
डडेल्धुरा — डडेल्धुरामा बुवाको शव जलाएर फर्किएका एक छोराको पनि त्यही दिन दाहसंस्कार भएको छ। जिल्लाको आलितालमा गाउँपालिका–५ भावरमा बस्दै आएका ७५ वर्षीय भक्तबहादुर रोकाको शव जलाएर फर्किएका उनका छाेरा शेरबहादुरको पनि मृत्यु भएको हो।
हेर्दा रोगी र कमजोर देखिने शेरबहादुर करिब ५० मिटर यता आउँदा अकस्मात आफैं ढलेको आफन्तहरुले बताएका छन्। समात्न जाँदा शेरबहादुरले आफन्तकै अँगालोमा प्राण छोडे।
रोका परिवारमा काजक्रिया गर्न आएका छोराको नै मृत्यु भएपछि अब कसरी परम्परा अनुसार काजक्रिया गर्ने भन्ने अन्याैलता भएको छ।
भारतको पिथौडागढमा मजदुरी काम गरेर दुई छोरा पढाइरहेका उनी पहिले देखिनै प्रेसर र जन्डिसका बिरामी रहेको परिवार स्रोत बताउँछ।
आर्थिक अवस्था कमजोर भएका उनले उपचार गर्न नपाएको परिवारले बताएका छन्। अब भारतको पिथौडागढमा कक्षा १० मा पढ्दै आएका दुईवटै छोराको कसले स्याहार गर्ने भन्दै परिवार चिन्तामा छ।
घटना सुनेपछि आलिताल गाउँपालिका– ५ का वडाध्यक्ष प्रकाशसिंह बोहराले आर्थिक सहयोगको लागि आफूले सक्दो पहल गर्ने बताएका छन्।
