शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • बलिउड/हलिउड
  • को हुन् यस वर्षकी विश्व सुन्दरी ?

को हुन् यस वर्षकी विश्व सुन्दरी ?

  • बिहिबार, चैत्र ३, २०७८
को हुन् यस वर्षकी विश्व सुन्दरी ?

पोल्याण्डकी क्यारोलिना बेइलावस्काले ७० औं विश्व सुन्दरी प्रतियोगिताको उपाधि जितेकी छन् । पुएर्तोरिकोमा बिहीबार बिहान सम्पन्न ग्रान्ड फिनालेमा उनले ताज पहिरिइन् ।

२२ वर्षीया क्यारोलिना व्यवस्थापन विषयमा स्नातकोत्तर अध्ययनरत हुन् । उनको उचाइ १.७९ मिटर छ । मोडल समेत रहेकी उनी पौडी, स्कुवा डाइभिङ, टेनिस र ब्याडमिन्टन खेल्न रुचाउँछिन् । मोटिभेसनल स्पिकर बन्ने उनको लक्ष्य छ ।

क्यारोलिनको ब्युटी विथ पर्पस प्रोजेक्टले संकटमा परेका घरबारविहीन मानिसलाई समस्याको बारेमा चेतना जगाउने र सामाजिक बहिष्करणविरुद्ध लड्न निरन्तर मद्दत प्रदान गर्छ । यो परियोजनाअन्तर्गत प्रत्येक आइतबार त्यस्ता व्यक्तिलाई तातो खाना, पेय पदार्थ, लुगा, मास्क, कानुनी सल्लाह र व्यावसायिक चिकित्साजस्ता सेवा प्रदान गर्ने गरिएको छ ।

मिस वल्र्ड विजेताको रुपमा नाम घोषणा गरिएपछि क्यारोलिनले भनेकी थिइन्, ‘म मेरो नाम सुन्दा आश्चर्यचकित भएँ । अहिले पनि विश्वास गर्न मुस्किल भइरहेको छ । म मिस वल्र्डको ताज जित्न सफल भएकोमा गर्व महसुस गर्छु र काममा फर्कन अधैर्य छु । पुएर्तोरिकोको यो क्षण मेरो लागि जीवनभर स्मरणीय रहिरहनेछ ।’

मिस वल्र्डको अन्तिम ६ मा अमेरिका, पोल्याण्ड, इन्डोनेसिया, मेक्सिको, उत्तरी आयरल्याण्ड, कोटे डी आइभोर छानिएका थिए । नेपालले अन्तिम १२ मा पनि स्थान बनाउन सकेन । मिस नेपाल नम्रता श्रेष्ठ अन्तिम ३० मा छानिएकी थिइन् ।

मिस वल्र्डको प्रमुख विधा मानिएको ब्युटी विथ पर्पसमा नेपालले टपटेनमा स्थान बनाएको थियो । तर यो विधा चाहिं अमेरिकाले जित्यो । अमेरिकाकी श्री साइनी फस्ट रनरअप घोषित भइन् भने कोटे डी आइभोरकी ओलिभिया एस सेकेन्ड रनरअप ।

रुसले युक्रेनमाथि गरेको आक्रमणको विरोध र युक्रेनप्रति सहानुभूति जनाउन ग्रान्ड फिनालेमा ३०० मैनबत्ती बालिएको थियो भने स्टेजलाई युक्रेनी झण्डाको रङमा डिजाइन समेत गरिएको थियो ।

चर्चामा

सम्बन्धित समाचार