• होमपेज
  • राजनीति
  • मत पाउने एउटा, विजयी हुने अर्कै

मत पाउने एउटा, विजयी हुने अर्कै

  • बिहिबार, जेष्ठ ५, २०७९
मत पाउने एउटा, विजयी हुने अर्कै

खोटाङको खोटेहाङ गाउँपालिका–६ इन्द्रेणीपोखरीमा एक उम्मेदवारको मतबाट अर्कै उम्मेदवार विजयी भएका छन् । एमालेबाट खुला सदस्यमा उठेका ज्ञानबहादुर राईको मतबाट एमालेकै खुला सदस्यका उम्मेदवार रतनबहादुर खत्री विजयी भएका हुन् । आफ्नो नामको अङ्ग्रेजी वर्णानुक्रम अनुसार प्राप्त हुने चुनाव चिन्ह बारे स्पष्ट नहुँदै चुनावी मैदानमा उत्रिएकाले राईको मतबाट खत्री विजयी भएका हुन् ।

नामको सुरुको अक्षरको अङ्ग्रेजी वर्णानुक्रम अनुसार रतनबहादुरले चुनाव चिन्ह एक सूर्य र ज्ञानबहादुरले दुई सूर्य पाउनुपर्ने हो । तर निर्वाचन आयोगको मतदाता सुचीमा ज्ञानबहादुरको नाम ग्यानबहादुर भएकाले उनलाई निर्वाचन अधिकृतको कार्यालयले एक सूर्य चुनाव चिन्ह उपलब्ध गरायो । वर्णानुक्रममा ग्यानबहादुरभन्दा पछि आउने भएकाले रतनबहादुरलाई दुई सूर्य चिन्ह प्रदान गर्‍यो । तर उनीहरुले निर्वाचन अधिकृतको कार्यालयले प्रदान गरेको चुनाव चिन्हका बारेमा ख्याल गरेनन् ।

र’ र ‘ज्ञा’को वर्णानुक्रम अनुसार रतनबहादुरले एक सूर्य र ज्ञानबहादुरले दुई सूर्य चिन्ह पाएकोमा दुवै ढुक्क थिए । रतनबहादुरले एउटा सूर्य चिन्ह देखाउँदै भोट मागे । ज्ञानबहादुरले पनि दुई सूर्य देखाउँदै दिनरात नभनी चुनावी घरदैलोमा खटिए । उनीहरु एकले अर्कालाई भोट मागेको पत्तै भएन । ३० वैशाखमा मतदान भए । मंगलबार निर्वाचन परिणाम सार्वजनिक भएपछि भने ज्ञानबहादुर खङ्ग्रङ्ग भएका छन् ।

ज्ञानबहादुरले मागे अनुसार दुई सुर्मा ४८५ मत र रतनबहादुरले मागेको एक सुर्मा ३९७ मत प्राप्त भयो । मतको आधारमा दुई सुर्यवाला उम्मेदवार विजयी भए । निर्वाचन अधिकृतको कार्यालयले ‘र’ र ‘ग्या’को वर्णानुक्रम अनुसार दुई सूर्य चिन्हका रतनबहादुर विजयी भएको भन्दै अन्तिम नजिता सार्वजनिक गरे । दुई सुर्मा मत मागेका ज्ञानबहादुर भने मत पाएर पनि हार्न पुगे । उनको मतले रतनबहादुर विजयी बन्न पुगेका छन् ।

निर्वाचन आयोगले सार्वजनिक गरेको मत परिणाममा पनि रतनबहादुरले दुई सूर्य र ज्ञानबहादुरले एक सूर्य चिन्हमा लडेको उल्लेख छ । ज्ञानबहादुरलाई अन्य दलका मतदाताले समेत मत दिएका थिए । ज्ञानबहादुरलाई मत गएपछि सो वडामा गठबन्धन (माओवादी केन्द्र)का वडा सदस्यका उम्मेदवार विमल लामा पराजित भएका छन् । लामाले ४०१ मत पाएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

मत साटिएर फरक नजिता आएपछि ज्ञानबहादुर र रतनबहादरबीच बिवाद भएको छ । बुधबार उनीहरूबीचमा हात हालाहाल समेत भएको छ । नवनिर्वाचित वडाध्यक्ष र प्रहरीले दुई पक्षको विवाद मिलाउन सहजीकरण गर्नुपरेको थियो । – न्यूज कारखाना

चर्चामा

सम्बन्धित समाचार