शनिबार, बैशाख ८, २०८१
  • होमपेज
  • विचित्र संसार
  • बिहेको विचित्र परम्परा : तीन दिनसम्म बेहुला बेहुली ट्वाइलेट जान नपाउने

बिहेको विचित्र परम्परा : तीन दिनसम्म बेहुला बेहुली ट्वाइलेट जान नपाउने

  • आइतवार, असार २७, २०७८
बिहेको विचित्र परम्परा : तीन दिनसम्म बेहुला बेहुली ट्वाइलेट जान नपाउने

हरेक धर्म, समुदाय तथा मुलुकमा विवाहका आ आफ्नै रितिरिवाज तथा परम्पराहरु छन् । हाम्रो देशमा पनि विभिन्न समुदायमा अनेक खालका बिहे संस्कारहरु रहेको पाइन्छ । जसमा छोरीलाई चिउरीको बोट दाइजो दिनेदेखि, सम्धी लडाइँ गर्ने र छोरीलाई विषयको प्याला दिनेसम्मका ।

उता इण्डोनेसियामा पनि योभन्दा झनै अनौठो बिहे संस्कार छ । त्यहाँको एक समुदायमा बिहे गरेको तीन दिनसम्म नवविवाहित बेहुला बेहुलीलाई शौचालय जान प्रतिबन्ध लगाइन्छ ।

हो, इण्डोनेसियाको टिडंग समुदायमा यस्तो अनौठो परम्परा छ । यो परम्पराका विषयमा उक्त समुदायमा विभिन्न आस्था तथा मान्यताहरु छन् । त्यसैले उनीहरु यसलाई निकै महत्वपूर्ण मानेर पूर्णरुपमा पालना गर्दछन् ।

विवाह एक पवित्र समारोह हो र यदि नवविवाहित बेहुला बेहुलीहरु शौचालय गएमा त्यसले पवित्रता भंग गर्दछ र उनीहरु अशुद्ध बन्दछन् भन्ने मान्यताका साथ बिहेको तीन दिनसम्म बेहुला बेहुलीलाई ट्वाइलेट जान दिइँदैन । अटेर गरेर ट्वाइलेट गएमा त्यसलाई अशुभ मानिन्छ ।

यो परम्पराका पछाडिको अर्को कारण चाहिँ नवविवाहित जोडीलाई खराब नजरबाट बँचाउनु हो रे । उक्त समुदायमा के मान्यता छ भने मलमुत्र त्याग गर्ने ठाउँ अर्थात् ट्वाइलेट दुर्गन्धित हुने हुनाले त्यहाँ नकारात्मक शक्तिहरु हुन्छन् । यदि बिहे लगत्तै बेहुला बेहुली ट्वाइलेट गएमा उनीहरुमाथि नकारात्मकताको प्रभाव पर्न सक्दछ । त्यसले उनीहरुको दाम्पत्य जीवनमा समस्या ल्याउन सक्दछ र सम्बन्धमै फाटो आएर दाम्पत्य जीवन नै टुट्न सक्दछ भन्ने मान्यता सो समुदायमा रहेको छ ।

बिहेको तुरुन्तै पछि यदि बेहुला बेहुलीले शौचालयको प्रयोग गरेमा त्यो उनीहरुका लागि निकै हानिकारक हुनसक्ने मान्यता उनीहरुमा छ । त्यसो गर्दा दुईमध्ये कुनै एकजना ज्यानमै खतरा हुनसक्छ भनिन्छ ।

विवाहको तीन दिनसम्म ट्वाइलेट जान नपाउने परम्परा सजिलैसँग निभाउन सकुन् भन्नका लागि बेहुला बेहुलीलाई खाना तथा पानी कम दिइन्छ । उनीहरुको कडारुपमा निगरानी पनि गरिन्छ ।

नवविवाहित जोडीलाई तीन दिनसम्म घरभित्रै नजरबन्दमा राख्ने यो परम्परा पूर्ण पालना गर्दा बेहुला बेहुलीमा बलियो आत्मीय सम्बन्ध कायम हुने र स्वस्थ तथा खुसी बच्चा जन्मिने विश्वास रहिआएको छ ।

विज्ञहरुका अनुसार यति लामो समयसम्म दिसा पिसाब रोकिराख्नाले स्वास्थ्यमा नकारात्मक असर पार्दछ । तर यो समुदाय आफ्नो परम्पराका खातिर स्वास्थ्य समस्याहरु झेल्न तयार छ ।

एजेन्सी

चर्चामा

सम्बन्धित समाचार