संसार विचित्र छ । जो अन्न उत्पादन गर्छन्, खेती किसानी गर्छन् । उनीहरु नै पर्याप्त खान पाउँदैनन् । चर्को घाम नभनी, बर्खे झरी नभनी अरुका लागि खानेकुरा उत्पादन गर्ने धेरै किसान आधा पेट पनि खान पाउँदैनन् । यसैगरी जो भान्सामा काम गर्छन्, परिवारका लागि खानेकुरा बनाउँछन् । उनीहरु पनि पुग्दो खान पाउँदैनन् । पछिल्लो एक रिपोर्टले भन्छ, अरुका लागि अन्न उत्पादन गर्ने, अरुको लागि खाना पकाउनेहरुले पर्याप्त पौष्टिक खाना खान पाएका छैनन् ।
फुड एन्ड एग्रिकल्चर अर्गनाइजेसनको द स्टेट फूड सेक्युरिटी एन्ड न्यूट्रिशन इन द वल्र्ड २०२० को एक रिपोर्ट अनुसार छिमेकी मुलुक भारतमा करिब १९ करोड मान्छे पौष्टिक खानपानबाट वञ्चित छन् । भारतको कुल जनसंख्यामध्ये १४ प्रतिशतले राम्रो खानपान गर्न पाएका छैनन् । त्यसमा पनि महिलाको संख्या धेरै छ । उनीहरुमा एनिमिक अर्थात रगतको कमी छ । यसको अर्थ महिलाहरुमा आइरन, क्याल्सियम, मिनरल्सयुक्त खानपान मिलिरहेको छैन । भारतको यो स्थिती नेपाली सन्दर्भमा पनि मिल्दोजुल्दो छ ।
वल्र्ड फूड प्रोगामको अनुसार विश्वका करिब ८१ करोड मान्छे भोकै सुत्छन् वा उनीहरु पर्याप्त खान पाउँदैनन् । त्यसमा पनि करिब ६० प्रतिशत महिला छन् । विश्वमा पाँच बर्षको उमेरका करिब २० प्रतिशत बालबालिको तौल आफ्नो उमेरको तुलनामा निकै कम छ ।
एक तिहाई खाना नष्ट
उदेगलाग्दो कुरा त के भने, यत्तिका मान्छेहरु भोकै सुत्न बाध्य छन् वा पेटभर खान पाइरहेका छैनन् । जबकि हाम्रो भान्साबाट यस्ता थुप्रै खानेकुरा नष्ट भइरहेका छन् । विश्वभरको तथ्यांक हेर्दा हरेक बर्ष कुल खानाको एक तिहाई खाना मान्छेले उपभोग नगरी नष्ट गर्छन् । यसमा ४० प्रतिशत फल र सब्जी, ३० प्रतिशत अन्न छ ।