बिहिबार, चैत्र १५, २०८०
  • होमपेज
  • समाचार
  • अत्याचार रोक्न भन्दै २२ वर्षदेखि नुहाएका छैनन् यी वृद्धले

अत्याचार रोक्न भन्दै २२ वर्षदेखि नुहाएका छैनन् यी वृद्धले

  • आइतवार, साउन १५, २०७९
अत्याचार रोक्न भन्दै २२ वर्षदेखि नुहाएका छैनन् यी वृद्धले

काठमाडौं — अहिले मानिसहरु आफ्नो स्वास्थ्यप्रति निकै सचेत छन् । अझ कोरोना महामारीले मानिसहरुलाई झनै चनाखो बनाइदिएको छ । स्वस्थ रहनका लागि आफ्नो घर तथा शरीरको सफाइ अनिवार्य हुन्छ । तर एकजना यस्ता व्यक्ति छन् जसले २२ वर्षसम्म नुहाएका छैनन् । दुई दशकभन्दा बढी समयसम्म ननुहाइकन घुमफिर गर्नेमात्र होइन उनले जिउमा पानीको एक थोपा पनि हालेका छैनन् ।

छिमेकी मुलुक भारतको बिहारमा बस्ने धर्मदेव नामका ती वृद्ध यति धेरै जिद्दी छन् कि पत्नी र छोराहरुको मृत्यु हुँदा तथा जिउ फोहोर भएकै कारण जागिर गुमाउँदा समेत उनले नुहाएनन् । ननुहाएका कारण शरीर फोहोर भएर गन्हाएपछि उनलाई जागिरबाट निकालिएको थियो ।

धर्मदेवले कुनै मानसिक वा शारीरिक समस्या भएर ननुहाएका होइनन् । उनले एउटा प्रतिज्ञा लिएका छन् जबसम्म देशबाट अत्याचार, जमीन विवाद तथा जीव हत्या समाप्त हुँदैन तबसम्म आफूले स्नान नगर्ने उनको बाचा छ ।

बिहारको गोपालगञ्जमा बस्ने धर्मदेव वास्तवमै ज्याद्रो मानिस हुन् । धर्मदेवकी पत्नीको सन् २००३ मा मृत्यु भएको थियो । हिन्दू संस्कार अनुसार घरपरिवारका सदस्यको मृत्युपछि नुहाएर शुद्ध हुने तथा किरिया बस्ने चलन हुन्छ । तर धेरै सम्झाइबुझाई गर्दा समेत धर्मदेवले शरीरमा पानीको छिटा समेत हालेनन् ।

त्यसपछि उनका दुईजना छोराको मृत्यु भयो । त्यसबेला पनि उनले नुहाएनन् ।

दृढ प्रतिज्ञ धर्मदेव रामभक्त पनि हुन् । आफ्नो जीवनको अन्तिम समयसम्म आफ्नो बचन तथा कर्ममा समर्पित हुनका लागि उनी दृढ संकल्पित छन् ।

धर्मदेवले कलकत्तामा एक जुट कारखानामा काम गर्दथे । लामो समयदेखि ननुहाएका कारणले उनको शरीरबाट दुर्गन्ध आउन थालेपछि उनलाई जागिरबाट निकालिएको थियो ।

२२ वर्षसम्म ननुहाएर शरीर डुंगडुंगती गन्हाउने भैसक्दा समेत धर्मदेव अहिलेसम्म एकपटक पनि बिरामी परेका छैनन् । उनको त्यस्तो जिद्दीलाई गाउँलेहरुले मानसिक विरामी समेत भन्ने गरेका छन् । तर धर्मदेवलाई कुनै मतलब छैन । देशमा अत्याचार, जमीन विवाद तथा जीव हत्या नरोकिएसम्म आफूले ननुहाउने कुरामा उनी अडिग छन् । –एजेन्सी

चर्चामा

सम्बन्धित समाचार