शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • मनोरञ्जन
  • दुर्गाको ‘कुरा काटन’मा ८ जना गायिकाको स्वर, १६ जना मोडलको अभिनय

दुर्गाको ‘कुरा काटन’मा ८ जना गायिकाको स्वर, १६ जना मोडलको अभिनय

  • बिहिबार, असार २४, २०७८
दुर्गाको ‘कुरा काटन’मा ८ जना गायिकाको स्वर, १६ जना मोडलको अभिनय

दुर्गा पौडेल विगत दुई दशकदेखि नेपाली म्युजिक भिडियोमा छायाँकारका रुपमा सक्रिय छन् । उनै पौडेलले यसवर्ष आफ्नै लगानीमा तीज गीत बजारमा ल्याउँदैछन् । यो भिडियोमा उनले लोकदोहोरी क्षेत्रमा नाम कमाएका पुराना तथा नयाँ गायक–गायिका, मोडलहरुलाई समावेश गरेका छन् । गीत पौडेल आफैले लेखेका हुन् । गीत लेखेपछि गायक खुमन अधिकारीसँग दुर्गाले आफ्नो सोचको बिषयमा सल्लाह गरेका थिए ।

यसपछि, दुबैले एउटा सोच बनाए । गीतमा खुमनले संगीत भरे । पुरुष स्वर गायक खुमनले नै दिए भने शिला आले, देवी घर्ती, शान्तीश्री परियार, जुना श्रीस, पूर्णकला बिसी, सम्झना भण्डारी, सरिता कार्की, सुनिता बुढाक्षेत्री गरी ८ गायिकाले स्वर भरे । पौडेलका अनुसार आठ दिदीबहिनीको कथामा तीज गीत तयार गरिएको छ ।

गीतको अडियो तयार भएपछि पौडेलले निर्देशनका लागि शंकर बिसीसँग सल्लाह गरे । गीतको माग अनुसार भिडियोमा १६ जना मोडल चाहिने थियो । पौडेललाई लोकदोहोरी क्षेत्रका पुरानादेखि नयाँ कलाकारहरुलाई भिडियोमा समेट्ने सोच आयो । शंकर पनि त्यसरी काम गर्न चाहिरहेका थिए । पौडेल आफैले लोकदोहोरीका नयाँ पुराना मोडलहरुलाई सम्पर्क गरे । केही मोडलहरुलाई शंकरले कामका लागि प्रस्ताव राखे । महिला मोडलहरुमा सम्झना बुढाथोकी, रञ्जिता गुरुङ, अञ्जु निरौला, पूर्णिमा श्रेष्ठ, सारिका केसी, दीपासा बिसी, अञ्जली अधिकारी, करिष्मा ढकालले अभिनय गरेका छन् ।

पुरुष मोडलमा विनोद श्रेष्ठ, कृष्ण रसाईली, शिवन पोखरेल, महेन्द्र गौतम, विमल अधिकारी, ओबी रायमाझीसँगै शंकर स्वयंमले अभिनय गरेका छन् । चपलीको एक रिसोर्टमा भिडियोको छायाँकन भयो । भिडियोलाई नविन घर्ती मगरले सम्पादन गरेका छन् । यसरी छायाँकार पौडेलको ‘कुरा काटन’ बोलको तीज गीत तयार भएको छ । साउनको पहिलो साता गीत सार्वजनिक गर्ने पौडेलको तयारी छ ।

लोकदोहोरीका नयाँ पुराना कलाकारहरुलाई एउटै भिडियोमा समेट्न पाउँदा पौडेल खुसी छन् । उनले यस गीतबाट आफूले नाफा घाटा केही पनि नसोचेको बताए । ‘गीतमा जति लगानी भएपनि म खुशी छु । यसमा मैले नाफा घाटा केही पनि सोचेको छैन । यो गीत मेरो एउटा इतिहास हो’ उनले अनलाइनखबरसँग भने, ‘यो क्षेत्रमा लागेको यति धेरै वर्ष भयो । मैले यो क्षेत्रमा के गरेँ त ? भन्ने पनि सोच्नुपर्छ होला ।’ निर्देशक बिसी पनि लोकदोहोरीका नयाँ–पुराना कलाकारहरुसँग काम गर्न पाउँदा दंग छन् । उनले भने, –‘कलाकार व्यवस्थापन, डे«स व्यवस्थापन, छायाँकनका लागि गाह्रो भएको थियो । तर, मिहिनेत गरेका छौं । काम एकदमै राम्रो भएको छ ।’

चर्चामा

सम्बन्धित समाचार