मङ्लबार, चैत्र ६, २०८०
  • होमपेज
  • राजनीति
  • जहाँ लाग्यो त्यहीँ सफल 

जहाँ लाग्यो त्यहीँ सफल 

  • शुक्रबार, पुस ३०, २०७८
जहाँ लाग्यो त्यहीँ सफल 

 मुकेश कुँवर/अछाम — कोरोना संक्रमणका पहिलो चरणका बेला सुदूरपश्चिमको अवस्था अस्तब्यस्त थियो । एकातिर रोगको महामारी अर्कोतिर बन्दाबन्दीले सबैको जनजीवन तहसनहस हुन थालेको थियो । विरामीहरुले नियमित सेवन गर्नुपर्ने औषधी पाउन सकिरहेका थिएनन्, अशक्त र अपाङ्गता भएकाहरुका सहारा सामग्रीहरु सकिएर सन्नाटामा थिए, विपन्न र मजदुरी गरेर गुजारा चलाउनु पर्ने परिवारहरुको चुल्ह्रो बल्न बन्द हुने अवस्था थियो । यस्तै प्रकारका अनेक संकटको सामना गरिरहेका विपन्न तथा सहाराविहीनहरुको घर-आँगनमा एक्कासी केही केही न केही सहयोगी सामग्री ल्याएर टुप्लुक्क आइपुग्थे भरत शाह । आफ्नो घर-आँगनमा टुप्लुक्क भरतलाई देखेपछि कैयौं सहाराविहीनका आँखा रसाएका हुन्थे, संकटको सामना गरिरहेका बेला टुप्लुक्क भरतलाई देखेपछि कतिपयले त उनलाई भगवानकै रुप ठान्थे । त्यही भन्थे पनि ।
संकटमा सानोतिनो सहयोगको प्रयास गरिरहेका भरत शाह आफ्ना कामहरुको चर्चापरिचर्चा र वयान गरेर आफू चर्चामा पनि आउन चाहन्नथे । उनी भन्थे, ‘प्रचारप्रसार गर्नु त दुखमा परेकाहरुको संवेदनामाथि खेल्नु सरह हो । धेरै त मैले पनि के नै गर्न सकेको छु र । सानो प्रयास न हो ।’ तर उनलाई चिनेजानेकाहरु ‘उनी जहाँ लाग्यो त्यहीँ सफल ब्यक्ति’ का रुपमा बुझ्ने गरेका छन् ।
कलिलै उमेरका भरत शाह हुन त सुदूरपश्चिममा मात्रै हैन, देशैभर धेरैले चिनेजानको युवा हुन् । सामाजिक सेवा र राजनीतिक क्षेत्रमा रुची राख्ने उनलाई धेरैले सहयोगी साथीका रुपमा लिन्थे । अझ, जहाँ लाग्यो त्यही काममा दत्तचित्त भएर लाग्ने उनको स्वभाव र क्षमता अनि आनीवानीले पनि धेरैले उनीमाथि भरोसा राखेको देखिन्थ्यो । लामो समय काठमाण्डौंमा रहेर विभिन्न क्षेत्रमा काम गरेका उनी पछिल्लो समय उनी सुदूरपश्चिमको सेवामा केन्द्रित भएका थिए ।
भरत शाहको अर्को परिचय जनसम्पर्क स्थापित गर्नमा अब्बलता पनि हो । उनी हर क्षेत्रमा कार्यरत तलदेखि माथिसम्मका सबैसँग तत्काल घुलमिल हुनसक्ने क्षमता भएका ब्यक्ति हुन् । राजनीति होस् कि सुरक्षा, प्रशासनिक निकायका हुन् कि ब्यापार ब्यवसाय वा सञ्चार क्षेत्र, अनि सर्वसाधारणसँग पनि उत्तिकै बहुत चाँडो घुलमिल हुन सक्ने र मित्रता कायम गर्नसक्ने खुबी भएकाले देशभरकै विभिन्न नेटवर्कमा थिए भरत शाह । उनको यस क्षमताको पनि धेरैले प्रशंशा गर्ने गर्छन् ।
नेपालका चार धाममध्येको एक अछामको बैधनाथ धामको समीपमा जन्मेहुर्केका भरत शाहले एसएलसीसम्मको शिक्षा कालीमाटीकै स्थानीय विद्यालयबाट हासिल गरे । त्यसपछि उच्च शिक्षाका लागि उनी काठमाण्डौं हानिए । काठमाण्डौंमा बस्दा पनि उनले एकै क्षेत्रमा मात्र आफूलाई सीमित गरेनन् । राजनीति, जागिर र ब्यापार ब्यवसायमा समान रुची राखे । हुन त धेरैतिर खुट्टा राख्ने ब्यक्ति सफल हुन सक्दैन भन्छन् तर भरत शाहका हकमा त्यो भनाई अपवाद जस्तै भयो । बामपन्थी राजनीतितर्फ आकर्षित उनी त्रिचन्द्र कलेजमा अध्ययरत रहेकै बेला विभिन्न सांगठनिक क्रियाकलापमा अग्रसर मात्र भएनन् त्यहाँ हुने विभिन्न आन्दोलनमा पनि अग्रमोर्चामा देखिन्थे ।
त्यसैबेला उनी नेपालको सुरक्षा निकायमा पनि जागिरे भए । राष्ट्रिय अनुसन्धान विभाग अन्तर्गतको स्थायी जागिर प्राप्तिको अवसरमा पुगेपछि त उनले आफूलाई झन् धेरै निखार्ने मौका पाए र त्यो मौका उनले चुकाएनन् पनि । पेशामा दक्षता अभिवृद्धि गर्नुका साथै त्यो प्लेटफर्मलाई पनि उनी जनसम्पर्क बढाउनमा भरपुर उपयोग गरे । तर उनको स्वभाव र रुची अनुसार उनले आफूलाई त्यसै जागिरमा लामो समय सीमित राखिरहन उपयूक्त ठानेनन् । जागिरबाट राजिनामा दिए ।
प्रदेश सरकार गठन भएपछि उनीमा आफूलाई सुदूरपश्चिम प्रदेश सरकारका कुनै निकायलाई बाह्रय रुपमा सपोर्ट गर्ने अभिरुची जाग्यो । उनले लामै समय आन्तरिक मामिला तथा कानुन मन्त्रीको सचिवका रुपमा काम गर्दै बाह्रय सहयोग गरे । यसबाट उनले संघीयता, प्रदेश संरचनाको अवसर र चुनौतिलाई भित्रैबाट बुझ्ने मौका प्राप्त गरे । हरेक क्षेत्रका ब्यक्तिहरुसँग सम्बन्ध विस्तार गर्नसक्ने खुबी भएकै कारण भरतले अछाममा विभिन्न विकास निर्माणका कार्य, बजेट तथा योजना निर्माणमा पनि योगदान गर्न सफल भए ।
पछिल्लो समय नेकपा एमालेको युवा संघमा क्रियाशील उनी हालै अछाममा भएको जिल्ला अधिवेशनमा आफू उम्मेदवार बनेको पदमा सानदार ढंगले विजय हासिल गर्न सफल भएका छन् । जिल्ला कमिटि सदस्यमा निर्वाचित भएका उनी आगामी दिनमा आफ्नो सम्पूणर् समय भूगोलको राजनीतिमा समर्पित गर्ने उद्देश्य लिएको बताउँदै उनले भने ‘अहिलेसम्मका मेरा सबै अनुभव र भोगाई र सिकाइका आधारमा अब राजनीतिमा लगाउँछु । राजनीतिबाट नै हो समाज सुधार गर्न सकिने भन्ने विश्वास छ मेरो ।’

चर्चामा

सम्बन्धित समाचार