• होमपेज
  • देश
  • राजनीतिक पृष्ठभूमिका नौ राजदूत फिर्ता गर्ने सरकारको तयारी

राजनीतिक पृष्ठभूमिका नौ राजदूत फिर्ता गर्ने सरकारको तयारी

भारतका लागि राजदूत नीलाम्बर आचार्य, चीनका महेन्द्रबहादुर पाण्डे र अमेरिकाका डा.युवराज खतिवडा तत्काल फिर्ता गर्ने सूचीमा

  • आइतवार, साउन ३१, २०७८
राजनीतिक पृष्ठभूमिका नौ राजदूत फिर्ता गर्ने सरकारको तयारी

अघिल्लो केपी ओली सरकारले राजनीतिक पृष्ठभूमिका आधारमा नियुक्त गरेका तीनजना ‘मन्त्रीस्तरीय’ राजदूतलाई वर्तमान सरकारले फिर्ता गर्ने तयारी गरेको छ । तत्काल फिर्ता हुने सूचीमा भारतका लागि राजदूत नीलाम्बर आचार्य, चीनका लागि राजदूत महेन्द्रबहादुर पाण्डे र अमेरिकाका लागि राजदूत डा.युवराज खतिवडा छन् । भारतका लागि राजदूत आचार्यले अघिल्लो सरकारकै पालामा राजीनामा दिन लागेका थिए, तर प्रधानमन्त्री ओलीको आग्रहमा उनी बसेका थिए ।

राजनीतिक पृष्ठभूमिका राजदूतहरूले यो सरकारको प्रतिनिधित्व गर्न सक्दैन : डा. प्रकाशशरण महत, सहमहामन्त्री, कांग्रेस

ओली सरकारले छिमेक र ठूला देशहरूसँगको सम्बन्ध बिथोलेको छ, सम्बन्धहरूमा अविश्वास र आशंका बढाएको छ । त्यसकारण, ओली सरकारले पठाएका राजनीतिक पृष्ठभूमिका राजदूतहरूले वर्तमान सरकारको प्रतिनिधित्व गर्न सक्दैनन् ।

मुलुकको उच्च कूटनीतिक प्राथमिकता रहेका मुलुकहरूमा यी राजदूतले परिवर्तित सन्दर्भमा नयाँ सरकारको प्रतिनिधित्व गर्न नसक्ने सत्तारुढ दलहरूको बुझाइ छ । अघिल्लो सरकारले सिफारिस गरेका ११ जना प्रस्तावित राजदूतहरूको सिफारिस वर्तमान सरकारले खारेज गरिसकेको छ ।

पूर्वपरराष्ट्रमन्त्री एवं कांग्रेस सहमहामन्त्री डा. प्रकाशशरण महतले ओली नेतृत्वको सरकारले परराष्ट्र नीतिमा बेथिति उत्पन्न गरेको भन्दै वर्तमान सरकारको प्रतिनिधित्व हुने गरी राजदूत सिफारिस हुने जानकारी दिए । ‘ओली सरकारले छिमेक र ठूला देशहरूसँगको सम्बन्ध बिथोलेको छ, सम्बन्धहरूमा अविश्वास र आशंका बढाएको छ,’ महतले नयाँ पत्रिकासँग भने, ‘त्यसकारण, ओली सरकारले पठाएका राजनीतिक पृष्ठभूमिका राजदूतहरूले वर्तमान सरकारको प्रतिनिधित्व गर्न सक्दैनन् ।’

मन्त्रिपरिषद् विस्तारलगत्तै कर्मचारी पृष्ठभूमिबाहेकका सबै राजदूतहरू फिर्ता गर्ने तयारी छ । कांग्रेस, माओवादी केन्द्र र जनता समाजवादी पार्टीको भागबन्डाका आधारमा कम्तीमा १६ मुलुकमा राजदूत सिफारिस हुनेछन् । म्याद थपिएकासमेत गरी हाल १३ मुलुकमा राजदूत नियुक्ति गर्नुपर्नेछ । भारतका लागि राजदूत नीलाम्बर आचार्य तथा एमाले पृष्ठभूमिका आठजना राजदूत फिर्तापछि सरकारले २२ मुलुकमा राजदूत सिफारिस गर्नेछ ।

जापानका लागि राजदूत प्रतिभा राणाको म्याद १५ असोजसम्म छ । ओमानका लागि राजदूत शर्मिला पराजुलीको कार्यकाल सकिएको छ, तर सरकारले अर्को व्यवस्था नभएसम्मका लागि म्याद थपेको छ । विभिन्न मुलुकमा नेपालका ३० दूतावास, तीनवटा संयुक्त राष्ट्रसंघका लागि स्थायी नियोग र ६ वटा महावाणिज्य दूतावास छन् ।

३३ राजदूतमध्ये परराष्ट्र सेवाका १० जना र निवर्तमान मुख्यसचिव गरी कर्मचारी पृष्ठभूमिका ११ जना राजदूत हाल कार्यरत छन् । हाल राजनीतिक पृष्ठभूमिका १० जना राजदूत कार्यरत छन् । म्याद थप भएका दुईसहित १३ मुलुकमा राजदूत पद रिक्त छन् । भारत, चीन र अमेरिकासहित एमाले पृष्ठभूमिका सबै राजदूत फिर्ता बोलाउने अवस्थामा सरकारले २२ जना राजदूत नियुक्तिका लागि सिफारिस गर्नुपर्नेछ ।

राजदूत रिक्त ११ देश : अस्ट्रिया, अस्ट्रेलिया, रुस, इजिप्ट, श्रीलंका, दक्षिण कोरिया, डेनमार्क, साउदी अरब, ब्राजिल, बहराइन, म्यानमार

१५ असोजबाट रिक्त : जापान, अर्को व्यवस्था नहुन्जेल म्याद थप : ओमान

दक्षिण कोरियामा तीन वर्षदेखि राजदूत रिक्त
दक्षिण कोरियामा ०७५ पुसदेखि राजदूत पद रिक्त छ । राजदूत अर्जुनजंगबहादुर सिंह फिर्ता भएपछि उपनियोग प्रमुखले दूतावास सञ्चालन गर्दै आएका छन् । श्रीलंकास्थित नेपाली दूतावासमा ०७६ साउनदेखि राजदूत पद खाली छ । राजदूत डा.विश्वम्भर प्याकुर्‍यालले राजीनामा दिएर फर्केपछि उपनियोग प्रमुखले दूतावास सञ्चालन गर्दै आएका छन् ।

फिर्ता हुने सूचीमा राजनीतिक पृष्ठभूमिका राजदूत

महेन्द्रबहादुर पाण्डे (चीन)
डा. वंशीधर मिश्र (बंगलादेश)
नारदमुनि भारद्वाज (कतार)
युवराज खतिवडा (अमेरिका)
अञ्जान शाक्य (इजरायल)
उदयराज पाण्डे (मलेसिया)
दावाफुटी शेर्पा (स्पेन)
डा.निर्मलकुमार विश्वकर्मा (दक्षिण अफ्रिका)
नीलाम्बर आचार्य (भारत)
परराष्ट्र सेवाका नौ राजदूत

अमृतबहादुर राई (न्युयोर्क, राष्ट्रसंघीय स्थायी नियोग)
गणेशप्रसाद ढकाल (थाइल्यान्ड)
तापस अधिकारी (पाकिस्तान)
मणिप्रसाद भट्टराई (स्विट्जरल्यान्ड)
भृगु ढुंगाना (क्यानडा)
रामकाजी खड्का (जर्मनी)
गेहेन्द्र राजभण्डारी (बेल्जियम)
दीपक अधिकारी (फ्रान्स)
कृष्णप्रसाद ढकाल (युएई)
निवर्तमान मुख्यसचिव : लोकदर्शन रेग्मी (बेलायत)
फर्किने ‘मुड’ मा नीलाम्बर

भारतका लागि राजदूत आचार्य २० माघ ०७५ मा राजदूत नियुक्त भएका थिए । उनलाई राष्ट्रपति विद्यादेवी भण्डारीले शीतल निवासमा शपथ खुवाएकी थिइन् । राष्ट्रपतिबाट शपथ खाने उनी पहिलो राजदूत हुन् । उनले २९ फागुनमा भारतका राष्ट्रपति रामनाथ कोविन्दसमक्ष ओहोदाको प्रमाणपत्र बुझाएका थिए । उनको कार्यकाल ०७९ फागुनसम्म छ ।

तर, उनले दुई वर्ष बसेर फर्किने सर्तमा आफू राजदूत भएको र फर्किने मुडमा रहेको परराष्ट्र मन्त्रालयको नेतृत्व तथा दूतावासस्थित सहकर्मीहरूमाझ सुनाएका छन् । ‘उहाँ फर्किने मुडमा हुनुहुन्छ, सम्भवतः नयाँ परराष्ट्रमन्त्री नियुक्त भएपछि राजीनामा दिनुहुन्छ,’ परराष्ट्र स्रोतले भन्यो । यसबारे बुझ्न खोज्दा राजदूत आचार्य सम्पर्कमा आउन चाहेनन् ।नयाँ पत्रिकाबाट साबार 

चर्चामा

सम्बन्धित समाचार