आइतवार, अशोज १०, २०७८
  • होमपेज
  • मनोरञ्जन
  • २५ वर्षकी दृष्टिबिहिनले जितिन् एक करोड

२५ वर्षकी दृष्टिबिहिनले जितिन् एक करोड

  • बुधबार, भदौ १६, २०७८
२५ वर्षकी दृष्टिबिहिनले जितिन् एक करोड

भारतको आगराकी हिमानी बुंदेलाले सपनामा पनि सोचेकी थिइनन् कि एकदिन उनको सफलता देशभरीबाट हेरिनेछ । बलिउड महानायक अमिताभ बच्चनले उनको तरिफ गरेर थाक्ने छैनन् ।

२५ वर्षको उमेरमा नै हिमानी बुंदेला ‘कौन बनेगी करोडपति’ सिजन १३ की पहिलो करोडपति बनेकी छिन् । उनको सफलता यसकारण पनि महत्वपूर्ण छ किनभने उनी दृष्टिविहिन हुन् ।

हिमानी १५ वर्षको हुँदा एक दुर्घटनामा उनको आँखाको दृष्टि गुम्यो । आर्थिक रुपमा सामान्य रहेको परिवारले हिमानीको आँखाका चारवटा शल्यक्रियाको खर्च उठायो तर उनको आँखाको ज्योति फर्किएन ।

तर हिमानीले हिम्मत हारिनन् । नयाँ ढङ्गले सुरुवात गरिन् र आफ्नो परिवारमा सरकारी जागिर खाने पहिलो व्यक्ति बनिन् ।

केन्द्रीय विद्यालयमा शिक्षिकाको जागिर खाने हिमानी बुंदेलाले कौन बनेगा करोडपति (केबीसी) मा करोड जितेको आफ्नो अनुभव बीबीसीसँग साझा गरिन् । उनको कहानी उनकै शब्दमाः ‘केबीसीका लागि सन् २००९ देखि नै कोसिस गरिरहेकी थिएँ’

मलाई बाल्यकालदेखि नै टिभी हेर्न शौक थियो । जब म रियालिटी शो हेर्थे र मानिसहरुले आफ्नो प्रस्तुती दिइरहेको देख्थेँ, त्यतिबेला ‘के म पनि टिभीमा आउन सक्छु ?’ भन्ने प्रश्न आउँथ्यो ।

एकदिन मैले केबीसी हेरेँ, अनि मलाई महसुस भयो कि हामी साधारण ज्ञानको आडमा त्यहाँ जान सक्छौं । त्यति नै बेला आफू पनि हट सीमा बस्ने र अमिताभ सरलाई भेट्ने निश्चित गरेँ ।

अब त संसारले नै देखिसकेको छ कि म हट सिटसम्म मात्रै पुगिनँ, मैले एक करोड भारु पनि जितेँ । यो अनुभव म शब्दमा बयान गर्न सक्दिनँ । तर यो एक झट्कामा पाएको सफलता भने होइन ।

मैले सन् २००९ देखि नै ‘कौन बनेगा करोडपति’ मा रजिस्ट्रेशनको कोसिस गरिरहेकी थिएँ तर हरेक पटक फेल हुन्थेँ । रजिस्ट्रेशन गर्नै सकिँदैनथ्यो । यसैबीच मेरो दुनियाँ फेरियो, आँखाको ज्योति गुम्यो तर १० वर्षपछि सन् २०१९ मा रजिस्ट्रेशन सफल भयो, तर हट सिटमा बस्ने मौका पाइनँ । सन् २०१९ देखि २०२१ सम्म लगातार तीनपटक रजिस्ट्रेशन सफल भयो र अन्त्यमा मौका सन् २०२१ मा पाएँ ।

जब सोनी टिभीले मलाई तपाईं ‘कौन बनेगा करोडपति’ मा भाग लिन मुम्बई आउँदै हुनुहुन्छ भन्ने जानकारी दिए तब मलाई सुरुमा त विश्वास नै लागेन । सुरुमा त कसैले जालझेल गर्न लागेको हो कि भन्ने लाग्यो । तर उनीहरुसँग लामो कुराकानी भयो । कुराकानीका बीच जब मसँग कुनै प्रकारको बैंक डिटेल्स वा कुनै नीजि जानकारी मागिएन, त्यसपछि मात्रै विश्वास भयो ।

केबीसीको सेटबाट बाहिर निस्किएपछि पनि मलाई यस्तो लागिरहेको थियो कि के साँच्चै नै म अमिताभ सरसँग बसेकी थिएँ । उनले मलाई आफ्नो हातले पानी दिए । मलाई यो सबै सपना जस्तो लागिरहेको थियो । मलाई लागिरहेको थियो कि मेरो जीवनमा मैले सबैकुरा पाएकी छु र यो समय अब यहिँ नै रोकियोस् ।

दृष्टिविहिन भएका कारण डर थियोः

यद्यपि, फास्टेस्ट फिंगर फर्स्ट भएका कारण मेरो दिमागमा अब यो कसरी होला भन्ने सोच रातभरी चल्यो किनभने मेरो प्रतिस्पर्धा त्यस्ता मानिसहरुसँग हुनेछ जो हेर्न सक्थे, सुन्न सक्थे र सबैकुरामा साधारण थिए । किनभने उनीहरु सबैसँग सिक्नका लागि धेरै कुरा उपलब्ध थिए ।

एकपटक त यस्तो लाग्यो कि मेरो यहि कमजोरीका कारण मलाई हट सिटमा बस्ने मौका नदिइने हो कि । तर मलाई आफूमाथि विश्वास थियो र त्योभन्दा पनि थुप्रै गुणा केबीसीको समूहले मलाई सपोर्ट गरे । यसका कारण मभित्र जुन डर थियो त्यो समाप्त भयो किनभने घरबाट जब म निस्किएकी थिएँ तब मैले यहि सोचेकी थिएँ कि – या त जित्नेछु या सिक्नेछु ।

जब एक करोडको प्रश्न मलाई सोधियो तब म असाध्यै डराएकी थिएँ किनभने साधारण परिवारका लागि एक करोड ठूलो रकम हो । त्यतिबेला मलाई लाग्यो कि यदि मैले गलत जवाफ दिएँ भने म त सिधै ३,२०,००० मा झर्नेछु र सबै मिहिनेत बेकार हुनेछ । यो सोच्दा सबैभन्दा धेरै नर्भस भएँ । तर मेरो जवाफ सही रह्यो ।

चर्चामा

सम्बन्धित समाचार