• होमपेज
  • समाचार
  • नेपाली नागरिकसँग विवाह गर्ने विदेशीहरुलाई कृत्रिम नागरिकता दिनुपर्छः प्रेम सुवाल

नेपाली नागरिकसँग विवाह गर्ने विदेशीहरुलाई कृत्रिम नागरिकता दिनुपर्छः प्रेम सुवाल

  • शुक्रबार, असार २४, २०७९
नेपाली नागरिकसँग विवाह गर्ने विदेशीहरुलाई कृत्रिम नागरिकता दिनुपर्छः प्रेम सुवाल

नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले नेपाली नागरिकसँग विवाह गर्ने विदेशीहरुलाई कृत्रिम नागरिकता दिनुपर्ने बताएका छन् । शुक्रवारको प्रतिनिधि सभा बैठकमा बोल्दै सांसद सुवालले नेपालीसँग विवाह गर्ने विदेशी महिला अथवा पुरुषलाई २० वर्षपछि कृत्रिम नागरिकता दिनुपर्ने बताएका हुन् । उनले कृत्रिम नागरिकता लिनको लागि पनि नेपालको संस्कृति बारेमा लिखित परीक्षा उत्तीर्ण हुनुपर्ने व्यवस्था गर्नुपर्ने बताए ।

उनले नेपालको नागरिकता सम्बन्धी समस्या समाधान गर्न खुला सीमालाई बन्द गर्नुपर्ने बताए । सांसद सुवालले नेपालको भूराजनीतिक अवस्था अनुसार नेपालीले विदेशीसँग विवाह गर्नु नहुने बताए । उनले भने, ‘सबै नेपालीले नेपाली नागरिकताको प्रमाणपत्र पाउनुपर्छ । यसको अर्थ नागरिकताको प्रमाणपत्र बसको टिकट र सिनेमाको टिकट जस्तै बाँड्ने होइन । नेपालको नागरिकता समस्या समाधान गर्न खुला सीमा बन्द गर्नैपर्छ । यो सबै नेपाली जनतालाई थाहा भएको कुरा हो । भर्खरै नेपाली सेनाले पनि खुला सीमा बन्द गर्नुपर्ने विषय उठाएको छ । आकाशको सीमा पनि अध्ययन गर्नुपर्छ भनेर नेपाली सेनाले उठाएको छ । नेपाली सेनाको भनाई अनुसार असल छिमेकीको सम्बन्ध बलियो बनाउन खुला सीमा बन्द गर्नुपर्छ । यो सबै नेपालीले उठाउँदै आएको कुरा हो । खुला सीमा बन्द गर्नका लागि जम्मा ४७ अर्ब रुपैयाँ लाग्ने रहेछ । आमा र बुबा दुवै वंशजका नेपाली नागरिकका छोराछोरीलाई मात्र वंशजको नेपाली नागरिकता दिनुपर्छ । र निर्वाचन, सरकारी सेवा, राजनीतिक नियुक्ति, उद्योग, व्यापारका लागि वंशजको नेपाली नागरिकता आवश्यक हुन्छ । नेपालीले विदेशीसँग विवाह नगर्ने बन्दोबस्त गरौँ । नेपालको भूराजनीतिक अवस्था अनुसार हामीले सकेसम्म रोक्नुपर्छ । र नेपालीसँग विवाह गरेका विदेशी, महिला वा पुरुषलाई नेपालको कृत्रिम नागरिकता दिन सकिन्छ । कहिले दिने, त्यो २० वर्षपछि । कृत्रिम नागरिकता लिनेले नेपालको संस्कृतिबारे लिखित परीक्षामा उत्तिर्ण गर्नुपर्छ ।’

उनले संघ र प्रदेश दुवै तहको नागरिकता बनाउनुपर्ने ताए । महिला र पुरुष बाहेकका लिङ्गको नागरिकता दिनका लागि चिकित्सा विज्ञानले प्रमाणित गर्नुपर्ने उनको भनाइ छ ।

चर्चामा

सम्बन्धित समाचार