बाजुरा– भारतको दिल्लीस्थित एक क्लिनिकबाट किनेर औषधि खाएलगत्तै दुई बाजुराका दुइ बालबालिकाको मृत्यु भएको छ । दिल्लीको शालिमारबागमा बस्दै आएका बाजुराको बुढीगंगा नगरपालिका-५ का मानबहादुर विककी ६ वर्षीया छोरी लक्ष्मी र तीन वर्षीय छोरा विशालको मृत्यु भएको हो ।
बान्ताको समस्या देखिएपछि सोमबार स्थानीय शुुभम डाइग्नोसिस सेन्टर नामक क्लिनिकमा गएर औषधी किनेर विकले छोराछोरीलाई खुवाएका थिए । क्लिनिकका डाक्टर बेदकुमार गर्गले दिएको उक्त औषधि खाएपछि १०/१० मिनेटको फरकमा दुुवै दिदी-भाइको मृत्यु भएको अखिल भारत नेपाली एकता मञ्चका केन्द्रीय सचिव आरबी खड्काले बताए ।
उनीहरुको मृत्युपछि डाक्टरका नाममा विकको परिवारले स्थानीय शालिमारबाग प्रहरी स्टेशनमा उजुरी दिंदै उनीमाथि कारबाहीको माग गरेको खड्काले बताए । अखिल भारत नेपाली एकता मञ्चको सहयोगमा परिवारका सदस्यले डाक्टरविरुद्ध उजुरी दिएका हुन् ।
अहिले ती डाक्टरलाई प्रहरीले निगरानीमा राखे पनि नियन्त्रणमा नलिएको पीडित पक्षको भनाइ छ । मृतक दुवै जनाको मंगलबार हिन्दुु संस्कारअनुसार अन्त्येष्टि गरिएको छ ।