• होमपेज
  • अन्तर्राष्ट्रिय
  • भारतलाई २५ वर्षमा विकसित मुलुक बनाउनेछौँ : प्रधानमन्त्री मोदी

भारतलाई २५ वर्षमा विकसित मुलुक बनाउनेछौँ : प्रधानमन्त्री मोदी

  • बुधबार, भदौ १, २०७९
भारतलाई २५ वर्षमा विकसित मुलुक बनाउनेछौँ : प्रधानमन्त्री मोदी

एजेन्सी — भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले आफ्नो देशलाई २५ वर्षमा विकसित मुलुक बनाउने लक्ष लिएको बताए। यसका लागि आफूहरूले ऊर्जा, प्रतिरक्षा र डिजिटल प्रविधिहरू देशभित्र विकास गर्ने नीति लिने प्रधानमन्त्री मोदीले भने।

मोदीले सोमबार भारत बेलायती शासनबाट स्वतन्त्र भएको ७५ औँ वार्षिकोत्सवका क्रममा लाल किलाबाट सम्बोधन गर्ने क्रममा यो लक्ष उजागर गरेका थिए। मोदीले १७ औँ शताब्दीमा मुगल शासकहरूले निर्माण गरेको लाल किलामा उभिएर सम्बोधन गरेका थिए। ‘भारतलाई हाम्रै जीवनकालमा विकसित मुलुक बनाउनेछौँ। आगामी २५ वर्षमा विकसित मुलुकमा बदल्नुपर्छ। यो ठूलो प्रतिबद्धता हो तर यसलाई साकार बनाउन हामीले सम्पूर्ण शक्ति लगाउनुपर्छ,’ ७१ वर्षीय मोदीले भने।

७५ मिनेट लामो सम्बोधनमा मोदीले विश्वमा भारतको प्रतिष्ठा बढेको बताउँदै अहिले कयौँ वैश्विक मुद्दा समाधानको लागि संसारले भारतको साथ खोज्ने बताए। ‘भारतले विज्ञान तथा प्रविधिमा उत्कृष्टता हासिल गर्न, उद्योग निर्माण गर्न र खाद्य तथा ऊर्जा सुरक्षा हासिल गर्न आगामी दिनमा आत्मनिर्भर तथा अन्तराष्ट्रिय साझेदारीको सिद्धान्त अङ्गीकार गर्नेछ ,’ मोदीले बताए।

अहिले भारतमा अर्बौँ डलर वैदेशिक भित्रिरहेको र यसले भारत उत्पादनको हबमा बदलिँदै गएको पनि उनले बताए। भारतको लामो लगानीको प्रतिफल स्वरुप सूचना प्रविधि९आईटी०, औषधी उत्पादन, अन्तरिक्ष विज्ञान र आणविक ऊर्जाको क्षेत्रमा विश्वमै अग्रणी मुलुक बनिसकेको छ।

तथापि विश्व बैकको वर्गीकरण अनुसार भारत अझै विश्वका न्यून मध्य आय अर्थतन्त्रमै रहेको छ। यो वर्गीकरणका मुलुकको प्रति व्यक्ति राष्ट्रिय आय १०८६ डलरदेखि ४२५५ डलरबीचमा हुन्छ। जबकि उच्च आययुक्त मुलुकमा पर्न उसको प्रतिव्यक्ति आय १३२०५ डलरभन्दा बढी हुनुपर्छ।

कुल ग्राहस्थ उत्पादनका हिसाबले भने भारत अहिले विश्वको छैटौँ ठूलो मुलुक हो र मार्च २०२३ मा अन्त्य हुने वर्तमान आर्थिक वर्षको वृद्धि दर ७ प्रतिशत हुने प्रक्षेपण छ, जुन ठूला अर्थतन्त्रहरुमध्ये सबैभन्दा धेरैमध्येमा पर्छ। केही विज्ञले भारतको अर्थतन्त्र सन् २०५० सम्ममा चीन र अमेरिकापछि तेस्रो हुने प्रक्षेपण गरेका छन् । त्यस स्थानमा पुग्न पुग्न उसले उभन्दा अघि रहेका जापान, जर्मनी र बेलायतलाई उछिन्नेछ।

कुल ग्राहस्थ उत्पादनका हिसाबमा तेस्रो स्थानमा पुगेपछि उसको प्रति व्यक्ति आय भने तुलनात्मक रूपमा कम नै रहने बताइन्छ। अमेरिकाले भारतलाई चीनको बढ्दो प्रभुत्वलाई चुनौती दिन सक्ने एसियाली शक्तिको रूपमा हेर्न थालिसकेको छ। अल–जजिरा

चर्चामा

सम्बन्धित समाचार