काठमाडौं — असार-साउनको महिना भनेको धान रोप्ने सिजन । किसानहरू धान रोप्नका लागि हिलो माटोको सम्पर्कमा आएका हुन्छन् । माटोसँग हाम्रो भावनात्मक सम्बन्ध पनि जोडिएको हुन्छ ।
सानो उमेरमा हामीले धेरै माटो खेल्थ्यौं, तर ठूलो भएपछि हामी हत्तपत्त माटो खेल्न जाँदैनौ । यदि ठूलो भएपछि हामीले कहिले हिलो माटो खेल्यौं भने त्यसले हामीलाई बाल्यकालको याद दिलाउँछ र एक प्रकारको खुसी पनि प्राप्त हुन्छ ।
माटो प्रकृतिको मुख्य पाँच तत्वमध्ये एक हो, जसको प्रयोगले स्वास्थ्य सुधार र रोग निको पार्न मद्दत गर्छ भनिन्छ । यस्तोमा प्राकृतिक चिकित्सामा माटोको प्रयोग कसरी गरिन्छ ? यसले स्वास्थ्य सुधार गर्न कसरी भूमिका खेल्न ? यिनै विषयमा केन्द्रित रहेर प्राकृतिक चिकित्सक डा. प्रतीक्षा पाण्डेसँग गरिएको कुराकानी :
अहिले हिलो माटो खेल्ने सिजन छ । माटो र स्वास्थ्यको कुनै सम्बन्ध छ ?
माटो स्वास्थ्यको लागि राम्रो हो भनेर सहरमा भएको प्रदूषणयुक्त माटोको प्रयोग गर्दा त स्वास्थ्यमा उल्टै नकारात्मक असर गर्छ । तर सहरी क्षेत्र भन्दा अलि टाढा र वनजंगलको बीचमा गएर ३ देखि ४ फिट तलको माटो निकाल्न सकियो र त्यो माटोसँग खेल्दा बच्चाको स्वास्थ्यमा नकारात्मक असर पर्दैन ।
माटो हाम्रो प्रकृतिको एउटा हिस्सा हो । प्राकृतिक चिकित्सा अनुसार पृथ्वी, आकाश, जल, वायु र अग्नि पञ्चतत्व मिलेर हाम्रो शरीर बनेको हुन्छ भनिन्छ । यी पाँच कुरा तलमाथि भयो भने शरीरमा विभिन्न रोग निम्तिन्छ । त्यसैले माटो पनि हाम्रो स्वास्थ्यको लागि एउटा महत्वपूर्ण कुरा हो ।
प्राकृतिक चिकित्सामा माटोको महत्व कति छ ?
प्राकृतिक चिकित्सामा त विभिन्न रोगको उपचारमा नै माटोको प्रयोग गरिन्छ । प्राकृतिक चिकित्सामा यो विधि लामो समयदेखि चल्दै आएको छ । महात्मा गान्धीलाई कब्जियत हुँदा पनि यो ‘मड थेरापी’ माटोको प्रयोगबाट गरिने थेरापी गरिएको थियो र यो प्रभावकारी पनि भएको थियो । त्यसैले प्राकृतिक चिकित्सामा माटोको महत्व धेरै छ ।
प्राकृतिक चिकित्सामा माटोलाई के कसरी प्रयोग गरिन्छ ?
पूरा शरीरमा नै माटो पट्टी लगाएर घाममा बस्दा त्यो माटो सुक्छ र घामको किरणलाई शरीरले राम्ररी सोस्न पाउँछ । साथै ग्यास्ट्रिक र कब्जियत जस्ता समस्यामा पेटमा मात्र माटो पट्टी लगाइन्छ । माटोले पेटमा शीतलता प्रदान गर्छ । माटो नसुकेको अवस्थामा त्यसले शीतलता प्रदान गर्छ भने घाममा बसेर सुकेको अवस्थामा त्यसले शरीरलाई न्यानो बनाउँछ । त्यसैले प्राकृतिक चिकित्सामा माटोलाई विभिन्न रोग निको पार्न प्रयोग गरिन्छ ।
मड थेरापी के हो ? यो कसरी गरिन्छ ?
मड थेरापी भनेको माटोको प्रयोगबाट रोगको समाधान गर्ने हो । मानौं, कसैलाई घुँडा दुख्ने समस्या छ भने माटोलाई तताएर त्यसलाई सुतीको कपडामा बरेर दुखेको ठाउँमा राखियो भने त्यसको तातोले गर्दा दुखाई कम हुन्छ । त्यसैगरी अनुहारको विभिन्न समस्यामा पनि मड थेरापीको प्रयोग गरिन्छ । डण्डीफोर र छालामा चिल्लो आउने समस्यामा मुलतानी माटो प्रयोग गरे यसबाट छुटकारा पाउन सकिन्छ ।
यसले के कस्ता रोग निको पार्न सहयोग गर्छ ?
मड थेरापीले दीर्घरोग थाइराइड, मधुमेह, घुँडा दुखाइजस्ता रोगलाई कम गर्न सहयोग गर्छ । साथै कब्जियत, ग्यास्ट्रिक जस्ता समस्या र छालासम्बन्धी विभिन्न समस्या कम गर्न पनि यसले सहयोग गर्छ ।
कस्तो अवस्थामा मड थेरापी गर्नुहुँदैन ?
दीर्घरोगको तुलनामा सरुवा रोगको लागि मड थेरापी त्यति धेरै उपयोगी हुँदैन । माटोको विशेषता नै शीतलता प्रदान गर्ने र चिसो हुने भएकाले रुघाखोकी, निमोनिया र टाइफाइड भएको बेलामा मड थेरापी गर्नुहुँदैन । गर्भावस्था, रगत आइरहेको आलो घाउ छ भने त्यसमा पनि मड थेरापी गर्नुहुँदैन ।
मड थेरापी र मड बाथ एकै हो वा फरक हुन्छ ?
थेरापी गर्नका लागि माटोलाई विभिन्न तरीकाले प्रयोग गर्न सकिन्छ । यसको समष्टिगत रुप मड थेरापी हो भने तिनै उपायमध्येको एक मड बाथ हो । मड थेरापीमा पेटको मड थेरापी, घुँडाको मड थेरापी र मड बाथभित्र पनि विभिन्न थेरापी समेटिएको हुन्छ ।
मड बाथ कसरी गरिन्छ ? फाइदा के छन् ?
मड बाथ गर्नु भन्दा अघिल्लो दिन हलुका खाना खानुपर्छ । साथै आधा घण्टा अगाडि मनतातो पानी खानुपर्छ । मड बाथ गर्नुभन्दा अघि नुहाउने त्यसपछि माटोलाई शरीरभरि लगाएर माटो नसुकुन्जेल घाममा बस्नुपर्छ । यो मड बाथ गर्दा सुतेर वा बसेको पोजिसनमा गर्न सकिन्छ । माटो सुकिसकेपछि फेरि नुहाएर मड बाथ गरिन्छ ।
मड बाथ गर्दा यसले शरीरमा भएको नराम्रो कुरालाई बाहिर निकाल्छ र पाचन प्रणालीलाई बलियो बनाउँछ । जसले गर्दा खाएको खाना राम्ररी पच्छ र शरीर मोटो हुँदैन । साथै यसले शरीरलाई शीतलता प्रदान गर्छ र ग्यास्ट्रिकको समस्या पनि समाधान हुन्छ । माटो बिस्तारै सुक्दै गएपछि यसले घामबाट भिटामिन डी पनि प्राप्त गर्छ । छाला सम्बन्धी समस्यामा पनि मड बाथ फाइदाजनक हुन्छ ।
गर्भावस्थामा मड थेरापी कति प्रभावकारी हुनसक्छ ?
गर्भावस्थामा मड थेरापी प्रभावकारी हुँदैन । गर्भावस्थामा महिलाको शरीर एकदमै संवेदनशील हुन्छ यस्तोमा मड थेरापी गर्दा महिला र पेटको बच्चा दुवैलाई असर गर्न सक्छ । माटो चिसो हुने भएकाले पनि गर्भावस्थामा यो थेरापी गर्दा चिसो लाग्ने वा अन्य समस्या देखिन सक्छ ।
अहिले बालबच्चालाई प्रायः सुकिलोमुकिलो बनाएर हुर्काउने प्रवृत्ति छ, हिलो माटोमा खेल्दा उनीहरूको स्वास्थ्यमा केही प्रभाव पार्न सक्छ ?
माटो स्वास्थ्यको लागि राम्रो हो भनेर सहरमा भएको प्रदूषणयुक्त माटोको प्रयोग गर्दा त स्वास्थ्यमा उल्टै नकारात्मक असर गर्छ । तर सहरी क्षेत्र भन्दा अलि टाढा र वनजंगलको बीचमा गएर ३ देखि ४ फिट तलको माटो निकाल्न सकियो र त्यो माटोसँग खेल्दा बच्चाको स्वास्थ्यमा नकारात्मक असर पर्दैन ।
यस्तो माटोसँग खेल्दा त्यो माटोबाट मिनरल्स पाउन सकिन्छ । यसरी माटोसँग खेल्दा त बच्चाहरूको रोगसँग लड्न सक्ने क्षमताको पनि विकास हुन्छ । साथैको उनीहरुको हड्डीको विकास पनि राम्रोसँग हुन्छ ।
हिलो माटोमा खेल्दा रुघा लाग्ने, ज्वरो आउने वा चिसो लाग्ने हुँदैन ?
सहरको दूषित हिलो माटो खेल्दा त रुघा लाग्ने, ज्वरो आउने वा चिसो लाग्ने समस्या हुन सक्छ नै । तर गाउँको हिलो माटोमा खेल्छन् भने फाइदाजनक नै हुन्छ । घाममा नै खेलेर त्यो माटो सुक्छ भने त्यो माटोको कलर कालो हुन्छ । कालो रंगले सूर्यको किरणलाई छिटो सोस्छ र चिसो लाग्न दिंदैन । त्यसैले हिलोमा खेल्ने बित्तिकै उनीहरूको जीउमा लागेको हिलो नसुकी चिसोमै चिसो पानीले नै नुहाइदियौ भने चाहिं रुघा लाग्ने, ज्वरो आउने र चिसो लाग्ने जस्ता समस्या हुन सक्छ ।
माटो खेल्दा वा मड थेरापी गराउँदा के कारणले लाभ मिलेको हो ?
अहिले वर्षायाममा हिलो माटोमा र चिसोमा किन खेल्ने भन्ने प्रश्न पनि धेरैको हुन सक्छ । तर हिलो माटो कालो कलरको हुन्छ र कालो कलरले सूर्यको किरणलाई छिटो सोस्छ । त्यसले शरीरलाई चाहिने भिटामिन डी र क्याल्सियम कमी हुन दिंदैन ।
हिलो माटोले शीतलता प्रदान गर्छ । माटो खेल्दा वा मड थेरापी गराउँदा छालामा लागेको माटोले छालाको चिल्लो सोस्छ, जसले गर्दा छाला सम्बन्धी समस्या पनि कम हुन्छ । हिलो माटो सुकेपछि कक्रक्क हुन्छ, जसले शरीरमा रक्त सञ्चार प्रणालीमा पनि सहयोग गर्छ ।