• होमपेज
  • समाचार
  • हाजिरीको विषयमा विवाद भएपछि एन्फा बैठक स्थगित

हाजिरीको विषयमा विवाद भएपछि एन्फा बैठक स्थगित

  • बिहिबार, साउन ५, २०७९
हाजिरीको विषयमा विवाद भएपछि एन्फा बैठक स्थगित

काठमाडौं — हाजिरीको विषयमा विवाद भएपछि अखिल नेपाल फुटबल संघ (एन्फा) कार्यसमितिको बैठक कार्यसूचीमा प्रवेश नगरी स्थगित भएको छ ।

बैठकको सुरुआतमै अध्यक्ष पंकज नेम्वाङले हाजिरी गर्नुपर्ने बताएका थिए । तर, गणेश थापा पक्षका पदाधिकारी र सदस्यहरुले बैठक सकिएपछि मात्रै हाजिर गर्ने अडान लिएपछि अध्यक्षले बैठक स्थगित गरेको एक सदस्यले जानकारी दिएका छन् ।

बैठक सुरु हुनुअघि देखि नै गणेश थापापक्षका उपाध्यक्ष दीपक खतिवडाले अघिल्लो कार्यसमितिको निर्णय सच्याउन माग गर्दै सदस्यहरुको हस्ताक्षर अभियान सन्चालन गरेका थिए ।

६ असारमा भएको निर्वाचनपछि बसेको कार्यसमितिको पहिलो बैठकले एन्फा महासचिवमा किरण राई, कोषाध्यक्षमा रविन्द्रमान जोशी र विदेश विभाग प्रमुखमा नवीन पाँडेलाई नियुक्ति गरिएको थियो ।

नियुक्तिको माइन्युटमा हस्ताक्षर गरेका गणेश थापा पक्षले भोलिपल्टैदेखि प्रक्रियामा प्रश्न उठाउन थालेका थिए ।

एन्फा कार्यसमितिको यो बैठकमा १८ वटा एजेण्डा थिए । महिला साफ च्याम्पियनसिप आयोजनाका लागि निर्णय गर्न अत्यावश्यक हुँदा बैठक स्थगित गरिएको छ । यसअघि सोमबार बोलाइएको बैठक अध्यक्ष नेम्वाङ अस्वस्थ भएपछि स्थगित गरिएको थियो ।

चर्चामा

सम्बन्धित समाचार