शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • समाचार
  • बिना सूचना बझाङमा हेलिकप्टर र प्याराग्लाइडिङ उडान: प्रशासन कार्यालय बेखवर

बिना सूचना बझाङमा हेलिकप्टर र प्याराग्लाइडिङ उडान: प्रशासन कार्यालय बेखवर

  • मङ्लबार, चैत्र १, २०७८
बिना सूचना बझाङमा हेलिकप्टर र प्याराग्लाइडिङ उडान: प्रशासन कार्यालय बेखवर

अर्थ जङ्ग शाही/बझाङ — बझाङको जयपृथ्वी नगरपालिका र बैतडीको आकाश आज अपरिचित ब्यक्तिले प्याराग्लाइडिङ उडाएका छन् । जिल्ला प्रशासन कार्यालय तथा स्थानिय सरकारको विना जानकारी प्याराग्लाइडिङ उडाएको जानकारी प्राप्त भएको छ ।

बझाङ जिल्लाको जयपृथ्वी नगरपालिका वडा न ७ को धम्नाउ, ज्वाडाको आकासमा विना अनुमती अपरिचित ब्यक्तिले प्याराग्लाइडिङ उडाएको स्थानिय सन्तोष खड्काले बताए । दिउसो १२ बजेदेखी १ वजेसम्म को समयसम्म जयपृथ्वी नगरपालिका वडा नं. ७ को आकासमा उक्त प्याराग्लाइडिङ उडाएको र त्यसपछी त्यहाबाट हराएको उनले बताए ।

यता जिल्ला प्रशासन कार्यालय बझाङले भने कसले र के उदेश्यले प्याराग्लाइडिङ उडाएको हो केही जानकारी नआएको जनाएको छ । सहायक प्रमुख जिल्ला अधिकारी रामराज गौतमले प्याराग्लाइडिङ उडाउनका लागी अनुमति लिएको व्यक्तिले पनि स्थानिय प्रशासनको अनुमती विना उडान गर्न नपाउने भएका कारण अनुमती लिनु पर्ने बताए । तर जिल्लामा प्याराग्लाइडिङ उडानका लागी कसैले पनि अनुमती नलिएको उनको भनाइ रहेको छ । त्यस वारेमा जानकारी लिइरहेको उनले बताए । शनिवार जिल्लाकै थलारा गाउँपालिका वडा नं. ९ मा पनि विना जानकारी भारतिय सवार हेलिकप्टर अवतरण भएको थियो ।

यस्तै सोमबार नै बैतडी जिल्लाको दशरथचन्द नगरपालिका र पुचौर्डी नगरपालिकामा पनि प्याराग्लाइडिङ उडाइएको छ । दशरथचन्द नगरपालिकाको वडा नं १ र २ को क्षेत्रमा प्याराग्लाइडिङ उडाइएको हो । सोमबार दिउँसो आकाशमा देखिएको प्याराग्लाइडिङलाई सतबाँझको चुचुरोमा अवतरण गरिएको थियो । सतवाँझको जंगलमा प्याराग्लाइडिङ अवतरण गरेका कारण ब्यक्ति पहिचान हुन नसकेको स्थानिय एकेन्द्र चन्दले बताए । पुर्चौंडी नगरपालिकाको आकाशमा पनि प्याराग्लाइडिङ उडाएको स्थानीय धनसिंह साउँदले बताए । प्याराग्लाइडिङ कसले उडाएको हो भन्ने कुरा यकिन भएको छैन् । बझाङको जयपृथ्वी नगरपालिका र बैतडीका दुई स्थानमा उडान गरिएको प्याराग्लाइडिङ एकै हो वा फरक हो भन्ने पनि एकीन भएको छैन् ।

बैतडी जिल्लामा समेत स्थानीय प्रशासनको अनुमति कसैले नलिएको जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी खगेन्द्र भारतीले बताए । यो बिषयमा आफूले बुझिरहेको समेत उनको भनाइ रहको छ । स्थानीय प्रशासनको अनुमति बिना प्याराग्लाइडिङ सञ्चालन गर्नु कानुन विपरीतको कार्य भएपनि बझाङ र बैतडीको आकाशमा प्याराग्लाइडिङ उडान गरिएको हो । यसको बिषयमा खोजबीन हुने र सम्बन्धित निकायबाट अनुमति नलिएको पाइएमा कारवाही हुने भारतीले बताए ।

चर्चामा

सम्बन्धित समाचार