बिहिबार, चैत्र १५, २०८०
  • होमपेज
  • समाचार
  • बाघको आक्रमणबाट घाँस काट्न गएकी महिलाको मृत्यु

बाघको आक्रमणबाट घाँस काट्न गएकी महिलाको मृत्यु

शव छुटाउन प्रहरीले गर्नुपर्‍यो फायर

  • बिहिबार, पुस २२, २०७८
बाघको आक्रमणबाट घाँस काट्न गएकी महिलाको मृत्यु

बाँकेमा फेरि बाघको आक्रमणबाट एक जना महिलाको मृत्यु भएको छ।

जिल्लाको राप्ती सोनारी गाउँपालिका-४ प्रसौनीकी ५३ वर्षीया लिला विष्टको बिहीबार दिउँसो बाघको आक्रमणबाट मृत्यु भएको हो।

जिल्ला प्रहरी प्रमुख एसपी श्यामकृष्ण अधिकारीले जलहन सामुदायिक वनमा मध्यान्ह १२ बजेतिर घाँस काट्न गएकी विष्टलाई बाघले झम्टिएर लगेर गएको बताए।

‘तीन जना जंगलमा घाँस काट्न गएका रहेछन्,’ अधिकारीले भने, ‘तीमध्ये विष्टलाई बाघले झम्टिएर लगेपछि सँगै गएकाहरू फर्किएर खबर गरेका हुन्।’

त्यसपछि प्रहरी र स्थानीय ट्याक्टरमा चढेर जंगलतर्फ गएको र घटनास्थलभन्दा ६० मिटर जति टाढा बाघले ती महिलालाई नछोडेपछि प्रहरीले हवाई फायर समेत गरेको एसपी अधिकारीले  बताए।

मानिसहरू पुग्दा पनि जलहन सामुदायिक वन अन्तर्गतको घट्ट खोला खोंचमा बाघले विष्टलाई नछोडेपछि त्यसलाई धपाउन हवाई फायर गर्नु परेको एसपी अधिकारीले जानकारी दिए।

हवाई फायरपछि बाघ भागेको र पछि प्रहरीसहित पुगेका स्थानीयले विष्टको शव ल्याउन सफल भएको एसपी अधिकारीले बताए। शव पोष्टमार्टमका लागि भेरी अस्पताल नेपालगञ्जमा ल्याइएको पनि उनले जानकारी दिए।

गत बुधबार पनि राप्ती सोनारी ४ नयाँबस्तीकी ३० वर्षीया दुर्गा थारूलाई कोल्टेपानी जंगलमा पात टिप्ने क्रममा बाघले आक्रमण गरेको थियो। बाघलाई आफूसँगै रहेको खुर्पा प्रहार गरी दुर्गा जोगिन सफल भएकी थिइन्।

यसअघि पनि राप्ती सोनारी गाउँपालिकामा एक जना भारतीय नागरिकको बाघको आक्रमणबाट मृत्यु भएको थियो।

चर्चामा

सम्बन्धित समाचार