शुक्रबार, कार्तिक ३०, २०८१
  • होमपेज
  • देश
  • बैदेशिक रोजगारीमा जाने ६४ प्रतिशत नेपाली कामदार स्वदेशमै ठगिन्छन्

बैदेशिक रोजगारीमा जाने ६४ प्रतिशत नेपाली कामदार स्वदेशमै ठगिन्छन्

  • आइतवार, असार २६, २०७९
बैदेशिक रोजगारीमा जाने ६४ प्रतिशत नेपाली कामदार स्वदेशमै ठगिन्छन्

वैदेशिक रोजगारीमा जाने नेपाली कामदार सबैभन्दा बढी आफ्नै देशमा ठगिने गरेका छन् । पिपुल फोरमले गरेको एक अध्ययनअनुसार गन्तव्य मुलुक प्रस्थान गर्नुअगावै कामदार स्वदेशमै ठगिने गरेको देखिएको हो ।

अध्ययनअनुसार स्वदेशमै पीडित हुने नेपाली कामदारको हिस्सा रहेको छ । अध्ययनले आफ्नै नागरिक ठगी गर्ने मुलुकमा नेपाल पहिलो बनेको छ । नेपालमा युवा वैदेशिक रोजगारी जान्छु भनेर सोचेदेखि नै ठगिन सुरुवात हुने अध्ययनमा सहभागी एक सदस्य तथा अधिवक्ता सुदीप देवकोटाले बताए ।

‘कुनै युवा विदेश जाने भनेपछि सामान्य व्यक्तिले पनि ठग्छ, जस्तै : टेम्पोचालक, चिया पसले, फोटोकपी पसले, ऋण दिने साहु,’ उनले भने, ‘यस्ता तहबाट माथि उठेपछि स्थानीय दलाल, केन्द्रको दलाल, म्यानपावर कम्पनी, स्वास्थ्य परीक्षण, हवाई टिकट, गन्तव्य मुलुकको एजेन्टदेखि रोजगारदाताले पनि ठग्छ । तर, सबैभन्दा बढी आफ्नै मुलुकमा ठगिन्छ । विदेश जान लागेको भन्नेबित्तिकै यो व्यक्तिसँग जति पनि पैसा छ, विदेश पुगेपछि जति पनि कमाउँछ, यसलाई पैसाको मतलब छैन भन्ने खालको आममानिसको माइन्ड सेट छ ।’

अध्ययनमा नेपालबाट वैदेशिक रोजगारीमा जाने खाडी तथा अन्य मुख्य मुलुकका तीन हजारभन्दा बढी कामदारलाई समेटिएको उनले जानकारी दिए । नेपाली कामदार पीडित हुने दोस्रो मुलुक साउदी अरब हो । सो मुलुकमा रहेका १५.४५ प्रतिशत नेपाली कामदार पीडित रहेको उनीहरूले बताएका छन् । तेस्रोमा मुलुकमा दुबई परेको छ । दुबईमा पीडित हुनेको हिस्सा १०.४५ प्रतिशत छ । कतारमा भने ३.१५ प्रतिशत नेपाली कामदार पीडित छन् भने मलेसियामा २.५२, जोर्डनमा ०.९१, कुवेतमा १.४३ र अन्य मुलुकको हिस्सा ३.२५ प्रतिशत रहेको अध्ययनले देखाएको छ ।

पारिश्रमिक र सेवा–सुविधाकै मुद्दा बढी
वैदेशिक रोजगारीमा जाने नेपाली कामदारमध्ये अधिकांशले गन्तव्य मुलुकमा पुगेपछि सम्झौताअनुसारको पारिश्रमिक र सेवा–सुविधा नपाएको गुनासो आउने गरेको अध्ययनले देखाएको छ । फोरमको अध्ययनले नेपाली कामदारले दिएका उजुरीमध्ये पारिश्रमिक र सेवा–सुविधा सम्बन्धमा रहेको जनाएको छ । यस्तो समस्याको उजुरीको हिस्सा ५९.२८ प्रतिशत रहेको फोरमको अध्ययनमा उल्लेख छ । यसअघि जिफन्टले नेपाली कामदारमा गरेको अध्ययनले समेत नेपाली कामदारले सम्झौताअनुसारको पारिश्रमिक नपाएको देखाएको थियो ।

त्यस्तै, गन्तव्य मुलुकमा विभिन्न समस्या भएर उद्धार गरिदिन भन्दै उजुरी गर्नेको हिस्सा भने १५.८४ प्रतिशत रहेको छ । अध्ययनमा सहभागी फोरमका अधिवक्ता सुदीप देवकोटाका अनुसार गन्तव्य मुलुकमा बस्न सक्ने अवस्था नभएपछि अन्तिम विकल्पका रूपमा उद्धार गरिदिनु भनी उजुरी आइपुग्छ । त्यस्तै, आर्थिक सहायताको उजुरी गर्नेको हिस्सा ६.१६ प्रतिशत रहेको छ । बेखर्ची भई स्वदेश फर्कन नपाएपछि नेपाली कामदारले आर्थिक सहायताको गुनासो गर्ने अधिवक्ता देवकोटाले बताए ।

पासपोर्ट रोजगारदाताले जफत गरिदियो भन्ने उजुरी आउने हिस्सा ३.६४ छ । आफू ठगिएको उजुरी दिने नेपाली कामदारको हिस्सा भने १३.२७ रहेको छ । गन्तव्य मुलुकमा अन्य मुलुकका कामदारबाट पनि नेपाली कामदार ठगिन्छन् । यस्तो खालको उजुरी पनि आइपुग्ने फोरमको अध्ययनले देखाएको छ । अन्य समस्यासहित उजुरी गर्ने हिस्सा १.८ प्रतिशत रहेको छ ।

म्यानपावरबाट जाने नेपाली कामदार बढी ठगिए
वैदेशिक रोजगारीमा व्यक्तिगतभन्दा पनि म्यानपावरबाट जाने कामदार बढी ठगिएको पाइएको छ । फोरमको अध्ययनले करिब ५२ प्रतिशत नेपाली कामदार म्यानपावरबाट नै ठगिन्छन् । नेपालबाट व्यक्तिगत वा संस्थागत गरी नेपाली कामदार वैदेशिक रोजगारीमा जाने गरेका छन् ।

संस्थागत अर्थात् नेपाल सरकारबाट लाइसेन्स लिएर वैधानिक रूपमा सञ्चालन भएका म्यानपावर कम्पनी हुन् । जसले निश्चित शुल्क लिएर कामदार वैदेशिक रोजगारीमा पठाउँछन् । दोस्रो भनेको व्यक्तिगत रूपमा जाने कामदार । चिनजानका आधारमा विदेशबाट भिसा लागेपछि नेपालबाट श्रम स्वीकृति लिएरसमेत जान सकिन्छ । यसरी व्यक्तिगतभन्दा पनि संस्थागत रूपमा वैदेशिक रोजगारीमा जाने कामदार ठगिने फोरमले जनाएको छ ।

जातिका आधारमा भने ब्राह्मण र क्षत्री बढी ठगिएको फोरमको अध्ययनमा उल्लेख छ । नेपालमा यिनै जातिको संख्या अधिक हुनु र वैदेशिक रोजगारीमा जाने कामदारमा ब्राह्मण–क्षत्रीको संख्या अधिक हुनुले पनि स्वाभाविक रूपमा यो जातिको कामदार बढी ठगिएको देखिने अधिवक्ता देवकोटाको अनुमान छ । अध्ययनले ३५.९५ प्रतिशत ब्राह्मण र क्षत्री ठगिएको देखाएको छ । त्यस्तै, ठगिने दोस्रो जातमा जनजाति परेको छ । यो जातिको हिस्सा ३६.४८ प्रतिशत छ । मधेसीको १८.१८, दलितको ८ र ठकुरीलगायत अन्यको १.३९ प्रतिशत रहेको अध्ययनले देखाएको छ ।

विभिन्न कारणले ठगिएका कामदार आफैँ सचेत नहुँदा न्याय दिलाउन समस्या हुने फोरमले जनाएको छ । पीडित कामदारले विभाग तथा न्यायाधिकरणमा मुद्दा दर्ता त गर्छ । तर, सम्पर्क नम्बर परिवर्तन गरिदिने, पुनः विदेश जाने गर्दा सम्पर्कको अभावमा मुद्दा अगाडि बढाउन नसकिने अधिवक्ता देवकोटाको अनुभव छ ।

त्यस्तै, अधिकांश पीडित कामदारहरू उजुरी दिएलगत्तै क्षतिपूर्ति पाइने आशा राख्छन् । तर, सधैँ यस्तो हुँदैन । प्रक्रिया लामो हुँदा पीडित नै निराश हुने, झन्झटिलो मान्ने हुँदा पनि कहिलेकाहीँ न्याय दिलाउन असहज हुने उनले बताए ।

साथै, पछिल्लो समयमा रोजगारीमा जाने कामदार एउटा, पैसा बुझाउने व्यक्ति एउटा हुन्छ भने सो पैसा असुल गर्ने उपल्लो तहको व्यक्ति फरक हुन्छ । जसका कारण वास्तविक पीडकसम्म पुग्न नसकिने अध्ययनले देखाएको छ । साथै, व्यक्तिगत ठगीका मुद्दाहरूमा पीडक पक्राउ पर्न नसक्ने र पीडितसँग पर्याप्त मात्रामा प्रमाण नहुनाले पनि न्यायमा ढिलाइ हुने अध्ययनमा उल्लेख छ ।

विदेश जाने भनेपछि सामान्य व्यक्तिले पनि ठग्छ : सुदीप देवकोटा, अधिवक्ता

कुनै युवा विदेश जाने भनेपछि सामान्य व्यक्तिले पनि ठग्छ, जस्तै : टेम्पोचालक, चिया पसले, फोटोकपी पसले, ऋण दिने साहुबाट पहिलो चरणमा ठगिन्छ ।

यस्ता तहबाट माथि उठेपछि स्थानीय दलाल, केन्द्रको दलाल, म्यानपावर कम्पनी, स्वास्थ्य परीक्षण, हवाई टिकट, गन्तव्य मुलुकको एजेन्टदेखि रोजगारदाताले पनि ठग्छ ।

तर, सबैभन्दा बढी आफ्नै मुलुकमा ठगिन्छ । विदेश जान लागेको भन्नेबित्तिकै यो व्यक्तिसँग जति पनि पैसा छ, विदेश पुगेपछि जति पनि कमाउँछ, यसलाई पैसाको मतलब छैन भन्ने खालको आममानिसको माइन्ड सेट छ ।नयाँपत्रिकाबाट साभार । 

चर्चामा

सम्बन्धित समाचार