
पत्रकार तथा सामाजिक क्षेत्रमा सक्रिय पोखराका श्रीप्रसाद बास्तोलाले आफ्नै घरमा आत्महत्या गरेका छन् । महानगरपालिका ११ फुलवारिका बास्तोलाले सामाजिक सञ्जाल फेसबुकमा लेखेर घरभित्रै झुन्डि’एर आ’त्मह’त्या गरेका हुन् । उनले फेसबुकमा लेखेका छन्‘१५ वर्ष अगाडि आमाले भनेको नमान्दाको परिणाम पैतृक सम्पत्ति, घर, खेत, जग्गा, सुन, गहना र स्कुल सबै चैट, आज आफैँ पनि चैट ।’
जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता एवं डिएसपी सुवास हमालले बाँस्तोला बिहीबार राती आफ्नै घरमा झुन्डिएको अवस्थामा भेटिएको बताए । गए राति साढे तीन बजे फेसबुकमा आत्महत्या गर्नुपर्ने कारण र आफूलाई यौन काण्डमा फसाउन श्रीमतीसहित ९ जनाले षड्यन्त्र गरेको भन्दै यस्तो निर्णय लिन बाध्य भएको उल्लेख गरेका छन् ।
बास्तोलाले आफ्नै श्रीमतीले ९ जना व्यक्तिहरूसँगको षडयन्त्रमा झुकाएर खाली चेकमा हस्ताक्षर गर्न लगाएको, लेनदेनको कागज नच्याती पेस गरेको, नशालु पदार्थ खुवाएर एक महिलाको कोठामा पठाइ फसाउने उद्देश्यले यौन भिडियो बनाउने कार्य गरेर फसाउन खोजिएको समेत फेसबुकमा उल्लेख गरेका छन् ।
जानकारीका अनुसार दुई वर्ष अघि विश्वराज बास्तोला पोखरा ११ कै भाष्कर मेमोरियल एकेडेमीमा पढ्ने एक छात्रालाई अनैतिक दुर्व्यवहार गरेको आरोपमा पक्राउ परेका थिए । पछि सोही घटनामा आफूलाई फसाउने षड्यन्त्र रचिएको भन्दै उनी पछिल्लो समय मानसिक रुपमा विक्षिप्त थिए । स्टाटसमा पनि यस घटनालाई उनले मिसाएका छन् ।
मृतक बास्तोला सञ्चार क्षेत्रसँग जोडिएका व्यक्ति हुन् । बालमैत्री मिडियाका प्रकाशक, पोखरा टेलिभिजनको पूर्व सिइओ, शुभ लाभ एडभरटाइजिङ एजेन्सीका सिइओ पनि हुन् । बालअधिकार नेपालका अध्यक्ष, शिशु विकास तथा स्याहार केन्द्रका सदस्य पनि हुन् । उनी पूर्व विद्यालय सञ्चालक पनि थिए ।
उनले लेखेका छन्ः ‘हाल आएर माथि उल्लेखित व्यक्तिहरूको षड्यन्त्रमा मेरी श्रीमतीले मेरो हस्ताक्षर गर्न लगाई झुक्याई खाली चेकमा रकम भरी फसाउने, भुक्तानी गरिएको लेनदेनको कागज नच्याती पेस गर्ने, श्रीमती सृजना बास्तोलाले मलाई नशालु पदार्थ खुवाई, अनिल गुरुङ र अजय केसीको सहयोगमा बिन्दु मगरले आफ्नो कोठामा बोलाई फसाउने उद्देश्य राखी यौन भिडियो बनाउने कार्य गरी मलाई फसाउन खोजेको सही साँचो हो ।’
उनले १५ वर्ष अघि आमाले भनेको नमान्दाको परिणाम भनेर स्टाटस सुरु गरेका छन् । परिवारको सहमतिबेगर सिर्जनासँग बिहे गरेकोतर्फ उनले ईंगित गरेको हुनसक्छ । आफ्नो पैतृक सम्पत्ति, घर, खेत, जग्गा, सुन गहना, स्कुल सबै चैट्, आज आफै चैट् भनेर आफै मृत्यु रोजेको प्रष्टीकरण पनि दिएका छन् ।
लज्जा देख्नु भन्दा अस्ताउनु बेस भन्दै श्रीमती सृजनालाई छल कपटकी श्रीमती सृजना घिमिरे भनेका छन् । ऋणहरू प्रायः आफूले तिरेको र केही बाँकी रहे श्रीमतीसँगै माग्न पनि उनले भनेका छन् । किरिया कोही नबस्न र लास नजलाउन पनि अनुरोध गरेका छन् ।
प्रहरीले सामाजिक सञ्जाल फेसबुकमा लेखिएको स्टाटसका सन्दर्भमा परिवारले आत्महत्या दुरुत्साहनमा निवेदन दिएमा नाम उल्लेखित सबैलाई पक्राउ गरी अनुसन्धान गर्न सकिने जनाएको छ ।
