• होमपेज
  • समाचार
  • गोरखापत्रमा अनौठो घटनाः यी महाप्रबन्धक, जसले आफैँलाई प्रधानसम्पादक बनाए

गोरखापत्रमा अनौठो घटनाः यी महाप्रबन्धक, जसले आफैँलाई प्रधानसम्पादक बनाए

  • शुक्रबार, साउन २२, २०७८
गोरखापत्रमा अनौठो घटनाः यी महाप्रबन्धक, जसले आफैँलाई प्रधानसम्पादक बनाए

निमित्त प्रधानसम्पादक श्रीधर आचार्यले सरकारी स्वामित्वको अखबार गोरखापत्र दैनिकबाट पर्सि आइतबार अवकाश पाउँदै थिए । त्यसको ठीक तीन दिनअगाडि हिजो निमित्त महाप्रबन्धक शिवकुमार भट्टराईले आफूलाई निमित्त प्रधानसम्पादक ‘स्वघोषणा’ गरे । र, अवकाश लिन लागेका आचार्यलाई कार्यकारी सम्पादक पदमा घटुवा गरिदिए ।

हिजो दिनभरिमा गोरखापत्रमा जे भयो, निकै अनौठो भयो । त्यो आश्चर्य आज गोरखापत्रको प्रिन्टलाइनमा देख्न सकिन्छ– गोरखापत्र संस्थानका लागि निमित्त महाप्रबन्धक तथा गोरखापत्र दैनिकका निमित्त प्रधानसम्पादक शिवकुमार भट्टराई ।

४ साउनमा कृष्णमुरारि भण्डारीले राजीनामा दिएपछि सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले भट्टराईलाई ११ साउनमा निमित्त महाप्रबन्धक बनाएको थियो । तर, आजदेखि उनी केवल निमित्त महाप्रबन्धक रहेनन्, निमित्त प्रधानसम्पादक पनि भएका छन् । र, यो जिम्मेवारीका लागि हिजो दिनभर उनको तिकडम सानोतिनो थिएन ।

नयाँ प्रधानसम्पादक तोक्न उनले गोरखापत्र संस्थानको बोर्ड बैठकका लागि दबाब बनाइराखेका थिए । हिजो बोर्ड बैठक बस्ने तय पनि भएकाे थियो ।

तर, जसरी हुन्छ, आफैँ त्यो जिम्मेवारी लिने दाउमा भट्टराई रहेको थाहा पाएपछि सञ्चार तथा सूचना प्रविधि मन्त्रालयबाट प्रतिनिधित्व गरेका बोर्ड सदस्य श्रीधर गौतम बिच्किए । अब उनी बोर्ड बैठकका लागि तयार देखिएनन् ।

तर, भट्टराईलाई जसरी हुन्छ, हिजै निर्णय गराउनु थियो । बोर्ड बैठक नबसेपछि सम्भावनाको एउटा ढोका बन्द भयो । अर्को विकल्प थियो- आफूभन्दा एक तहमाथिको कर्मचारीले निर्णय गर्नुपर्ने । यहाँ त्यो विकल्प पनि थिएन ।

त्यसपछि भट्टराईले आफू निमित्त प्रधानसम्पादक भएको निर्णय गरे । र, त्यो निर्णयको पत्र लेख्न कर्मचारी प्रशासन विभाग प्रमुख तारा बस्याललाई अह्राए । उनले त्याे निर्देशन मानेनन्, बरु बेलैमा घरतिरको बाटो तताए । त्यसपछि भट्टराई निर्णयको पत्र लेखिदिन भन्दै कर्मचारी प्रशासन शाखाकी प्रमुख कविता गौतम भए ठाउँ पुगे । उनले पनि सही गर्न मानिनन् । ‘गैरकानुनी तबरले गरिएकाे निर्णयमा उहाँहरूले सही गर्न मान्नुभएन । भोलि अख्तियार पस्यो भने त फसिन्छ भनेर उहाँहरू डराउनुभयो’, गोरखापत्रका एक कर्मचारीले भने ।

अन्ततः निर्णयको पत्रमा आफैँ सही गरेर उनी दर्ता चलानी शाखातिर लागे । तर, यो शाखा बन्द भइसकेको थियो । अनि प्रेस युनियनमा आवद्ध एक पत्रकारलाई दराजको चाबी खोल्न लगाएर उनले दर्ता चलानी गराए । ‘कुनै निजी संस्थाको मालिकले आफ्नो छोरालाई कुनै पदमा नियुक्त गर्नुपर्दासमेत यसो गर्दैन होला’, गाेरखापत्रका एक पूर्वसल्लाहकार भन्छन्, ‘सरकारी संस्थान गोरखापत्रमा त गरियो ।’

सरकारी संस्थानमा एउटै व्यक्तिले दुईवटा पद, त्यसमा पनि एउटा पदमा आफैँले आफैँलाई नियुक्त गरेको घटना दुर्लभ मानिएको छ । गोरखापत्र संस्थान कर्मचारी सेवा सर्त नियमावली २०५२ विपरीत कुनै कर्मचारीले कुनै जिम्मेवारी स्वयम् वहन गरेको यो पहिलो घटना भएको गोरखापत्रका एक पूर्वसञ्चालक बताउँछन् । ‘कहीँ नभएको जात्रा हाँडीगाउँमा भनेको यही हो’, उनी भन्छन्, ‘सञ्चालक समितिले गर्नुपर्ने निर्णय महाप्रबन्धक आफैँले गरेछन् । योचाहिँ गोरखापत्रको लोकतन्त्र होला !’

‘निमित्त प्रधानसम्पादकमा भट्टराई’ शीर्षकमा आज गोरखापत्रको पहिलो पेजमा समाचार छ, ‘संस्थान व्यवस्थापनको बिहीबारको निर्णयअनुसार शिवकुमार भट्टराईले निमित्त प्रधानसम्पादकको जिम्मेवारी सम्हाल्नुभएको छ ।’

यसरी जिम्मेवारी तोक्नुपर्ने सञ्चालक समितिले हो । अब्बरै पर्दा मात्र आफूभन्दा एक तहमाथिको कर्मचारीले निमित्तको जिम्मेवारी तोक्न सक्ने व्यवस्था नियमावलीमा छ । तर, जसरी हुन्छ, आफैँ निमित्त प्रधानसम्पादक बन्ने भट्टराईको ढिपीका कारण सञ्चालक समिति बैठक त बस्न सकेन नै, अन्ततः उनले आफूलाई निमित्त प्रधानसम्पादक बनाउने निर्णय गरे । सँगै गोरखापत्रमा नियमावलीको धज्जी उडाउने अनि अपव्याख्या गर्ने एउटा विकृत सिलसिला पनि उनले सुरु गरेका छन् ।

गोरखापत्र संस्थान कर्मचारी सेवा सर्त नियमावली २०५२ मा भनिएको छ, ‘विभागीय प्रमुख वा कार्यालय प्रमुखको पद रिक्त भएमा वा त्यस्तो पदमा बहालवाला कर्मचारी १५ दिनभन्दा बढी समयसम्म बिदामा बसेमा वा कानुनी कारबाहीमा परेमा सो पदमा तत्काल काम चलाउनका लागि समानस्तर वा बढुवाका लागि सम्भाव्य भइसकेका एक तहमुनिको कर्मचारीमध्ये नोकरीको जेष्ठताका आधारमा त्यस्तो कर्मचारीलाई बढीमा एक वर्षका लागि कायममुकायम मुकरर गर्न सकिनेछ । उपविनियम (१) बमोजिम कामयमुकायम मुकरर गर्ने अधिकार संस्थान प्रमुखलाई हुनेछ । एक पदमा एक समयमा एकभन्दा बढी कर्मचारीलाई कायममुकायम मुकरर गर्नु हुँदैन ।’

खोटाङ लामीडाँडाका भट्टराई नेपाली कांग्रेस पृष्ठभूमिका व्यक्ति हुन् । सत्ताकाे आडमै उनले गैरकानुनी कदम चालेको धेरैकाे बुझाइ छ । ‘होइन भने गोरखापत्र संस्थान बोर्ड वा मन्त्रालयले के गर्दा रहेछन् हेरौँला’, एक पूर्वसल्लाहकारले भने ।

यसअघि मुना मासिकको सम्पादक रहेका भट्टराई १ फागुन २०४९ मा तह ७ को उपसम्पादकमा गोरखापत्र संस्थानको सेवामा प्रवेश गरेका थिए ।

गोरखापत्रको पहिलो अङ्क पल्टाउँदा…
भट्टराईलाई निमित्त प्रधानसम्पादक बनाउने निर्णय गोरखापत्र व्यवस्थापनको हिजो बिहीबारको बैठकले गरेको भनिएको छ । सोही निर्णयअनुसार दिइएको पत्रमा उल्लेख छ, ‘संस्थानको नेपाली प्रकाशन गोरखापत्र दैनिकमा रिक्त रहेको निमित्त प्रधानसम्पादक पदमा २०७८।०४।२२ गतेदेखि अर्को व्यवस्था नभएसम्मका लागि गोरखापत्र संस्थान कर्मचारी सेवा सर्त नियमावली २०५२ (बाह्रौँ संशोधनसहित) अनुसार सो प्रकाशनको नि. प्रधानसम्पादकको जिम्मेवारी स्वयम् वहन गर्न संस्थानका कानुनी सल्लाहकारको राय र संस्थान व्यवस्थापनको मिति २०७८।०४।२१ गतेको निर्णयअनुसार सो निर्णय गरिएको छ ।’

महाप्रबन्धक आफैँलाई निमित्त प्रधानसम्पादकको जिम्मेवारी सम्हाल्न कानुनी सल्लाहकारले राय दिएको ?

यसबारे गोरखापत्र संस्थानका कानुनी सल्लाहकार कृष्ण आङ्देम्बे भन्छन्, ‘आफैँले जिम्मेवारी सम्हाल्नू भन्ने रायचाहिँ दिएको छैन । योचाहिँ गलत लेखिएछ ।’

त्यसो भए सुझाव के दिनुभएको थियो त ?

‘दुई पदको जिम्मेवारी सम्हाल्न पाइन्छ । विगतको अभ्यास पनि छ, नियमावलीले पनि रोक्दैन भनेको चाहिँ हो । केही वर्षअघि सुशील कोइरालाले पनि महाप्रबन्धकसँगै निमित्त प्रधानसम्पादकको जिम्मेवारी सम्हाल्नुभएको थियो ।’

कानुनी सल्लाहकार आङ्देम्बेको तर्क पनि यहाँनेर अलि मिल्दैन । किनकि, तत्कालीन महाप्रबन्धक कोइरालालाई सञ्चालक समितिले जिम्मेवारी दिएको हो । उनले ‘स्वयम् जिम्मेवारी वहन’ गरेका होइनन् ।

गोरखापत्र संस्थान कर्मचारी सेवा सर्त नियमावली २०५२ विनियम ४५ मा रहेको कार्यालय प्रमुखले पाएको अधिकारअनुसार जिम्मेवारी तोक्न सक्ने तर्क आङ्देम्बेको छ । तर, स्वयम् जिम्मेवारी वहन गर्ने अधिकार कुनै नियम, विनियमले दिएको देखिँदैन ।

सरकारको भक्तिगान गाउन र सत्तासीन दलको चाकडीमै गोरखापत्र सीमित बनेको आक्षेप चौतर्फी छ । यहीबीचमा कर्मचारीले मनलाग्दी गर्ने, नियम, विनियमको धज्जी उडाउने, जनताको पैसाले चलेको संस्थामा आफैँ जिम्मेवारी तोक्नेजस्ता विकृतिसमेत गोरखापत्रमा मौलाउँदै गएको प्रति पूर्वसञ्चालकहरू चिन्ता जाहेर गर्छन् ।

चर्चामा

सम्बन्धित समाचार