• होमपेज
  • समाचार
  • बझाङमा ग्रामीण सडकको बेहाल:वर्षा सुरु भएसँगै अधिकांश कच्ची सडकमा जोखिम यात्रा

बझाङमा ग्रामीण सडकको बेहाल:वर्षा सुरु भएसँगै अधिकांश कच्ची सडकमा जोखिम यात्रा

  • बिहिबार, साउन ५, २०७९
बझाङमा ग्रामीण सडकको बेहाल:वर्षा सुरु भएसँगै अधिकांश कच्ची सडकमा जोखिम यात्रा

अर्थ जङ शाही/बझाङ — वर्षा शुरु भएदेखि जिल्लाको ग्रामीण क्षेत्रमा जाने सडक हिलाम्मे बनेको छ ।

सदरमुकाम देखि जिल्लाका विभिन्न गाउँ जाने सडकको अवस्था अहिले बिजोग छ । ग्रामीण क्षेत्रका कच्ची सडक, त्यसमाथि पानीले हिल्लामे बाटोको यात्रा जोखिमपूर्ण बनेको छ । वर्षातका कारण कच्ची सडकहरु ठाउँ–ठाउँमा भत्किनुका साथै खाल्टाखुल्टीले हिलाम्मे भएपछि यात्रुहरुले गाडी धकल्दै लैजानु पर्ने बाध्यता छ । भत्किएका र हिलाम्मे सडकमा जोखिम मोलेर भए पनि यातायातका साधन सञ्चालन गर्नुपर्ने र यात्रुहरुलाई पैदल नै यात्रा गर्नुपर्ने बाध्यता रहेको छ ।

सडकको अवस्था हेर्दा खेतमा रोपाई गर्न गएको जस्तो देखिन्छ । यात्राको करीब आधा समय गाडी धकल्दैमा बिताउँछन् यात्रुहरु । अर्थात् यात्रुलाई गाडीले होइन की यात्रुले गाडीलाई धकेलेरै भएपनि गन्तव्यसम्म पुर्‍याउँछन् । जोखिम मौल्दै भएपनि गन्तव्यतर्फ पुग्नुपर्ने अवस्था रहेको सवारी चालकहरु बताउँछन् । गन्तव्यमा पुग्नलाई कहिले बिग्रिएको बाटो सम्याउँदै, कहिले गाडी धकाल्दै पुग्नुपर्ने बाध्यता रहेको यात्रुहरुको भनाइ छ । पानी परेपछि न सवारी साधन चल्छ न मान्छे नै हिड्न सकिन्छ । अरु समयमा तीन-चार घण्टामा पुग्न सकिने बाटोमा दिनभरीको कष्टकर यात्रा गर्नुपरेको यात्रुहरुको भनाइ छ ।

भत्केका कारण यहाँको सवारी यात्रा जोखिम पूर्ण हुने गरेको छ । हिलाम्मे सडकमा यात्रुहरुले ठुलै जोखिम मोलेर यात्रा गर्नु परिरहेको बझाङ जयपृथ्वी नगरपालिका – १ का उमेश शाहीले बडिमालिका खबरलाई बताए ।

उनले भने, “यात्रा गर्दा निकै जोखिम मोल्नु परेको छ, ठुल्ठुला दुर्घटना भईसकेका छन्, भगवानको नाम लिदै यात्रा गर्न बाध्य छौ ।” हिलाम्मे तथा बिग्रेकै सडकमा यात्रा गर्दा दजर्नौले अकालमै ज्यान गुमाई सक्दा समेत सडकको स्तरोन्नती नभएको भन्दै स्थानियवासी आक्रोशित हुन थालेका छन् ।

जिल्लामा निर्माण गरिएका अधिकांश ग्रामीण सडक मापदण्ड विपरित निर्माण भएका छन् । यस कारण पनि हल्का वर्षासंगै बिग्रने गरेका छन् । ग्रामीण सडकमा पर्याप्त यातायातका साधन सञ्चालन नहुँदा यहाँ उत्पादन हुने फलफूल तथा तरकारी र अन्य कृषिजन्य वस्तु पनि बजारसम्म ल्याउन नसक्दा किसान मर्कामा परेका छन् । बजारसम्म लैजाने साधन नहुँदा किसानले फलाएका साग तरकारी बारीमै कुहिन थालेका छन् ।

चर्चामा

सम्बन्धित समाचार