धनगढी — राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले अर्थमन्त्रालयको डिलिट भएको भनिएको सिसिटिभी फुटेज एक घण्टामै रिकभर हुने दाबी गरेका छन्।
शनिबार धनगढीमा पार्टीको प्रदेश भेलालाई सम्बोधन गर्दै लामिछानेले यस्तो दाबी गरेका हुन्। ‘चुनौतीका साथ भन्छु, मलाई एक घण्टाका लागि अर्थमन्त्रालयको कम्प्युटरको हार्डडिस्क दिइयोस्।’, उनले भने, ‘कस्तो कलरमा चाहिन्छ ? एचडीमा चाहियो कि फोरके ? रिकभर गरेर सर्वसाधारणलाई देखाउन सकिनँ भने भन्नुहोला।’ अर्थ मन्त्रालयको सिसिटिभी फुटेज रिकभर हुन नसकेपछि तत्कालीन अर्थमन्त्री जनार्दन शर्मालाई शुक्रबार बजेटमा करका दर हेरफेर प्रकरणमा संसदीय छानबिन समितिले सफाइ दिएको थियो।
लामिछानेले प्रमुख प्रतिपक्षी एमालेले एम अधिकारीसँग सिसिटिभी फुटेज हराएको विषय साटेको आरोप पनि लगाए। एमालेको अर्थ तथा योजना विभागको सदस्यमा रहेका एम अधिकारी राष्ट्र बैंकका गभर्नर रहेको भन्दै कांग्रेस र माओवादीले उनको राजीनामा मागेका थिए। तर अहिले यो विषय पनि सेलाएको छ।