मङ्लबार, चैत्र ६, २०८०
  • होमपेज
  • सुचना प्रबिधी
  • उत्तर कोरियाली ह्याकरले चोरी गरे ४० करोड डलरको क्रिप्टोकरेन्सी

उत्तर कोरियाली ह्याकरले चोरी गरे ४० करोड डलरको क्रिप्टोकरेन्सी

  • सोमवार, माघ ३, २०७८
उत्तर कोरियाली ह्याकरले चोरी गरे ४० करोड डलरको क्रिप्टोकरेन्सी

उत्तर कोरियाली ह्याकरहरुले गतवर्ष सन् २०२१ मा झण्डै ४० करोड डलर बराबरको क्रिप्टोकरेन्सी चोरी गरेको एक अध्ययनले देखाएको छ ।

सन् २०२१ मा डिजिटल क्रिप्टोकरेन्सी प्लाटफर्महरुमा भएका कम्तीमा ७ वटा मूख्य साइबर हमलाका क्रममा यतिधेरै क्रिप्टोकरेन्सी उत्तर कोरियाली ह्याकरहरुले हात पारेका हुन् ।

ब्लकचेन विश्लेषण कम्पनी चेनालाइसिसले सार्वजनिक गरेको रिपोर्ट अनुसार उत्तर कोरियाली साइबर अपराधीका लागि सन् २०२१ सबैभन्दा सफल वर्षको रुपमा रहेको छ । सन् २०२० मा उत्तर कोरियाली ह्याकरहरुले ४ वटा मुख्य साइबर हमला गरेकोमा सन् २०२१ मा त्यो संख्या ७ मा उक्लिएको छ भने यो एक वर्षमा क्रिप्टोकरेन्सीको चोरी ४० प्रतिशतले बढेको छ ।

गतवर्ष उत्तर कोरियाली ह्याकरहरुले मूख्यतया लगानी कम्पनी तथा केन्द्रिकृत विनिमय संस्थाहरुमा आक्रमण गरेका थिए । उत्तर कोरियाले भने यस्ता खालका साइबर हमलामा आफ्नो मुलुकको संलग्नता अस्वीकार गर्दै आएको छ ।

रिपोर्ट अनुसार ह्याकरहरुले फिसिङ, कोड दुरुपयोग तथा मालवेयर लगायतको सहयोगमा विभिन्न निकायहरुको कोष अर्थात् क्रिप्टोकरेन्सी हट वालेटबाट रकम चोरी गरी उत्तर कोरिया नियन्त्रित ठेगानामा पठाउने गरेका छन् ।

क्रिप्टोकरेन्सी हट वालेटहरु इन्टरनेट तथा क्रिप्टोकरेन्सी नेटवर्कसँग जोडिएका हुनाले ह्याकिङको जोखिममा रहन्छ । क्रिप्टोकरेन्सी पठाउन र प्राप्त गर्नका लागि हट वालेटको प्रयोग हुन्छ र यसमा आफुसँग कति टोकन छ भन्ने पनि हेर्न सकिन्छ ।

त्यसैले दैनिक रुपमा प्रयोगमा नआउने क्रिप्टोकरेन्सीलाई हट वालेटबाट कोल्ड वालेटमा स्थानान्तरण गर्न विज्ञहरुले सुझाव दिने गरेका छन् । कोल्ड वालेट व्यापक इन्टरनेट नेटवर्कबाट अलग हुने हुनाले ह्याकिङको जोखिम कम हुन्छ । बीबीसी

चर्चामा

सम्बन्धित समाचार