विकसित देशको एक विकट गाउँमा अधबैसे बाआमा बस्थे । उनका दुई छोरा थिए । ती दुई छोराको नाम धन र मन हो । जेठो धन र कान्छो मन । धन र मन जम्मै बीस महिनाको जेठो र कान्छा थिए । सानो छदा यी दाजुभाइ खुब मिल्थे । सँगै खान्थे, सँगै खेल्थे रमाउथे यहाँसम्म कि दिशापिसाब पनि सँगै गर्न जान्थे । साथीहरू सँग झगडा भए दुवै दाजुभाइ मिलेर खुबै कुट्थे र दादागिरी देखाउथे । दुवै दाजुभाइ हुर्कदै गए, बड्दै गए, पढ्दै गए । देशमा जनयुद्ध सुरु भयो । अरुको लहडमा लागेर धन पूर्णरूपमा भुमिगत भयो । त्यतिखेर मनलाई निकै न्यास्रो लाग्यो । धन विना आफ्नै घर आफैलाई भुत घर जस्तै लाग्यो मनलाई । धन भुमिगत भएकै कारणले सरकारले मनका बालाई खायो निकै यातना दिएर । अब घरमा विचरी विधुवा आमा र मन मात्रै रहे । धन भने उता जनसत्ताको खातिर युद्धमा होमिएको छ । नरम हृदयलाई कडा पत्थर बनाएर । गाउँमा सेता पहिरन कि आमा आफ्नो स्वर्गीय पतिको यादले होसमा छैनन् । कान्छो छोरा मनको मुख हेरेर बाँचिरहेकी छन् । मनलाई साथीहरूले गिज्याउछन्, होच्याउछन् बस ऊ भिजेको मुसो सिवाय केही बन्नै सक्दैन ।
समय बित्दै गयो देशमा संकटले झन कब्जा जमायो । सरकार पक्ष र विद्रोही पक्ष भनिएका बिच घमासान पर्न थाल्यो । धेरै वर्षपछि बल्ल दाजुभाइ काटमार खेल बन्द भयो । सम्झौता गरेर देशमा शान्तिले छायो । कैयौंलाई अंगभंग बनाएर, धेरैलाई घरबार बिहिन बनाएर, धेरै महिलाको ताजा सिउँदो पुछेर, हजारौंलाई टुहुरा बनाएर । धनले जनयुद्ध जित्यो । जो अभियानमा लागेको थियो सफल भयो । विद्रोही पक्ष सरकारमा सामेल भयो । धनले पनि ठूलो मौका पायो । ऊ संविधान सभाको सांसदमा मनोनीत भयो पिक्षडिएको क्षेत्रबाट । उसलाई धेरैले बधाई दिए । गाउँलेहरूले त बाजागाजा सहित ठुलै सम्मान र भोज गरे खुशियालीमा । मनको त झन भुइँमा खुट्टै छैन खुशीले । विडम्बना धन कि आमाले शान्ति हुनु भन्दा पहिले नै प्राण त्यागिसकेकी थिइन् । मनले आमा पनि वितेपछि घर सम्हालेर बस्नुपर्ने भएकाले कक्षा दस पढ्दापढ्दै स्कुलबाट सदाका लागि बिदा माग्यो ।
काठमाडौं मै धनले आफ्नै पार्टी कि एक महिला नेतृअसँग बिहे गरेको खबरले गाउँ ततायो । धन अब काठमाडौं मै बस्न थाल्यो । धन सांसद भएर धेरै कमाइ सकेको थियो । मानसम्मान, इज्जत, पैसा र मान्छे सबै । मनले भने उहीँ पूरानै पैत्रिक सम्पतिको नाउँमा भएको पाखा र खोरीयाको माटो पल्टाइरह्यो । माना रोपेर पाथी उब्जाएर आफुलाई पेट भर्ने काम गरिरह्यो । मनले गाउँलेको साथसहयोग र परलोक भएका बाआमाको याद सिबाय केही कमाउन सकेन । मन सोच्दथ्यो बालापनमा माया गर्ने मेरो दाजु कता होला ? कस्तो होला ? अहिले नेता कहलिएका धन के मेरै दाजु हुन् त ? कि काठमाडौंमै घर ठड्याएर बस्दा आफ्नो सानो भाइ, आफू जन्मेको जन्मभूमि भुले ? अहिलेसम्म घरै फिरेनन् ।
समय बित्दै गयो । धनले अहिलेसम्म मनलाई एक पैसाको सहयोग गरेन । धनको सांसदको पाँच वर्षको कार्यकाल सकियो । ऊ सांसदबाट पदमुक्त भयो । केही दिनपछि धन बल्ल आफ्नो परिवार सहित घर आयो । बेलुकाको समय ढुङ्गा र माटोको गाह्रोले पोतेको, खरले छोएको पुरानो दुई तले झुपडी जो स्वर्गीय बाले बनाएर बिदा भएका थिए । टिपलाइटको मधुरो उज्यालोमा धनका परिवार आउँदा थप उज्यालो देखियो घरको कोठा । सबै गाउँले आएर भेटघाट गरे । मन खाना बनाउन मै व्यस्त रह्यो । मकैको धुलो, मुसुरोको दालसँगै नुन र खुर्सानी हालेर ढिडो बनायो आजको खाना । मन सोच्दै थियो आज बाआमा भइदिएको भए कति खुशी हुनुहुदोहो । जोठो छोराले बुहारी भित्र्याएकोमा । तर, अहिलेसम्म धनले बाआमाको कुरै निकालेको छैन ।
धन गाउँमा किन आएको भनेको त बाको सम्पत्ति दुईभाग गर्न आएको पो रहेछ । मनले सम्हालेर राखेको बाको पैत्रिक सम्पती दुईभाग गर्न पंचहरू बसे । धेरैले भने धन त नेपाल बस्न्या मान्ठ किन भाग चाहियो मनकन खान दे । तर, धनले मानेन । गाउँलेहरूले सबै भागबन्डा गरेर सके । भनिन्छ नि “हत्केलाको रेखा पनि भाइको भाग हुन्छ ।” त्यस्तै भयो । धनले कामाएकोमा भने मनको कुनै हक नै लागेन । धनले अहिलेसम्म मनलाई ल भाइ भनेर पाँच पैसासम्म दिएको छैन । एक-एक गरीर सरसामान टुक्याए र दुई फ्याक गरे । बाआमाको सम्पती । धन भन्दै थियो म मेरो भागको जग्गा बेचेर जान्छु । कोही किन्ने भए भन्नू ।
मन एक कुनामा मैलो र झुत्रो लबेदामा सजिएको निकै मलिन मुद्रामा छ । गाउँलेहरू पनि मैलो लुगालत्तामा । धन भने हिरो जस्तो, डन जस्तो देखिन्छ । नौला कपडा, औंलामा सुनको औंठी, मोटोघाटो पनि । अब पंचले सबै सामान बाँडेर सके । धनले त्यो सानो कोठाभरी नजर घुमायो । भित्तामा धुवाँले छपक्कै ढाकेको मधुरो बाआमाको फोटोमा नजर लगायो । मन तर्सियो । अब यही फोटो पनि नछाड्ने भए धनेले मनमनै गम्यो । मुखिया काका ! ऊ त्यो फोटा बाँकी छ । बाआमाको त्यो पनि भाग गरौं न है ? धनले औंल्याएर बोल्यो । मन भने सुसुकायो । फेरि बालापनको आफ्नो धन दाजु सम्झ्यो अनि बाआमा । मनलाई लाग्यो यो धन आफ्नो दाजु होइन बरु अरु कोही आएर आफूसँग भाग खोस्दैछ । हुँदैन दाजी यो फुटा नबाँडौ, नचिरौं । भित्ताको फोटा समातेर छातीमा टाँस्दै मन बोल्यो । दाजु बरु लैजाउ यसैको अर्को प्रती निकालेर पठाइ दिनु । बाआमाको फोटा नहेरी म बस्नै सक्दिन । मेरो साहारा भनेकै यी गाउँले र यही एक फोटा मात्रै हो । मनले आँसु पुछ्दै फोटो धनको हातमा राख्यो । पंच सबै मसमस मस्किए ।
तोकन नपुग्दो क्या छियो र भाग लिन आइस । बिचारो मन कस्तो गरि बस्याको छ था छकि ? तो राम्णो भइ सोच्याको त आँखाम्मो धनको पट्टी लाग्याको रह्योछ । यै फुटाउदो तेरो मन रह्योन धेइ । ओए मन तो केइ धन्दा नमान हामी गाउँले तेरै सात छौ । हाम्मो गन्न्या गरियल्यौं बाइजाउ अब । रिसले आगो भएर मुखिया बा बोले । सबै गाउँले मुर्मुरीदै उठेर आ-आफ्नो घर गए ।