• होमपेज
  • अन्तर्राष्ट्रिय
  • रुस–युक्रेन सम्झौता अन्तर्गत अन्न बोकेको पहिलो जहाज बन्दरगाहबाट निस्कियो

रुस–युक्रेन सम्झौता अन्तर्गत अन्न बोकेको पहिलो जहाज बन्दरगाहबाट निस्कियो

  • बुधबार, साउन १८, २०७९
रुस–युक्रेन सम्झौता अन्तर्गत अन्न बोकेको पहिलो जहाज बन्दरगाहबाट निस्कियो

एजेन्सी — रुससँग भएको महत्वपूर्ण सम्झौता अन्तर्गत युक्रेनबाट अन्न बोकेको पहिलो जहाज निस्किएको छ। टर्की र युक्रेनी अधिकारीहरूका अनुसार सोमबार बिहान ओडेसाको दक्षिणी बन्दरगाहबाट जहाजले यात्रा सुरु गरेको थियो।

रुसले फेब्रुअरीदेखि युक्रेनी बन्दरगाहहरू अवरुद्ध गर्दै आएको थियो। तर दुवै पक्षले केही दिनअघि ढुवानी पुनः सुरु गर्ने सम्झौता गरे। यो सम्झौताले विश्वव्यापी खाद्य संकटलाई कम गर्ने र अन्नको मूल्य घटाउने आशा गरिएको छ। टर्कीका अनुसार सिएरा लियोनको झण्डा रहेको ‘रजोनी’ नामक जहाज लेबनानको त्रिपोली बन्दरगाहमा रोकिएको र आगामी हप्ता थप ढुवानी गरिने योजना रहेको बताए।

सम्झौता अनुरुप इस्तानबुलमा स्थापना गरिएको संयुक्त समन्वय केन्द्रले जहाजले करिब २६,००० टन मकै बोकेको बताएको छ। गत महिना संयुक्त राष्ट्र संघ र टर्कीको मध्यस्थता दुई देशबीच महत्वपूर्ण सम्झौतामा पुगेका थिए। यस सम्झौतामा पुग्न दुई महिनासम्म वार्ता चलेको थियो र यो १२० दिन लागु हुनेछ।

दुवै पक्ष सहमत भएमा सम्झौता नवीकरण गर्न सकिन्छ। संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेर्रेसले जहाज युक्रेनी बन्दरगाहबाट प्रस्थान गरेको घटनालाई स्वागत गर्दै सम्झौता कार्यान्वयनमा काम गर्न टर्कीको भूमिकाको प्रशंसा गरेका छन्। युक्रेनको अन्नको नाकाबन्दीले गहुँमा आधारित उत्पादनहरू महँगो हुँदै गएको थियो। साथमा खाना पकाउने तेल र मलको मूल्यमा वृद्धिसँगै विश्वव्यापी खाद्य संकट उत्पन्न हुने स्थिति आएको छ।

रुस र युक्रेनले संयुक्त रूपमा विश्वव्यापी गहुँ आपूर्तिको लगभग एक तिहाइ उत्पादन गर्दछ। सन् २०१९ मा युक्रेनी आपूर्तिले विश्वको मकै आपूर्तिको १६ प्रतिशत र सूर्यमुखी तेलको आपूर्तिको ४२ प्रतिशत हिस्सा ओगट्ने गरेको संयुक्त राष्ट्रको तथ्याङ्क अनुसार बताउँछ।

युक्रेनका विदेशमन्त्री दिमिट्रो कुलेबाले ढुवानीलाई ‘विश्वका लागि राहत’को संज्ञा दिए। साथै उनले मस्कोलाई ‘सम्झौता अन्तरगत उसले पालना गर्नुपर्ने पाटो’को सम्मान गर्न आग्रह गरे। क्रेमलिनका प्रवक्ता दिमित्री पेस्कोभले मस्कोमा पत्रकारहरूसँगको कुराकानीमा युक्रेनी बन्दरगाहबाट जहाज प्रस्थान हुनु ‘एकदम सकारात्मक’ घटना भएको बताए।

अन्तर्राष्ट्रिय नेताहरूले ढुवानीलाई सावधानीपूर्वक स्वागत गरेका छन्। बेलायतका विदेश मन्त्री लिज ट्रसले यसलाई ‘एक महत्त्वपूर्ण पहिलो कदम’को संज्ञा दिएका छन्। तर ईयूका प्रवक्ता पिटर स्टानोले भने कि रूसले विश्वभर युक्रेनी निर्यात पुनः सुचारु गर्न सघाउनुपर्ने कुरामा जोड दिइन्।

चर्चामा

सम्बन्धित समाचार