शुक्रबार, चैत्र १६, २०८०
  • होमपेज
  • देश
  • ‘प्याकेट खाना’ : खानै हुन्न ?

‘प्याकेट खाना’ : खानै हुन्न ?

  • शुक्रबार, साउन २०, २०७९
‘प्याकेट खाना’ : खानै हुन्न ?

काठमाडौं — तपाईं बजारमा एकसरो नजर लगाउनुहोस्, त्यहाँ ‘प्याकेट खाना’को भण्डार नै हुन्छ । कुरकुरे, चाउचाउ, बिस्कुट, दालमोठ, चकलेट, पाउरोटी, जुस, ससेस । कति हो कति ।

अब आफ्नो भान्सामा नजर दौडाउनुहोस्, बजारका यी खानेकुराले भान्सामा आफ्नो वर्चश्व जमाउँदैछ । यसको सोझो अर्थ के भने हाम्रा छोराछोरी वा हामी ‘प्याकेट बन्द’ खानेकुराको लतमा परिसकेका छौं ।

पोषणविद्हरु भन्छन्, ‘यी खानेकुरा स्वस्थ्यका लागि हानिकारक छन् । सकेसम्म खानै हुन्न ।’

यद्यपि यस्ता खानेकुरामा बकाइदा उल्लेख हुन्छ, ‘स्वास्थ्य र पोषणका लागि यो खानेकुरा उपयुक्त छन् ।’ जस्तो तपाईं चाउचाउ वा बिस्कुटको प्याकेटमा हेर्नुहोस्, त्यसमा कति मात्रा पोषण छ भनेर उल्लेख गरिएको हुन्छ ।

त्यति मात्र कहाँ हो र ? ती खानेकुरामा हानिकारक चिज छैन भनेर समेत दाबी गरिएको हुन्छ । उपभोक्तामाझ द्विविधा छ, कसको कुरा पत्याउने ?

‘खाद्यवस्तु जनस्वास्थ्यसँग जोडिएको गम्भीर विषय भएकाले खानलायककै भएर प्याकेटका खानेकुरा बजारमा आउँछन् । खाद्यवस्तुको गुणस्तरकै लागि भनेर मापदण्ड तोकिएको हो । मापदण्ड पूरा नगरी खाद्यवस्तु बिक्री वितरण नै गर्न पाइँदैन,’ प्रवक्ता महर्जन भन्छन् ।
मुटुको शत्रु प्याकेटका खानेकुरा

‘प्याकेटका खानेकुरामा ट्रान्स फ्याट र नुनका साथै अन्य रसायनको मात्रा बढी हुन्छ,’ पोषणविद् डा. सञ्जय महर्जन भन्छन्, ‘त्यसैले यी खानेकुरा फाइदाजनक छ भनेर दाबी गर्न सकिंदैन ।’ चिकित्सकका अनुसार ट्रान्स फ्याट एकदमै हानिकारक चिल्लो पदार्थ हो । मुटुरोग विशेषज्ञ डा. प्रकाशराज रेग्मी भन्छन्, ‘यस्तो चिल्लो मुटुको लागि हानिकारक हुन्छ ।’

कुनै पनि खानेकुरा कुरुम–कुरुम बनाउने काम यही ट्रान्स फ्याटले गर्छ । जिब्रोको लागि स्वादिलो भए पनि यो मुटुको लागि हानिकारक मानिन्छ । डा. रेग्मी भन्छन्, ‘कारखानामा उत्पादन गरिने औद्योगिक ट्रान्स फ्याट स्वास्थ्यका लागि अति हानिकारक हुन्छ ।’

बिस्कुट, चाउचाउ, कुरकुरे आदि बनाउन प्रयोग गरिने मैदा, नुन र तेलले ‘ट्रान्स फ्याट’ उत्पादन गर्ने पोषणविद् महर्जन बताउँछन् ।

कुनै पनि कच्चा पदार्थ वा प्राकृतिक खानेकुरालाई प्रशोधन गरेर प्याकेट खानेकुरा तयार गरिन्छ । यसरी प्रशोधन गर्ने क्रममा त्यसलाई स्वादिलो र टिकाउयुक्त बनाउन केही यस्ता रसायन मिसाइन्छ, जो स्वास्थ्यका लागि लाभदायक हुँदैनन् ।

‘प्याकेट बन्द खानेकुरा प्रशोधनका क्रममा त्यसको पोषक तत्व नष्ट हुँदै जान्छ,’ पोषणविद् महर्जन भन्छन्, ‘त्यसैले यी खानेकुरा पोषणका लागि वा स्वास्थ्यका लागि भनेर खानु भ्रम हो ।’ बेलामौकामा भोक मेट्न वा जिब्रोको स्वाद फेर्न यस्ता खानेकुरा खान सकिए पनि नियमित खानु उचित नहुने उनको तर्क छ ।

लामो समयको प्रशोधन, स्वादिलो बनाउनुपर्ने बाध्यता, लामो समयसम्म टिकाउनुपर्ने अवस्था आदिका कारण प्याकेट बन्द खानेकुरा अस्वस्थकर हुने बताइन्छ । खानेकुरालाई लामो समय टिकाउन, कुहिन नदिन विभिन्न रसायनको प्रयोग गरिएको हुन्छ ।

यसले खासगरी मधुमेह, उच्च रक्तचाप, मिर्गौला, कलेजोको रोग भएकालाई बढी असर गर्ने बताइन्छ ।

‘खान योग्य नै हो’

यसरी बजारमा आउने कुनै पनि खानेकुराको गुणस्तर नियन्त्रण सरकारले नै गर्छ । यी खानेकुरा योग्य भएको अवस्थामा मात्र बजारमा ल्याउन पाइने प्रावधान छ ।

खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका प्रवक्ता मोहनकृष्ण महर्जन भन्छन्, ‘खानयोग्य भएकाले नै बजारमा ल्याएका हुन् ।’ संसारभर फलफूलबाहेक धेरैजसो खानेकुरा प्याकेटमै प्याक गरेर ल्याउने गरिन्छ । खासगरी खाद्यवस्तुको सुरक्षा र दीर्घकालीन प्रयोजनका लागि प्याकेजिङ गर्नुपरेको महर्जनको भनाइ छ ।

‘प्याकेटका खानेकुरामा प्राकृतिक र ताजा खाद्यवस्तुमा जस्तो पौष्टिक तत्व नपाइने भए पनि खानलायकका हुँदैनन् भन्ने होइन,’ प्र्रवत्ता महर्जन भन्छन्, ‘सरकार तथा नियमनकारी निकायले जनस्वास्थ्यमाथि खेलबाड गर्दैन ।’

विज्ञान तथा प्रविधिको विकासले अहिले खाद्यवस्तु क्याप्सुलमा समेत आउन थालेकाले प्याकेटका खानेकुरा स्वास्थ्यका दृष्टिकोणले हानिकारक नै हुन्छन् भन्ने नभएको उनको तर्क छ । तर प्रशोधनका क्रममा त्यस्ता खानेकुराको कतिपय पौष्टिक तत्व नष्ट हुने कुरालाई भने उनी स्वीकार्छन् ।

उत्पादन र म्याद गुज्रने मिति

प्याकेटका खानेकुराको उत्पादन मिति र म्याद गुज्रने मिति लेख्ने अधिकार उत्पादक कम्पनीको हो । प्रयोग गरिसक्ने अवधिभर खाद्यवस्तुको प्रयोग गर्दा सेवाग्राहीको स्वास्थ्यमा परेको असरको सम्पूर्ण जिम्मेवारी समेत कम्पनीले नै बहन गर्नुपर्छ ।

‘खाद्यवस्तुको प्रयोग त्यसको उत्पादन मिति, अवधि, प्रशोधन, प्याकिङ र गुणस्तरमा भर पर्छ,’ महर्जन भन्छन्, ‘खाद्यवस्तुको गुणस्तरमा शंका लागेमा विभागले निरीक्षण तथा अनुगमन गर्ने काम गर्छ ।’

खाद्यवस्तु उत्पादनकर्ताले उत्पादनको नाम, ठेगाना, त्यसमा उल्लेख गरिएका तत्व, बनेको मिति, प्रयोग गरिसक्ने मिति, लट नम्बर र परिणाम पनि उल्लेख गर्नुपर्ने उनी बताउँछन् ।

‘सरकार तथा विभागले हरेक खाद्यवस्तुको गुणस्तर र मापदण्ड तोकेको छ । विभागले खाद्यवस्तु गुणस्तरयुक्त र मापदण्डअनुरुप भए नभएको निरीक्षण तथा बजार अनुगमन गर्ने काम गर्छ । मापदण्डअनुसार नभए खाद्य ऐन अनुसार विभागले कारबाही गर्छ,’ महर्जन भन्छन् ।

‘खाद्यवस्तु जनस्वास्थ्यसँग जोडिएको गम्भीर विषय भएकाले खानलायककै भएर प्याकेटका खानेकुरा बजारमा आउँछन् । खाद्यवस्तुको गुणस्तरकै लागि भनेर मापदण्ड तोकिएको हो । मापदण्ड पूरा नगरी खाद्यवस्तु बिक्री वितरण नै गर्न पाइँदैन,’ प्रवक्ता महर्जन भन्छन् ।

पोषणविद् अनुश्री आचार्य प्याकेटका खानेकुरा खानै नहुने नभए पनि आफ्नो उमेर, तौल र स्वास्थ्य अवस्था हेरे खानुपर्ने बताउँछिन् । ‘तर नेपाली अभिभावकमा स्वास्थ्य जनचेतनाको स्तर कमजोर भएकाले बालबालिका तथा प्याकेट खाना प्रयोगकर्ताले स्वास्थ्यबारे ध्यान नै दिंदैनन्,’ आचार्य भन्छिन् ।

पहिले पहिले लामो दूरीको यात्रा गर्दा, दूरदराजमा जानुपर्दा प्याकेट खाना बोक्ने चलन भए पनि अहिले दैनिक जीवनकै हिस्सा बन्दै गएको उनी बताउँछिन् । प्याकेटका खाना दैनिकी बन्दा त्यसमा भएको ट्रान्स फ्याट, नुनको मात्रा र केमिकलले स्वास्थ्यमा समस्या आउने उनी बताउँछिन् ।

प्याकेटका खानामा बालबालिकालाई आकर्षित गर्न रंग र स्वादका लागि विभिन्न रसायन प्रयोग गरेका कारण बालबालिकाको घरमा पाकेको खानाप्रति रुचि घट्दै जाने र त्यसले भविष्यमा तनाव सिर्जना गर्ने आचार्य बताउँछिन् ।अनलाइनखबरबाट ।

चर्चामा

सम्बन्धित समाचार