयाँ दिल्लीस्थित नेपाली राजदुतावासमा निवेदन दिएका थिए। तर दुतावासले नेपालीहरुको समस्या मात्र हेर्न मिल्ने जानकारी बताएपछि उनी सिधै काठमाडौँस्थित भारतीय राजदुतावासमा निवेदन दिन आइपुगेका थिए। दुतावासकी प्रमुख अधिकृत नेहा पाण्डेले नेपाल प्रहरीका उच्च अधिकृतहरुसँग कुराकानी गरेपछि पीडित सिंह नेपाल प्रहरीको सम्पर्कमा आउन सफल भएका थिए।

हत्यादेखि अपहरणसमेत संलग्न
निरज खत्री उनै व्यक्ति हुन् जसले यसअघि दिल्लीमा एक सरकारी अधिकारीकी छोरीको अपहरण गरेर २ करोड फिरौती मागेका थिए। निरज खत्री गुडगाउँका १० स्थानमा भएका चोरीमा संलग्न रहेको दिल्ली प्रहरीको अभिलेख छ।
त्यति मात्र होइन उनीमाथि मान्छे मारेको मुद्दा समेत रहेको दाबी गरिएको छ।

रामभुल सिंहको घरमा गरेको चोरीमा निरजलाई उनका भाई नवराज र हिक्मतले पनि साथ दिएको सीसीटिभी फुटेजमा देखिएको छ। चोरीमा संलग्नहरुको सीसीटीभी फुटेजसहित घरधनी सिंह नयाँ दिल्लीबाट बाजुरा पुगेका थिए। चोरिएको धनमाल फिर्ता गराउन निरज खत्रीकी श्रीमती कमला अधिकारीलाई बाजुरा प्रहरीले नियन्त्रणमा लिएपनि सामान्य सोधपुछपछि घर पठाइदिएको थियो।

चोरीमा संलग्नलाई प्रहरीको साथ
प्रहरीले कमला अधिकारी चोरी हुनुभन्दा अगाडी नै घर आएकाले चोरीमा उसको संलग्नता नभएको दाबी गरेको छ। तर प्रहरीले नै दिएको जानकारीअनुसार चोरीमा संलग्न कमलालाई सोधपुछका लागि जिल्ला प्रहरी कार्यालय बाजुरामा बोलाउँदा र खानतलासी गर्दा १२ ग्राम सुन र २१ हजार भारतीय रुपैयाँ फेला परेको देखिएको छ। प्रहरीले उनलाई तारेखमा छोडेको दाबी गरेको छ।

चोरीमा संलग्न सबै कैलालीतिर भएकाले संलग्नहरुलाई नियन्त्रणमा लिन कैलाली प्रहरीले समेत खोजी गरिरहेको जिल्ला प्रहरी कार्यालय बाजुराका डीएसपी सुर्य थापाले बताए। तर, प्रमाणको रुपमा प्रहरीकै अगाडि कमलाबाट नगदसहित सुन फेला परेपनि बाजुरा प्रहरीले सहयोग गर्नुको सट्टा उन्मुक्ति दिने काम गरेको पीडितको गुनासो छ।

संलग्नलाई पक्राउ गर्न प्रदेश प्रहरीको निर्देशन
धनमाल चोरीमा संलग्नहरुलाई पक्राउ गर्न सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढीले सम्बन्धित जिल्लालाई निर्देशन दिएको छ। भारतका विभिन्न सहरमा चोरी भएको भन्दै गुनासो आउनेक्रम बढेको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढीका प्रहरी नायब महानिरीक्षक मोहनकुमार आचार्यले बताए।

‘केहीदिन अघि मात्र पन्जाबबाट झण्डै ४७ लाख भारतीय रुपैयाँ चोरी भएको भन्दै गुनासो आएपछि इन्टरपोलबाट सो रकम फिर्ता गराइएका थियो’ उनले भने, ‘यो घटनामा पनि प्रहरीले अनुसन्धान र संलग्नहरुलाई पक्राउ गर्न सुरक्षाकर्मी परिचालन गरेकाले छिट्टै चोरीको धनमाल फिर्ता हुने अपेक्षा गर्न सकिन्छ।’

भारतमा हुने चोरीमा सबैभन्दा बढी कैलाली, डोटी, अछाम र बाजुरा जिल्लाका बासिन्दाको संलग्नता रहेको प्रहरी बताउँछ। भारतमा चोरी गरेर दैनिक करोडौंको धनमाल भित्रिरहेको दाबी प्रवासमा रहेका नेपालीको छ।

भारतमा चोरीलाई मुख्य पेशा बनाएका समूह र व्यक्तिको संख्या दिनहुँ बढिरहेको छ। यसले भारतमा रोजगारी गर्न जाने सर्वसाधारण नेपालीको हत्या, अपहरण र बलात्कार हुँदासमेत भारतीय प्रहरीबाट सहयोग पाउन मुस्किल हुने गरेको भारतमा रहेका नेपालीहरुले बताएका छन्।

याे खबर दिनेश खबर बाट लिइएकाे हाे ।

चर्चामा

सम्बन्धित समाचार