अर्थ जङ शाही /बझाङ — मुख्य निर्वाचन अधिकृतको कार्यालय रहेको बझाङ जिल्ला अदालतमा धमाधम मनोनयनको काम चलिरहेको थियो । गठबन्धनका उम्मेदवारभन्दा केही समयअगाडि नै कार्यालय पुगेका जयपृथ्वी नगरपालिकाका एमालेका उम्मेदवारहरू कार्यालयमै थिए ।
चार बजेतिर मनोनयनका लागि पुगेको गठबन्धनको उम्मेदवारको टोली निर्वाचन अधिकृतको कार्यालय छिरेपछि प्रमुख पदका उम्मेदवार रहेका एमालेका सुरतबहादुर सिंह र नेपाली कांग्रेसका चेतराज बजालको जम्काभेट भइहाल्यो । मनोनयनको हतारो रहेका बजाल र मनोनयन दर्ता गरिसकेका सिंहले भेट्नेबित्तिकै हात मिलाएर एक अर्काप्रति आत्मियता मात्रै साटेनन् मित्रवत प्रतिस्पर्धा गर्ने प्रतिवद्धता पनि जनाए ।
‘हामी मित्रवत प्रतिस्पर्धा गछौं । एक अर्काको आलोचना गर्दनौँ’ बजालले सिंहसँग हात मिलाउँदै भने, ‘जनताले जसलाई विश्वास गर्छन् उही जितौँला ।’
बजालसँगै स्वर मिलाउँदै उनका प्रतिस्पर्धी सिंहले पनि हार्दिकताका साथ प्रतिस्पर्धा गर्ने सुनाए । ‘नगर विकासको भिजन दिएर जनताको मन जित्ने हो । एक अर्कालाई गाली गरेर मत माग्ने काम हामीबाट हुँदैन,’ उनले भने, ‘हाम्रो प्रतिस्पर्धा हार्दिकताका साथ हुनेछ’ प्रतिबद्धतासँगै दुवैले एक अर्कालाई शुभकामना पनि दिन भ्याए ।
दुई प्रतिस्पर्धीबीच भेटमा भएको यो दृष्य कार्यालयमा रहेका दुवै दलका कार्यकर्ताहरूले अनौठो मानेर हेरिरहेका थिए । उनीहरूको हार्दिकताको तरंग एकै छिनमा चर्का नारा लगाउँदै जुलुससहित कार्यालय पुगेका दुवै पक्षका कार्यकर्तासम्मै सञ्चार भयो । केहीबेर दुवै जना प्रतिस्पर्धीलाई सँगै राखेर तस्विर खिचाउने होडबाजी नै चल्यो । एक अर्काको खोइरो खनेर मत माग्ने कुरा सामान्यजस्तै रहेको बझाङमा प्रतिस्पर्धीबीच देखिएको यो हार्दिकता चुनावसम्म रहोस् भनेर कार्यकर्ताले दुबैलाई शुभकामनासमेत दिए ।
‘नेताहरूको यस्तो हार्दिकता पहिला देखिँदैन थियो । उहाँहरूको कारणले कार्यकर्तास्तरमा पनि हार्दिकता बढाएको छ,’ एक जना कार्यकर्ता खडक विष्टले भने, ‘दुवै जनाको व्यवहार देखेर धेरै खुशी लाग्यो । उहाँहरूबाट अरुले पनि सिकून ।’
नेताहरू बीचको वैमनश्यताका कारण कार्यकर्तास्तरमा पनि झैझगडा भएर वर्षौंसम्म बोलचाल नहुने अवस्था आएको उदाहरण सुनाउँदै उनले प्रतिस्पर्धीलाई चर्को गाली गरेरभन्दा पनि हार्दिक व्यवहार गरेर चुनाव लड्दा कार्यकर्ता र समुदायस्तरमा पनि राजनीतिक विभाजन नआउने बताए ।
पूर्वजिविस सभापतिसमेत रहेका बजाल गत स्थानीय तहको निर्वाचनमा नेकपा एमालेका वीरेन्द्र खड्कासँग पराजित उम्मेदवार हुन् । नेकपा एमालेका उपसचिव रहेका सिंह पहिलो पटक स्थानीय तहको निर्वाचनमा होमिएका हुन् । यसअघि उनले २०५४ सालको स्थानीय निकायको निर्वाचन जितेर गाविस अध्यक्षको अनुभव बटुलिसकेका छन् ।