काठमाडौं — हाम्रो भान्सामा विभिन्न प्रकारका सागसब्जीको प्रयोग हुन्छ । टमाटर, पालक, लौका जस्ता तरकारी पोषणले भरिपूर्ण हुन्छन् भने धनियाँ र कढीपत्ता औषधिको रुपमा पनि प्रयोग गर्न गरिन्छ ।
तर तरकारी पकाउने बेलामा भने हामी त्यति ख्याल भने गर्दैनौं । तरकारी पकाउँदा पौष्टिक तत्व नष्ट हुनेगरी धेरैबेर पकाउने गर्छौं ।
तरकारीलाई कम पकाएर त्यसमा भएको पोषक तत्वलाई बचाउन सकिने पोषणविद्हरु बताउँछन् ।
टमाटर
दाल, तरकारी र मासुजन्य खानेकुरामा टमाटरको प्रयोग गरिन्छ । तर टमाटरलाई जति धेरै पकायो त्यति नै त्यसमा भएको पोटासियम र भिटामिन सी नष्ट हुँदै जान्छ । काँचो टमाटर स्वास्थ्यका लागि फाइदाजनक मानिन्छ ।
दालमा टमाटर राख्नु छ भने स-सानो गरेर काटेर पाकिसकेपछि माथिबाट राख्नुपर्छ । यसका साथै भेलपुरी,, चनाजोर गरम आदिमा राखेर पनि टमाटर खान सकिन्छ ।
पालक
शरीरमा आइरनको कमी भए चिकित्सकले पालकको तरकारी खान सल्लाह दिन्छन् । १०० ग्राम पालकमा ९१ प्रतिशत पानी र तीन ग्राम प्रोटिन पाइन्छ । यसमा भिटामिन सी, भिटामिन के, क्याल्सियम, फाइबर र ओमेगा-३ पाइन्छ ।
मांसाहारी परिवारका लागि पालक निकै फाइदाजनक मानिन्छ । पालकलाई पकाएर खाँदा त्यसमा भएको प्राकृतिक जल नष्ट हुन्छ । पालकलाई पकाएर खानु भन्दा सफा पानीमा उमालेर, मनतातो पानीमा पकाएर तथा पाकिसकेको दालमा काटेर राख्दा स्वास्थ्यका लागि लाभदायक मानिन्छ ।
यस्तो गर्दा दालमा स्वाद आउँछ भने पालकमा भएको पौष्टिक तत्व कायम रहन्छ ।
कुन्दरु
कुन्दरुमा मधुमेह नियन्त्रण गर्ने गुण हुन्छ । यसमा फाइबर पाइने हुँदा यसले मोटोपन घटाउन मद्दत गर्छ । काँक्रा जस्तो गरी कुन्दरुलाई काँचै सलादका रुपमा प्रयोग गर्न सकिन्छ ।
यसका अतिरिक्त पुदिना, सिमला मिर्च, टुसा पलाएको अनाजलाई पनि काँचै खान सकिन्छ । सलादका रुपमा यसमा माथिबाट थप कागती, हरियो खुर्सानी, धनियाँ र प्याज समेत प्रयोग गर्न सकिन्छ ।