शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • अन्तर्राष्ट्रिय
  • युक्रेनको आणविक ऊर्जा केन्द्र नियन्त्रण बाहिर

युक्रेनको आणविक ऊर्जा केन्द्र नियन्त्रण बाहिर

  • बिहिबार, साउन १९, २०७९
युक्रेनको आणविक ऊर्जा केन्द्र नियन्त्रण बाहिर

एजेन्सी — संयुक्त राष्ट्रसंघका एक उच्च अधिकारीले युक्रेनस्थित युरोपको सबैभन्दा ठूलो आणविक उर्जा केन्द्र पूर्णरूपमा नियन्त्रण बाहिर रहेको बताएका छन्। उनले आणविक दुर्घटना रोक्न तत्काल विज्ञलाई केन्द्रको वस्तुस्थिति आकलनका निम्ति भ्रमणको अनुमति दिन युक्रेन र रुसलाई अनुरोध गरेका छन्।

अन्तर्राष्ट्रिय आणविक ऊर्जा एजेन्सीका महानिर्देशक राफेल ग्रोसीले एसोसिएटेड प्रेससँगको अन्तर्वार्तामा रूसी सेनाले गत मार्चको शुरुमा कब्जा गरेको दक्षिणपूर्वी सहर एनरहोदरको जापोरिझ्झ्या आणविक केन्द्रको अवस्था दिनप्रतिदिन जोखिमपूर्ण हुँदै गइरहेको बताए।

उक्त केन्द्रमा आणविक सुरक्षाका हरेक सिद्धान्त उल्लङ्घन गरिएका बताउँदै उनले त्यसले अत्यन्त गम्भीर र खतरनाक परिस्थिति निम्त्याउन सक्ने चेतावनी दिए। उनले केन्द्र नजिकको रुस नियन्त्रित क्षेत्रमा चर्केको भीषण युद्धले आणविक केन्द्रको सुरक्षा जोखिममा परेको बताए।

केन्द्रका उपकरण र पार्ट पुर्जाको आपूर्ति शृङ्खला अवरूद्ध भएकाले त्यहाँ रहेका आणविक सामग्री सुरक्षित रहे नरहेको यकिन गर्न निरीक्षण विज्ञद्वारा निरीक्षण अत्यावश्यक भएको उनले बताए। चेर्नोविल दुर्घटनाजस्तो नहोस् भनेर बेलैमा सचेत हुन अति जरूरी भएकामा उनले जोड दिए।

आणविक दुर्घटना हुनबाट रोक्न जापोरिज्ज्या केन्द्रको निरीक्षण आवश्यक भएको ग्रोसीको कथन छ। केन्द्रमा पुग्न आफू, आफ्नो टोलीलाई सुरक्षालगायत अन्य आवश्यक व्यवस्था गर्न उनले रुस र युक्रेनलाई अपिल पनि गरेका छन्।

चर्चामा

सम्बन्धित समाचार