शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • बुढीगंगा
  • बुढिग‌गामा मेयरका उम्मेदवार बनेका खातीलाई जिताउन पुनः मतदानको षड्यन्त्र गरिँदै छः कर्ण थापा

बुढिग‌गामा मेयरका उम्मेदवार बनेका खातीलाई जिताउन पुनः मतदानको षड्यन्त्र गरिँदै छः कर्ण थापा

  • आइतवार, जेष्ठ १, २०७९
बुढिग‌गामा मेयरका उम्मेदवार बनेका खातीलाई जिताउन पुनः मतदानको षड्यन्त्र गरिँदै छः कर्ण थापा

काठमाडौं– नेकपा एमालेका नेता कर्णबहादुर थापाले बाजुराको बुढीगंगा नगरपालिकामा मतगणनामा भइरहेको ढिलाइप्रति आपत्ति जनाएका छन् ।
नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै थापाले भने, “बाजुराको बुढीगंगा नगरपालिकामा शान्तिपूर्ण रुपमा मतदान भएको थियो । तर अहिलेसम्म सुनिनियोजित रुपमा मतगणना सुरु गरिएको छैन । उल्टै पुनः मतदान गर्ने हौवा पिटाइएको छ । नेपाली कांग्रेसले चुनाव हार्छ भन्ने डरले सुनियोजित रूपमा कर्फ्यु घोषणा गरिएको छ । पुनः मतदान मात्र गरिरहने हो भने निर्वाचन प्रक्रिया कहिले टुंगिन्छ ?”
महान्यायाधिवक्ता खम्बबहादुर खातीको भाइ रंगबहादुर खातीलाई जिताउन पुनः मतदानको षड्यन्त्र गरिएको आरोप पनि उनले लगाए । एमाले नेता थापाले भने, “महान्यायाधिवक्ता खम्बबहादुर खातीका भाइ रंगबहादुर खाती कांग्रेसका मेयरका उम्मेदवार छन् । उनी शेरबहादुर देउवाको हुकुम प्रमांगीबाट उम्मेदवार बनेका हुन् । राज्यशक्ति र अधिकारको दुरुपयोग गरी एउटा पालिकामा नेपाली कांग्रेसलाई जिताउन खोजिएको छ । हामी यस्तो षड्यन्त्र गर्न दिँदैनौं ।”
थापाले खातीको घर भएको वडा नं ४ मा धाँधली गरिएको आरोप पनि लगाए । उनले भने, “खातीको घर भएको वडा नं ४ मा १७०९ मतमध्ये १६९९ मत खसाइएको छ । त्यहाँ पुनः मतदान नहुने, अर्को ठाउँमा पुनः मतदान गर्ने कुरा हामी मान्दैनौं ।”
एमालेको ५ दलीय गठबन्धनविरुद्ध एक्लै लडेकाले केही संख्या कम हुनु स्वाभाविक भएको पनि उनले बताए । थापाले भने, “हामी हाम्रा नीतिमा स्पष्ट छौं । नेकपा एमाले गठबन्धन विरुद्ध एक्लै लडेको हो । हामी परिणाम स्वीकार्छौं । हामीलाई जनताको मतमा मन्जुर छ । तर राज्यशक्तिको दुरुपयोगले लोकतन्त्रको मूल्य र मान्यतामा आघात पार्छ ।”

चर्चामा

सम्बन्धित समाचार