शनिबार, बैशाख ८, २०८१
  • होमपेज
  • राजनीति
  • स्थानीय तह निर्वाचनमा नेपाली कांग्रेस (वीपी)का १५४ उम्मेदवार

स्थानीय तह निर्वाचनमा नेपाली कांग्रेस (वीपी)का १५४ उम्मेदवार

  • सोमवार, बैशाख १९, २०७९
स्थानीय तह निर्वाचनमा नेपाली कांग्रेस (वीपी)का १५४ उम्मेदवार

नेपाली कांग्रेस (वीपी)ले स्थानीय तह निर्वाचनका लागि देशभर १५४ उम्मेदवार मनोनयन दर्ता गरेको जानकारी दिएको छ । केन्द्रीय कार्यालय सामाखुसीमा आइतबार पत्रकार सम्मेलन गरी स्थानीय तह निर्वाचनमा देशभरबाट १५४ उम्मेदवार उठाएको जानकारी दिएको हो ।

उक्त पार्टी २०७४ सालमा स्थापना भएको थियो । २०७४ सालमा सम्पन्न प्रतिनिधि एवं प्रदेशसभाको निर्वाचनमा ‘करुवा’ चुनाव चिह्न लिएर नेपाली कांग्रेस वीपीले भाग लिएको थियो । वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा पनि उसले करुवा चुनाव चिह्न नै पाएको छ ।

पत्रकार सम्मेलनमा वीपी कांग्रेसका प्रवक्ता शिवप्रसाद सिम्खडाले दुई महानगरपालिकासहित देशभरबाट २२ नगरमा प्रमुखको उम्मेदवारी मनोनयन दर्ता गरेको जानकारी दिए । कांग्रेस वीपीले काठमाडौं महानगरपालिकाको प्रमुखमा भक्तराज भुसाल र उपप्रमुखमा इन्दिरा अधिकारीलाई उठाएको छ ।

यस्तै विराटनगर महानगरपालिकाको प्रमुखमा रामचन्द्र गौतम उम्मेदवार छन् । नुवाकोटको बेलकोटगढी नगरपालिकाको प्रमुखमा सुशील वाग्ले उम्मेदवार छन् ।

प्रवक्ता सिम्खडाका अनुसार नगर उपप्रमुखमा नौ, गाउँपालिका अध्यक्षमा सात, उपाध्यक्षमा तीन, वडा अध्यक्षमा ४१, महिला सदस्यमा १८, दलित महिला सदस्यमा १४ र खुला सदस्यमा ४० जनाले उम्मेदवारी दिएको छ ।

पत्रकार सम्मेलनमा विपी कांग्रेसका सभापति सुशीलमान शेरचनले विपी कांग्रेसले देशभरका ४५ जिल्लामा आफ्नो संगठन विस्तार गरिसकेको र सोहीअनुसार स्थानीय तहको निर्वाचनमा उम्मेदवारी प्रस्तुत गरेको बताए ।

चर्चामा

सम्बन्धित समाचार