काठमाडौँ — राष्ट्रिय सभाका सांसद वामदेव गौतमले आफू फेरि कम्युनिस्ट पार्टीहरूलाई एकजुट बनाउने अभियानमा लागिपर्ने बताएका छन् । केही समयदेखि आफू कुनै पनि पार्टीमा संलग्न नभएको उल्लेख गर्दै सांसद गौतमले त्यसलाई फेरि एकीकृत गर्ने अभियानमा लाग्ने विचार गरेको र केही समयपछि त्यसको घोषणा गर्ने योजना पनि सुनाए ।
शुक्रबार राष्ट्रिय सभा बैठकमा विशेष समय लिएर बोल्दै तत्कालीन नेकपाका सचिवालय सदस्यसमेत रहेका सांसद गौतमले कम्युनिस्ट पार्टीहरुलाई एकीकृत गर्नका लागि नै आफूले कुनै पनि नेताहरुको बारेमा टीकाटिप्पणी नगरेको स्पष्ट पारे ।
नेपाललाई समृद्ध समाजवादमा पुर्याउने आशासहित गठन भएको नेकपा पार्टीभित्रको आन्तरिक समस्याका कारण ३ वटा टुक्रामा विभाजित भएको उल्लेख गर्दै उनले भने, ‘केही समयदेखि म नेपालको कुनै पनि पार्टीमा छैन । र, मेरो विचार कम्युनिस्ट पार्टीहरु फेरि एकजुट हुनुपर्छ भन्ने हो । त्यसो भएर मैले कुनै नेताको बारेमा टीकाटिप्पणी पनि गरेको छैन । र, आफ्नो जीवनमा सधैंभरि क्रिटिकल व्यक्ति हुँ । मैले पुष्पलालको पनि आलोचना गरेँ । मैले मदन भण्डारीको पनि आलोचना गरेँ, जीवराज आश्रितको पनि आलोचना गरेँ ।’
आफू फेरि कम्युनिस्ट आन्दोलनलाई एकीकृत गर्ने अभियानमा लाग्ने पनि गौतमले बताएका छन् । उनले भने, ‘म फेरि एकीकृत गर्ने, म फेरि कम्युनिस्ट आन्दोलनलाई एकीकृत गर्ने एउटा महाअभियानमा संलग्न हुने विचार गरेको छु । र, केही समयपछि म घोषणा गरेर त्यो काममा लाग्नेछु । सफलता प्राप्त हुन्छ कि हुँदैन ।’
पूर्वउपप्रधानमन्त्रीसमेत रहेका गौतमले नेकपा गठनपछि जनता खुसी भएको तर पार्टीभित्रकै उत्पन्न समस्याहरुले सो पार्टीलाई विभाजित गरेको पनि स्मरण गराए ।