शुक्रबार, चैत्र १६, २०८०
  • होमपेज
  • समाचार
  • क्यान्सर पीडित मुजाफेरलाई १४ महिनामा ७८ पटक कोरोना संक्रमण

क्यान्सर पीडित मुजाफेरलाई १४ महिनामा ७८ पटक कोरोना संक्रमण

  • शुक्रबार, फाल्गुन २७, २०७८
क्यान्सर पीडित मुजाफेरलाई १४ महिनामा ७८ पटक कोरोना संक्रमण

काठमाडौं —  सायद ५६ वर्षका मुजाफेर कायासन संसारकै सबैभन्दा अभागी व्यक्ति होलान् । रक्त क्यान्सरबाट पीडित मुजाफेरलाई पछिल्लो १४ महिनामा लगातार ७८ पटक कोरोना संक्रमण भएको छ र पनि उनी अझै जीवितै छन् ।

टर्कीका नागरिक मुजाफेर सबैभन्दा लामो समयसम्म निरन्तर कोरोना पोजेटिभ हुने व्यक्ति रहेको डाक्टरहरु बताउँछन् । क्यान्सरका कारण रोग प्रतिरोधी क्षमता कमजोर भएका कारणले गर्दा उनी पटक–पटक संक्रमित भएका हुन् ।

सन् २०२० नोभेम्बरदेखि पटक–पटक अस्पताल भर्ना हुने र बाहिरिने गर्नुपर्दा पनि उनको मनोबल घटेको छैन । तर पहिलोपटक संक्रमित हुँदा चाहिं उनलाई अब मरिहाल्छु कि भन्ने लागेको थियो ।

गत हप्ता गरिएको अन्तिम पीसीआर परीक्षणमा पनि कोरोना पोजेटिभ देखिएपछि उनले ठट्यौली शैलीमा भने– मलाई लाग्छ यो महिला कोभिड भाइरस हुनुपर्छ, जुन मसँग निकै आकर्षित छ ।
नौ महिना अस्पतालमा र पाँच महिना आफ्नो निवासमा आइसोलेसनमा रहँदा उनी बाह्य संसारबाट लगभग पूरै अलग भएका छन् । उनलाई भेट्न आएकी नातिनी समेत काँचको ढोका बाहिर बसेर कुरा गर्दछिन् । नातिनीसँग कुरा गर्दै उनले निको भएपछि सँगै खेल्ने बाचा गर्दछन् ।

रोगप्रतिरोधी क्षमता कम गर्ने औषधि सेवन गरेका मानिसहरुमा कोरोना संक्रमण लामो समयसम्म रहने र पटक–पटक संक्रमण देखिने जोखिम हुन्छ । क्यान्सर भएका मानिसहरुमा कोरोना खोप लगाएपछि पनि पर्याप्त मात्रामा एन्टीबडी उत्पादन नहुने देखिएको छ ।

मुजाफेरको उपचार गरिरहेका डाक्टर सेराप सिम्सेक यावुज इस्तानबुल विश्वविद्यालयको संक्रामक रोग तथा चिकित्सा माइक्रोबायोलोजीका प्राध्यापक समेत हुन् । मुजाफेरलाई भएको कोरोना संक्रमण अहिलेसम्मकै लामो संक्रमण भएको भन्दै म्युटेन्ट भेरिएन्टको जोखिम रहनसक्ने तर्फ उच्च सतर्कता अपनाएको बताउँछन् ।

कुनै व्यक्ति ४४१ दिनसम्म कोरोना संक्रमित रहिरहेको घटना विश्वमा अहिलेसम्म अन्त कतै फेला नपरेको भन्दै कोरोना संक्रमण जारी रहेकै कारण उनले खोप समेत लगाउन नपाएको डाक्टरको भनाइ छ ।

१४ महिनादेखि गन्ध तथा स्वाद थाहा नपाएका मुजाफेरलाई अस्पताल र घरभित्र बन्दी जस्तो बनेर बस्नुपर्दा दिक्क लागेको छ । त्यसैले आफूलाई बन्धकमुक्त गर्न उनले सरकारी अधिकारीहरुसँग अपिल गरेका छन् । –एजेन्सी

चर्चामा

सम्बन्धित समाचार