बाजुरा–बाजुराको बुढिगंगा नगरपालिकामा असार २३ गते स्थानिय तहको निर्वाचनमा सयौको संख्यामा सुरक्षाकर्मी परिचालन हुने भएका छन् । बुढिगंगा नगरपालिकामा रहेका १० वटा मतदान स्थलमा नेपाल प्रहरी, शसस्त्र प्रहरी, नेपाली सेना र राष्ट्रिय अनुसन्धान गरि एउटा स्थलमा एक सय भन्दा बढी सुरक्षाकर्मी परिचालन हुने भएका छन् ।
मतदान स्थलको सुरक्षा नेतृत्व नेपाल प्रहरी, शसस्त्र प्रहरीका अधिकृतले गर्ने भएका छन् । जिल्ला प्रहरी कार्यलय बाजुराका प्रहरी प्रमुख सुर्य बहादुर थापाले भने सबै मतदान स्थलमा आबश्यक सुरक्षाकर्मीको व्यबस्थापन हुने वताए । मतदान केन्द्रको सुरक्षा नेतृत्व सिनियर प्रहरी अधिकृतले गर्ने थापाले वताएका छन् ।
बुढिगंगामा नगरपालिका १२ हजार ६ सय ५९ मतदाता रहेका छन् । १० वटा मतदान स्थल र १९ वटा मतदान केन्द्र रहेको जिल्ला निर्वाचन कार्यलय बाजुराले जनाएको छ । सबै मतदान केन्द्रमा आवश्यकता अनुसार सुरक्षा व्यबस्थापन गरिसकेको प्रमुख जिल्ला अधिकारी प्रकाश चन्द्र अधिकारीले वताएका छन् । मतदातालाइ शान्तिपुर्ण तरिकाले मतदान गर्ने सम्पुर्ण व्यबस्थापन गरिसकेको अधिकारीले वताए ।
निर्वाचनका लागि सोमबार बाट मतदान केन्द्रमा कर्मचारी खटाउन शुरु गरिने मुख्य निर्वाचन कार्यलय बाजुराले जनाएको छ । वैशाख ३० मै निर्वाचन भएको बुढीगंगा नगरपालिकामा विवादका कारण पुन मतदान गर्ने निर्वाचन आयोगले निर्णय गरेको थियो । बुढीगंगाका १० वडामध्ये ६ वटामा विवाद भएको थियो । वडा २, ३, ४, ५, ७ र ९ का केन्द्रमा मतदान स्वतन्त्र हुन नसकेको स्थानीयको भनाइ छ । २, ३, ५ र ९ वडाका मतदानस्थल एमालेका कार्यकर्ताले नियन्त्रणमा लिएका थिए भने वडा ४ र ७ मा कांग्रेस कार्यकर्ताले नियन्त्रणमा लिएर आफू अनुकूल मतदान गरेका थिए । यी ६ वटै वडाका मतदानस्थलमा झडप, उम्मेदवारमाथि कुटपिट र मतदाता लखेटिएका थिए ।
नगरपालिकाको वडा नम्बर ४ मा बुथ कब्जा गरेर ९९ दशमलव ४१ प्रतिशतसम्म मत खसाइएको थियो । एमालेले कब्जा गरेका भनिएका २, ३, ५ र ९ मा प्रहरी मतेपटिका मतदान केन्द्रमै छाडेर हिँडेका थिए । तर काँग्रेसे कब्जा गरेको भनिएका ७ र ९ मा प्रहरीले संरक्षण गरिरहेको थियो ।
यस्तै एमालेले नियन्त्रणमा राखेर मतदान गरेको भनिएकामध्ये वडा ९ स्थित त्रिशक्ति मावि मतदानस्थलमा १ हजार ४ सय ८३ मतदाता संख्या रहेकामा १ हजार ३ सय ४७ मत खसेको छ । जुन ९०.८२ प्रतिशत हुन आउछ ।
बुढीगंगाको विवाद अध्ययन गर्न निर्वाचन आयुक्त सगुनशमशेर जबरासहितको टोलीले स्थलगत अध्ययन गरेर फिर्ता गएको थियो । निर्वाचन आयोगले नगरपालिकाको चुनाव स्थित गरेर पुन निर्वाचन गर्न मुख्य निर्वाचन कार्यलय बाजुरालाई निर्देशन गरेको थियो ।
नवनिर्वाचित जनप्रतिनिधि नहुदा नगरपालिका गतिबिधिमा तथा काममा असर परेको छ । नागरिकताको सिफारीस देखी धेरै काममा बाध भएको छ । पालिका जनप्रतिनिधिविहीन हुँदा सिफारिसदेखि बजेट खर्च र योजना निर्माणसम्मका सबै कामकाज ठप्प छन् । असार १० मा स्थानीय तहहरुले नीति तथा कार्यक्रम र बजेट सार्वजनिक गर्नुपर्ने प्रावधान भए पनि यहाँ के गर्ने भन्ने अन्यौल छ ।
वडा र नगरबाट जनप्रतिनिधिले गर्ने नागरिकतालगायतका सबै सिफारिस ठप्प छन् । वडाबाट हुने सिफारिस रोकिएका छन् । नाता प्रमाणित, नागरिकता सिफारिसलगायत ३७ वटा कामहरु वडा कार्यालयबाट हुने प्रावधान छ ।