बिहिबार, बैशाख १३, २०८१
  • होमपेज
  • ब्रेक्इङ न्युज
  • नछुट्टिने भनेर १२३ दिनसम्म सँगै हतकडी लगाएका जोडीले टिभीमै गरे डिभोर्स

नछुट्टिने भनेर १२३ दिनसम्म सँगै हतकडी लगाएका जोडीले टिभीमै गरे डिभोर्स

  • मङ्लबार, असार ८, २०७८
नछुट्टिने भनेर १२३ दिनसम्म सँगै हतकडी लगाएका जोडीले टिभीमै गरे डिभोर्स

आखिर सम्बन्ध बिग्रिसकेको छ र मन टुटिसकेको छ भने जति बल गर्दा पनि विवाह बन्धन टिक्न सक्दो रहेनछ । युक्रेनमा एक जोडीको हकमा यस्तै भएको छ ।

घरमा दिनदिनै हुने ठाकठुकलाई साम्य पारेर सम्बन्ध सुधार गर्नका लागि १२३ दिनसम्म आफूले आफैँलाई हतकडी लगाएका एक दम्पत्तिको अन्ततः डिभोर्स भएको छ ।

३३ वर्षका अलेक्जेन्डर कुडले र २८ वर्षकी भिक्टोरिया पुस्तोभिटोभाले गत भ्यालेन्टाइन डे बाट एक अर्कासँग छुटि्टनै नमिल्ने गरी दुईजनाको हातमा एउटा हतकडी लगाएका थिए । हरपल सँगै जोडिएर बस्दा एकले अर्कोलाई बुझ्ने, माया बढ्ने र झगडा कम भएर दाम्पत्य सम्बन्ध दीगो हुने उनीहरुको अपेक्षा थियो । तर सोचेजस्तो भएन । अन्ततः उनीहरुले युक्रेनको राष्ट्रिय टेलिभिजनमा प्रसारित एक कार्यक्रमबाटै १२३ दिनसम्म बाँधेको हतकडी फुकाउँदै आफूहरुको सम्बन्ध विच्छेदको घोषणा गरे ।

साथै सम्बन्ध सुधार्ने भनेर दुई जनालाई सँगै साङ्लोमा बाँध्ने उक्त प्रयोगले उल्टै असहज सत्यको उजागर गरेको उनीहरुको भनाइ छ ।

युक्रेनको पूर्वी सहर खार्किवमा बस्ने उनीहरुले आफूहरुको उतारचढावपूर्ण सम्बन्धलाई जोगाउन अन्तिम प्रयास स्वरुप हतकडीमा बाँधेका थिए तर हतकडीले पनि उनीहरुको ‘ब्रेकअप’ रोक्न सकेन ।

आफूहरुको १२३ दिनको हतकडी अनुभवलाई उनीहरुले व्यापकरुपमा सोसल मिडियामा सेयर गरिरहेका थिए । हतकडीमा बाँधिएका उनीहरुले यसबीचमा पसल जानेदेखि चुरोट पिउनेसम्म अनि बाथरुम जानेदेखि नुहाउने सम्मका सबै कामहरु सँगै गरे ।

अन्तिम प्रयास पनि असफल भएर राजीखुसीले डिभोर्स गर्ने निर्णयमा पुगेको उक्त जोडी डिभोर्सबाट खुसीचाहिँ देखिएन । आफूहरुको ‘ब्रेकअप’को कुरा गर्दा पुस्तोभितोभाले बरर्र आँसु चुहाइन् । उनले रोयटर्ससँग भन्छिन् – मलाई लाग्छ यो हाम्रो लागि राम्रो शिक्षा हो । साथै युक्रेन र संसारका जुनसुकै ठाउँमा रहेका दम्पत्तिहरुले पनि हामीले जे गर्‍यौं त्यो नगर्नका लागि शिक्षा हो ।

१२३ दिनसम्म पार्टनरसँगै हतकडीमा बाँधिएर रहनुपर्दा आफूले आफ्नो व्यक्तिगत जीवन सबैभन्दा धेरै मिस गरेको र त्यसरी सँगै बस्दासमेत आफूलाई आफ्नो पार्टनरले खासै ध्यान नदिएको उनको गुनासो छ ।

पेसाले ब्युटिसियन रहेकी २९ वर्षीया पुस्तोभिटोभा भन्छिन्- हामी दिनरात सँगै रह्यौँ । तर अलेक्जेन्डरले मलाई कुनै वास्ता नै गरेन । मैले ऊबाट ‘आई मिस यू’ भन्ने बोली सुन्न चाहन्थेँ । तर उसले कहिल्यै भनेन ।

अलेक्जेन्डरचाहिँ सम्बन्ध जोगाउनका लागि गरिएको हतकडी प्रयोगप्रति आफूलाई कुनै पश्चाताप नरहेको भन्दै उक्त प्रयोगले आफूहरु एउटै सोचाइ भएको मिल्दो जोडी नरहेको कुरा बुझ्न सहयोग पुगेको बताउँछन् ।

३३ वर्षका अलेक्जेन्डर भन्छन्- हामीहरु बराबर वेभलेन्थ भएका रहेनछौँ । हामीहरु नितान्त रुपमा फरक रहेछौँ ।

आफूहरु १२३ दिनसम्म सँगै बाँधिएर बसेको हतकडी अनलाइनमा लिलाम बिक्री गर्ने उनीहरुको योजना छ । त्यसबाट प्राप्त रकमलाई उनीहरुले च्यारिटीमा दान गर्न चाहन्छन् ।

युक्रेनको राष्ट्रिय टेलिभिजनमा उनीहरुको हतकडी खोलेर डिभोर्सको घोषणा भएको दृश्य प्रसारित भैरहँदा युक्रेनको राष्ट्रिय कीर्तिमान पुस्तिकाका अधिकारीहरु पनि उपस्थित थिए । उनीहरु सायद यसरी लामो समयसम्म आफूलाई हतकडीमा सँगै बाँध्ने विधामा विश्व कीर्तिमानी जोडी हुन सक्दछन् ।

एजेन्सी

चर्चामा

सम्बन्धित समाचार