काठमाडौं — धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङको कार्यकक्षमा तोडफोड भएको छ। धरानको बराह सहकारीका बचतकर्ताको करिब ८ अर्ब रकम सोही सहकारीले हिनामिना गरेको भन्दै आन्दोलित निक्षेपकर्ताको भिडले आइतबार कार्यकक्षमा तोडफोड गरेका हुन्।
घटनाको भिडियो सामाजिक सञ्जालमा राख्दै मेयर साम्पाङले आफू पीडितको पक्षमा उभिँदा र छानबिन प्रक्रिया अघि बढाउन खोज्दा कार्यकक्षमा तोडफोड भएको जनाएका छन्। उनले तोडफोड गर्नेमाथि कानुनी कारबाही गर्ने चेतावनी दिएका छन्।