शनिबार, बैशाख ८, २०८१
  • होमपेज
  • प्रदेश ७
  • सुदूरपश्चिममा २ लाख बढी जनसंख्या विपदबाट प्रभावित हुने अनुमान

सुदूरपश्चिममा २ लाख बढी जनसंख्या विपदबाट प्रभावित हुने अनुमान

  • शुक्रबार, असार १०, २०७९
सुदूरपश्चिममा २ लाख बढी जनसंख्या विपदबाट प्रभावित हुने अनुमान

 सुदूरपश्चिम प्रदेशमा यस वर्ष दुई लाख बढी जनसंख्या विपदका घटनाबाट प्रभावित हुने अनुमान गरिएको छ। मनसुन सक्रिय भएसँगै बाढी, पहिरो, चट्याङ, डुबान लगायतका विपदका घटनाबाट प्रदेशमा यस वर्ष दुई लाख ६३ हजार तीन सय १५ जना प्रभावित हुने अनुमान गरिएको हो।

प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टको अध्यक्षतामा रहेको विपद व्यवस्थापन परिषदले पारित गरेको मनसुन पूर्वतयारी तथा प्रतिकार्य कार्ययोजना २०७९ अनुसार यस वर्ष कैलाली र कंचनपुर जिल्लामा बाढीका कारण कुल २ लाख तीन हजार छ सय ९५ जनसंख्या तथा अन्य सात जिल्लाहरुमा पहिरोका कारण ५९ हजार सात सय २० जना प्रभावित हुनसक्ने अनुमान गरिएको छ।
बाढीका कारण सबैभन्दा बढी कञ्चनपुरमा प्रभावित हुने अनुमान गरिएको छ। सो कार्ययोजना अनुसार कञ्चनपुरमा एक लाख नौ हजार आठ सय १८ जना प्रभावित हुने अनुमान गरिएको छ। बाढी र पहिरोको उच्च जोखिममा रहेको कैलालीमा ९३ हजार आठ सय ७७ जना प्रभावित हुने अनुमान गरिएको छ। प्रदेशका सात पहाडी जिल्लामा पहिरो र बाढीबाट प्रभावित हुने अनुमान गरिएको छ। सो कार्ययोजना अनुसार डोटीमा १४ हजार चार सय ६१, बाजुरामा ११ हजार दुई सय ८४, बैतडीमा १० हजार ८५, डडेल्धुरामा नौ हजार तीन सय २५, बझाङमा पाँच हजार दुई सय ७१, अछाम चार हजार आठ सय एक र दार्चुलामा चार हजार तीन सय ९३ जना प्रभावित हुने अनुमान गरिएको छ।

‘नेपाल मनसुन फोरमले, यस वर्ष कैलाली, कञ्चनपुरको दक्षिणी क्षेत्र तथा बझाङ, बाजुरा र दार्चुला जिल्लाको उत्तरी भगमा सरदरभन्दा वढी वर्षा हुने सम्भावना ५५ देखी ६५ प्रतिशत रहेको छ भने अन्य स्थानहरुमा ३५ देखि ५५ प्रतिशत सम्भावना रहेको पाइन्छ’ सो कार्ययोजनामा भनिएको छ –‘यस विश्लेषणका आधारमा यस वर्षको मनसुनमा विपद्का घटनाहरूमा उल्लेख्य वृद्धि हुने आंकलन गर्न सकिन्छ।’ विगत ११ वर्षको तथ्यांक अनुसार सुदूरपश्चिम प्रदेशमा कुल एक सय ६९ वटा बाढीका घटनाहरु भएका थिए। जसमा ७१ जना मानिसको मृत्यु भएको थियो भने २२ जना घाइते र ५३ जना वेपत्ता भएका थिए। कैलाली, कंचनपुर जिल्लामा बाढी तथा डुबानका घटनाहरु अत्याधिक रहेको तथा बझाङ, डोटी, बाजुरा जिल्लामा पनि बाढीका घटना घटेको सो कार्ययोजनामा उल्लेख छ।
२०६८ देखि २०७८ सम्मको अवधिमा प्रदेशभरी दुई सय २६ वटा पहिरोका घटना घटेका कारण एक सय ३२ जना मानिसको मृत्यु भएको, ९९ जना घाइते तथा २६ जना बेपत्ता भएका थिए। ‘डरहम विश्वविद्यालयको वैज्ञानिक विश्लेषणका आधारमा यस प्रदेशको बाजुरा, बझाङ, अछाम जिल्लाका भू–भागहरु पहिरोको उच्च जोखिमपूर्ण क्षेत्र भनी पहिचान गरिएको छ’ सो कार्ययोजनामा भनिएको छ । प्रदेशमा मनसुन अवधिमा तराइ क्षेत्रमा जोखिम उच्च हुन सक्ने रोगहरु तथा समस्याहरूमा मलेरिया, स्क्रब टाइफस, डेगु, कालाजार र सर्पदंशको समस्या बढी हुने गरेको कार्ययोजनामा उल्लेख छ।

प्रदेशका पहाडका जिल्लाहरुमा स्क्रब टाइफस, रिस्पाइरेटरी इन्फेक्सन, कालाजार तथा केही स्थानमा सर्पको समस्या र डेंगु जस्ता रोगहरुको समस्या रहेको पाइएको जनाइएको छ । प्रदेश सरकारले प्रदेशमा पाँच कलष्टर बनाई विपदको जोखिम न्यूनिकरण गर्ने गरी कार्ययोजना बनाएको छ। प्रदेशको सबै विषयगत क्षेत्रहरुको अगुवाई तथा सहयोगमा विशेष भूमिका मुख्यमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयको जिम्मेवारी रहने उल्लेख छ। प्रदेशमा खोज तथा उद्दार, आपतकालिन संचार, बन्दोबस्ती र विषयगत क्षेत्र समन्वयको जिम्मेवारी आन्तरिक मामिला तथा कानुन मन्त्रालय, शिक्षा, स्वास्थ्य तथा पोषण, संरक्षण तथा सामाजिक सुरक्षाको जिम्मेवारी सामाजिक विकास मन्त्रालय, खानेपानी सरसफाई, शिविर समन्वय तथा शिविर व्यवस्थापन, आपत्कालिन आश्रय स्थलको जिम्मेवारी भौतिक पूर्वाधार मन्त्रालय, खाद्य सुरक्षाको जिम्मेवारी भुमि, व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयको रहने उल्लेख छ । स्टेट सेभेन अनलाइनबाट

चर्चामा

सम्बन्धित समाचार